तराईका संघर्षरत समूहहरु नयाँ संविधान निर्माणमा सकारात्मक - मन्त्री शर्मा
शान्ति तथा पुननिर्माणमन्त्री जनार्दन शर्मा प्रभाकरले तराईमा सशस्त्र संघर्षरत समूहहरु शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधान निर्माणका विषयमा सकारात्मक रहेको बताउनुभएको छ।
तराईमा संघर्षरत विभिन्न समूहसँग वार्ता गरी राजधानी फर्कनुर्भएका शान्तिमन्त्री प्रभाकरले पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनरत समूहहरुको धारणा सकारात्मक भएको बताउनुभएको हो।
तराईमा सशस्त्र संघर्षरत विभिन्न १५ वटा समूहसँग वार्ता भएको जानकारी दिँदै मन्त्री शर्माले समूहहरुले राखेका मागका बारेमा बुधबार बस्ने मन्त्रिपरिषदको बैठकलाई जानकारी गराउने बताउनुभयो।
संघर्षरत समूहहरुसँग छिट्टै औपचारिक वार्ता गर्न उनीहरुसँग निरन्तर सम्पर्कमा बस्ने उहाँको भनाई छ।
अनौपचारिक वार्ताका क्रममा सशस्त्र समूहहरुले प्रशासनको हस्तक्षेप बन्द गर्न, जेलमा रहेका आफ्ना बन्दी मुक्त र सुरक्षाको ग्यारेन्टी माग गरेको मन्त्री शर्माले बताउनुभयो।
गोइत समूह अझै पनि सरकारको सम्पर्कमा नआएको जानकारी दिँदै उहाँले राजनीतिक उद्धेश्य बोकेका सबैसँग सरकारले वार्ता गर्ने स्पष्ट पार्नुभयो।

गृह पृष्ठ
