प्रधानमन्त्री चयनमा पछारियो भारत
१-भदौ-२०६५,आइतवार
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीमा माओवादी अध्यक्ष प्रचण्ड भारी बहुमतका साथ निर्वाचित हुनुभएको छ। उहाँलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्याउन संविधानसभामा तेस्रो दल एमाले प्रस्तावक र चौथो दल मधेसी जनअधिकार फोरम समर्थक बसेको छ। प्रचण्डलाई प्रधानमन्त्री बनाउने सवालमा एमालेलाई समाप्त नपारी अघि बढ्न सकिँदैन भन्ने निष्कर्ष निकाली भित्री अभियान सञ्चालन गरिरहेको माओवादी र माओवादीलाई समाप्त पार्न स्थापित भएको मधेसी जनअधिकार फोरमबीच सहकार्य सुरु भएको छ। एकअर्कालाई समाप्त पार्न उद्यत देखिएका यी तीन दलको गठबन्धनको सहकार्यलाई राजतन्त्रको कट्टर समर्थक रहेको राप्रपा नेपालसहित संविधानसभामा रहेका २५ दलमध्ये २१ दलले समर्थन गरेका छन्। प्रधानमन्त्रीको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्ने हिम्मत नभएका तीन दल भने तटस्थ बसेका छन्। संविधनासभामा व्यक्त गरिएको भनाइले उनीहरु केवल बार्गेनिङ गर्दै आफ्नो स्वार्थ पूरा गराउनका लागि मात्र तटस्थ बसेका हुन् भन्ने सहजै अनुमान गर्न सकिन्छ।
एकअर्कालाई समाप्त पार्नेहरुबीच गठबन्धन हुनु राम्रो पक्ष हो। त्यसभन्दा पनि सुन्दर पक्ष भनेको यसपटक भारतको हस्तक्षेपलाई तीनदलीय गठबन्धनले अस्वीकार गरेका छन्। अर्थात् प्रधानमन्त्री बनाउने खेलमा भारत नराम्रोसँग पछारिएको छ। जनादेशविपरीत गिरिजाप्रसादलाई नै पुनः प्रधानमन्त्री बनाई माओवादीलाई अराजकतामा उतार्ने र आफ्नो स्वार्थ अनुकूल नेपालको हितविपरीत निर्णय गराउने भारतको षड्यन्त्र यस निर्वाचनबाट चकनाचुर भएको छ। प्रधानमन्त्री पदमा रहेकै बेला मध्यरातमा दूतावास बोलाएर षड्यन्त्रको जालो बुन्ने भारतीय दलालहरुलाई यस घटनाले राम्रै सबक सिकाएको छ। एमाले नेता माधव नेपाललाई राष्ट्रपति हुन नदिन माओवादीलाई रातारात सहमति तोड्न बाध्य गराएको भारतले प्रचण्डलाई प्रधानमन्त्री नबनाउने सवालमा भने एमालेभित्र कुनै खेल खेल्न सकेन। अर्थात् भारतको दबाबलाई अस्वीकार गर्दै एमालेले नेपाली जनताको पक्षमा उभिने फैसला गर्यो। भारतको दबाबलाई स्वीकार गर्नुभन्दा एमाले नेतृत्वले राष्ट्रिय सहमतिबिनाको सरकारमा नजाने केन्द्रीय कमिटिको निर्णयविपरीत भए पनि बहुमतीय प्रणाली अबलम्बन गरी प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने निर्णय गर्यो।
मधेस आन्दोलनबाट जन्मिएको फोरमले पनि पहिलोपटक मधेसी जनताको भावनालाई सम्मान गर्दै नेपाली जनताको पक्षमा निर्णय लियो। भारतले चुनावको एक घण्टा अघिसम्म पनि आफ्नो प्यादा बनेको कांग्रेसलाई नै समर्थन गर्न फोरमलाई दबाब दिइरहेको थियो। अन्तिम समयसम्म पनि षड्यन्त्र गर्दै फोरमभित्रै विवाद सिर्जना गरायो, निर्वाचनप्रक्रिया सुरु भएको आधा घण्टासम्म संविधानसभामा अनुपस्थित रहनुपर्ने अवस्था सिर्जना गर्यो। तर, भारत कामयाबी हुन सकेन। फोरम पनि भारतीय दबाबलाई चिर्दै जनादेशको सम्मान गर्ने निर्णयमा अडिग रह्यो। संविधानसभामा पहिलोपटक फोरमका अध्यक्ष उपेन्द्र यादवले नेपाली भाषामा बोल्नुभयो। प्रधानमन्त्रीको निर्वाचनका क्रममा विगतको गल्ती सच्याउँदै हामी नेपाली हौं, नेपालीपछि मात्र विभिन्न जाति, समुदाय र क्षेत्रका व्यक्ति हौं भन्ने नेपाली जनताको भावनालाई मुखरित गर्नुभयो। यादवको यो कदम भारतका लागि अर्काे पराजय हो। भारत विभिन्न बहानामा नेपाली भाषालाई विस्थापित गराई आफ्नो राष्ट्रिय भाषा हिन्दीलाई स्थापित गराउन चाहन्छ। यादवको यस अभियानले उसको सपनामा आँच आएकै हुनुपर्छ।
