दुई वर्षमै संविधान बन्ने दावी
संविधानसभाको चुनाव सम्पन्न भएको तीन महिना बित्नलाग्दासमेत संविधानसभा अध्यक्ष चयन हुननसकेको बेला माओवादीका एक वरिष्ठ नेताले नयाँ संविधान तोकिएको समय दुई वर्षमै बन्ने दावी गरेका छन् ।
माओवादीका सचिवालय सदस्य सिपी गजुरेलले जतिसुकै समस्या आए पनि नयाँ संविधान तोकिएको समय दुई वर्षमै बन्ने दावी गरेका छन् । असार २७ गते राजधानीमा आयोजित ‘नयाँ संविधान कस्तो बनाउने’ बिषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै गजुरेलले आफ्नो तथा अन्य प्रमुख दलहरुले पर्याप्त आन्तरिक छलफल गरेर निश्कर्ष मात्र संविधानसभामा लाने भएकाले समयमै संविधान निर्माण गर्न सम्भव हुने उल्लेख गरे । ‘६०१ जना सबैले त्यहाँ बोल्ने होइनन्, आयोगहरुले सबै तयारी गरिसक्छन्, संविधानसभामा प्रस्तुत हुने मात्र हो’ गजुरेलले भने । कार्यक्रममा गजुरेलले एक मधेस प्रदेश बनाए त्यसले अन्तमा मुलुकको बिखण्डन नै निम्त्याउने पनि बताए ।
कार्यक्रमका अर्का वक्ता नेपाली कांग्रेसका सहमहामन्त्री अर्जुननरसिंह केसीले संविधानसभाको आकार आवश्यक्ताभन्दा ठूलो भए पनि सबै क्षेत्र र जातिलाई समेटेकाले राम्रो संविधान बन्ने बिश्वास ब्यक्त गरे । मुलुकका लागि समस्या बन्दै गएको जातीयवाद माओवादीले सुरु गरेको बताउदै केसीले आफ्नो पार्टीले प्रदेशहरुको आत्मानिर्णयको अधिकार नस्विकार्ने स्पष्ट पारे ।
एमाले केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले मुलुक तथा तराईमा बहुप्रदेशहरु हुनुपर्नेमा जोड दिदै कति प्रदेश बनाउनेबारे आफ्नो पार्टीले प्रस्ताव तयार पारिसकेको जानकारी दिए । आफ्नो पार्टी तथा अन्य पार्टीले तयार पारेका प्रस्तावहरु एकै ठाउँमा ल्याएर छलफल गरे संघीयताबारे निर्णय गर्न सजिलो हुने पनि उनको भनाइ थियो ।
कार्यक्रमका अर्का वक्ता मधेसी जनअधिकार फोरमका कोशाध्यक्ष श्यमानन्द सुमनले एक मधेस प्रदेश भए तराईका सशस्त्र समूहरु पनि राजनीतिक मूलधारमा आउने दावी गरे । भारतका उत्तर प्रदेश र बिहारमा तराईलाई गाभ्ने पक्षमा आफूहरु नरहेको स्पष्ट पार्दै सुमनले तराईमा बिकाश गर्न सकिने बिश्वासमा आफूहरुले स्वायत्त प्रदेशको माग गरेको उल्लेख गरे । कार्यक्रममा नेपाल वार एसोसीयशनका अध्यक्ष बिश्वकान्त मैनाली र अन्य कानूनविद तथा संविधानविदहरुले पनि बोलेका थिए ।
हिमालखबर डट कम

गृह पृष्ठ
