कांग्रेसमा महाविधेशन मागको अर्थ
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति गिरिजाप्रसाद कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाको चाहनाबिपरित महाधिवेशनको माग रन्किएको छ ।
संविधानसभाको दोश्रो ठूलो दल नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठक पार्टीको भविष्यको बाटो निरुपण गर्न केन्द्रित छ । भदौ ९ गतेदेखि पार्टी केन्द्रीय कार्यलय सानेपामा सुरु भएको बैठकको पहिलो दिनमै केन्द्रीय समिति सदस्यहरुले पार्टीलाई नयाँ दिशा दिन महाधिवेशन अनिवार्य रहेको माग राखिसकेका छन् । बिभिन्न नेताहरुको पक्ष/बिपक्षमा रहेका केन्द्रीय सदस्यहरु महाधिवेशनकै पक्षमा देखिनुले बैठक महाधिवेशनको मिति तोक्न वाध्य हुने जानकारहरु बताउछन् ।
तर, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधर नेताहरु भने तत्काल महाविधेशनभन्दा केन्द्रीय कार्यसमितिलाई बिस्तार गर्नुपर्ने पक्षमा रहेको श्रोतको भनाइ छ । नेपाली कांग्रेस र प्रजातान्त्रिक कांग्रेसबीच एकता हुँदा भएको दुवै पक्षले १५/१५ जना सदस्य थप्ने सहमतिलाई देउवा पक्षले कार्यसमिति बिस्तारको माग गर्ने आधार बनाएको छ । उता, पार्टीका कार्यबाहक सभापति सुशिल कोइराला भने अहिले नै ८७ जनाको केन्द्रीय कार्यसमिति रहेकाले थप्नु उपयुक्त नहुने अडानमा छन् । पार्टीमा प्रभावशाली रहेका दुई पक्षबीच कार्यसमिति थप्ने र नथप्ने बिबाद चलिरहेको बेला महाधिवेशनको माग प्रभावशाली बन्नु र अधिकांश युवा नेता तथा कार्यकर्तालाई त्यही मागले आकर्षित गर्नु भने चाखलाग्दो मानिएको छ ।
हुन त, दोश्रो जनआन्दोलनदेखि नै पार्टी तथा मुलुकमा छुट्टै परिचय बनाएका नरहरि आचार्यले अहिले पार्टीलाई अघि बढाउन महाधिवेशन अनिवार्य भएको तर्क राखिरहेका छन् । यसैगरी, पार्टीका बौद्धिक नेता प्रदीप गिरी पनि महाधिवेशनकै पक्षमा देखिएका छन् । संयोगभन्दा बढी नहुनसक्छ, गणतन्त्र बिरोधीको परिचय बनाएका पूर्व गृहमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य गोबिन्दराज जोशीसमेत अहिले महाविधेशनकै पक्षमा खुलेका छन् । जोशीलाई महामन्त्री केबी गुरुङ, चिरञ्जिवी वाग्ले, बिनयध्वज चन्दलगायत नेताहरुको समर्थन रहेको श्रोत बताउछ ।
निवर्तमान प्रधानमन्त्री तथा पार्टी सभापति गिरिजाप्रसाद कोइराला भने पार्टीमा आफ्नो प्रभाव कमजोर बन्दै गएकोमा चिन्तित भएका छन् । प्रधानमन्त्रीबाट हटेपछि कोइरालालाई पार्टीका नेता तथा कार्यकर्ताहरुले आफूलाई टेर्न छाडेको महशुस भएको श्रोतको दावी छ । कोशी तटवन्धन फुटेर आएको बाढी निरिक्षण गर्न पार्टीले छोरी सुजाता कोइरालाको नेतृत्वमा टोली पठाओस् भन्ने आफ्नो आग्रहलाई पाटीका पदाधिकारीहरुले अस्विकार गरेपछि उनको चिन्ता अरु बढेको छ । अहिले कोइराला आफ्ना दाजु बिपीलाई पनि मृत्युअघि पार्टीका नेता/कार्यकर्ताले टेर्न छाडेको प्रसङ्गसँग आफ्नो अवस्था दाँजिरहेको श्रोत बताउछ ।
मुलुकको सबैभन्दा पुरानो पार्टी संविधानसभाको चुनावबाट पहिलो पटक निकै कमजोर बनेको अवस्थामा कांग्रेसका नेता तथा कार्यकर्ताहरु पहिले जस्तै गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको पक्ष/बिपक्षमा बाढिने मनस्थितिमा नरहेको संकेत भदौ ९ गतेदेखि सुरु भएको केन्द्रीय समितिको बैठकले गरेको छ । बैठकमा देउवा निकट मानिएका एनपी सावद देउवाभन्दा फरकरुपमा महाधिवेशनको पक्षमा देखिए । यद्यपि, जारी केन्द्रीय समितिको बैठक सकिएपछि मात्र थाहा हुनेछ, नेपाली कांग्रेस कोइराला र देउवाकै बाटोबाट अघि बढ्छ वा नयाँ नेतृत्व र नयाँ बाटोबाट ।
हिमालखबर डट कम

गृह पृष्ठ