नेपाली जनताको पक्षमा सुरु भएको यस अभियानलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्नुभएका प्रचण्डले कत्ति दिन थेग्न सक्नुहुन्छ? त्यो आगामी दिनमा उहाँको व्यवहार र कार्यशैलीबाट थाहा हुनेछ। राष्ट्रपति निर्वाचनमा भएको कांग्रेस, एमाले र फोरमको समीकरण परिवर्तन भई बनेको माओवादी, एमाले र फोरम गठबन्धनले प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्याएको छ। जंगलमा राज गरेका प्रचण्डको सत्तागमनसँगै विगत १४ बर्षदेखि भारतलाई रिझाएर मुलुकमा एकछत्र राज गरेको संविधानसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेस सत्ताबाट बाहिरिएको छ। नेपालको राजनीतिक इतिहासमा संयोग नै भन्नुपर्छ, जनयुद्ध सुरु गर्नुअघि माओवादीले तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस नेता शेरबहादुर देउवालाई ४० सूत्रीय ज्ञापनपत्र बुझाएको थियो। २०५८ सालमा पहिलोपटक वार्ता पनि देउवा सरकारसँगै गर्यो, माओवादीले पहिलोपटक संकटकालको सामना पनि देउवाकै पालामा गर्नुपर्यो। टाउकाको मूल्य पनि देउवा सरकारले नै तोक्यो, अहिले प्रधानमन्त्रीको निर्वाचनमा पनि माओवादी अध्यक्ष प्रचण्डले उनै देउवासँग प्रतिस्पर्धा गर्नुपरेको छ। तर, यसपटक पनि माओवादीसँग देउवा पराजित हुनपरेको छ। विगतमा पनि उनी पटकपटक हारेका थिए, माओवादी चातुर्यता सामु। प्रचण्डको सत्तागमनसँगै कोइरालाको सत्ताबाट बहिर्गमन अर्काे संयोग परेको छ। २०५८ साल असार २६ गते रोल्पा र दाङको सिमानास्थित इलाका प्रहरी कार्यालयबाट ७१ जना प्रहरीलाई अपहरण गरेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला राजीनामा दिन बाध्य हुनुपरेको थियो। अहिले पनि प्रचण्ड प्रधानमन्त्री बनेर कोइराला र कांग्रेसलाई सत्ताबाट विस्थापित गरेका छन्।
अर्काे संयोग, राजतन्त्रको समाप्तिसँगै कांग्रेस पनि सत्ताबाट बाहिरिन बाध्य भएको छ। माओवादीले राजतन्त्रसँगै कांग्रेसको सत्ता यात्रामा पूर्णविराम लगाएको छ। यस कार्यमा एमाले र फोरम माओवादीको साथमा देखिएका छन्। आगामी दिनमा यी तीन दलको यात्रा कस्तो हुने हो? प्रचण्ड सरकारको कार्यशैलीले नै निर्धारण गर्नेछ। कोइरालाको जस्तै कार्यशैली रह्यो भने प्रचण्ड सरकार तीन महिना पनि टिक्न सक्दैन भन्ने आशंकाहरु उठ्न थालिसकेका छन्।
नेपाली कांग्रेस २०४६ सालको राजनीतिक परिवर्तनपछि सदैव सत्तामा रह्यो। दोस्रो जनआन्दोलनपछि पनि कांग्रेसले नै सत्ताको नेतृत्व गर्यो। संविधानसभामा जनताले कांग्रेसलाई सत्तामा पुर्याउन अस्वीकार गरे तर पनि सत्ता छाड्न चाहेन। निर्वाचन भएको चार महिनासम्म पनि कांग्रेसले सहमति चाहेको देखिएन। सहमति होस् पनि कसरी? कांग्रेसलाई प्रधानमन्त्रीसहित रक्षा, अर्थ र गृह मन्त्रालय दिएमात्र सहमति सम्भव थियो भन्ने यथार्थ पनि बाहिर आइसकेको छ।
रक्षा र गृह मन्त्रालय लिएर सधैंभरि अराजकता मच्चाउन पल्केका कांग्रेसका नेताहरु तीनै दुई मन्त्रालयको कारण सत्ताबाहिर पुगेको यथार्थ सबैका सामु छर्लङ्ग भइसकेको छ। कांग्रेसका लागि मुलुक र जनता होइन, आफूले चाहेको सबै पद लिन पाउनु नै सहमति हो भन्ने कटु सत्य विगतमा स्थापित भइसकेको छ। अहिले पनि आफूले मागेजति सबै चाहिने अडानले नै कांग्रेस सत्ताबाट पाखा लाग्नुपरेको हो।
अन्त्यमा, प्रधानमन्त्रीमा निर्वाचित भएपछि माओवादी अध्यक्ष प्रचण्ड अब माओवादीका मात्र नेता रहेनन्। नेपाली जनताका अभिभावक बनेका छन्। पदअनुसारको दायित्व निर्वाह गर्दै नयाँ नेपाल निर्माणको अभियानमा उहाँलाई सफलता मिलोस्। भारतको दबाबसामु झुक्ने काम नहोस्, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री प्रचण्डलाई यही शुभकामना।

गृह पृष्ठ
