प्रधानमन्त्रीको पहिलो राजनीतिक भ्रमण भारतकै
चीनमा भएको ओलम्पिक समापन समारोहमा भाग लिएर स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो राजनीतिक भ्रमण भारतकै हुने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण राजनीतिक भ्रमण नभएकाले भारत रिसाउनुपर्ने कुनै कारण नभएको बताएका छन् । मुलुक छाडेको पाँचौ दिनमा भदौ ११ गते स्वदेश फर्किएका प्रधानमन्त्रीले अन्तराष्ट्रिय बिमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै आफ्नो चीन भ्रमणप्रति भारतको असन्तोषबारे त्यहाँका प्रधानमन्त्री मनमोहन सिंहसँग कुरा गर्ने उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो राजनीतिक भ्रमण भारतकै हुने पनि जानकारी दिँदै भने, ‘१२ बुँदे समझदारीदेखि मुलुकको शान्तिप्रक्रियामा भारतले निर्वाह गरेको भूमिकाका कारण पनि म पहिलो राजनीतिक भ्रमण भारतकै गर्छु ।’
चीन भ्रमणमा आफ्नो चिनियाँ राष्ट्रपति, प्रधानमन्त्री र अन्य देशका राष्ट्र तथा सरकार प्रमुखहरुसँग भेट भएको जानकारी दिँदै प्रधानमन्त्रीले भ्रमणका क्रममा नेपालको कुरा सबैलाई राख्न पाइएको बताए । ‘नेपाल के चाहन्छ भन्ने कुरा मैले संसारलाई राख्न पाएँ’ प्रधानमन्त्रीले भने, ‘मेरो चीन भ्रमण उत्साहपूर्ण र सौहाद्रपूर्ण रह्यो ।’ चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई आफूले नेपाल भ्रमणका निम्तो दिएको जानकारी दिँदै प्रधानमन्त्रीले आफूलाई पनि उनीहरुले राजनीतिक भ्रमणको निम्तो दिएको संचारकर्मीहरुबीच उल्लेख गरे । प्रधानमन्त्रीले चीनले तिब्बतसम्म आएको रेलमार्गलाई सिमाना हुँदै काठमाडौसम्म ल्याइदिने वचन दिएको पनि बताए ।
सरकारले कहिलेसम्म पूर्णता पाउला भन्ने संचारकर्मीहरुको जिज्ञाशामा प्रधानमन्त्रीले आजैदेखि अन्य पार्टीहरु तथा बिशेषगरी एमालेसँग छलफल गर्ने जानकारी दिए । ‘वरियता बिबाद छिटै समाधान हुनेछ र सरकारले छिटै पूर्णता पाउनेछ’ प्रधानमन्त्रीले भने ।
हिमालखबर डट कम

गृह पृष्ठ
