जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

June 15, 2008

ज्ञानेन्द्रको बुद्धिमत्तापूर्ण निर्णय

राजतन्त्रको अन्त्य गर्ने संविधानसभाको निर्णयलाई कार्यान्वयन गर्न सहयोगीको भूमिका सम्पन्न गरेको उद्घोष गर्दै पूर्वराजा ज्ञानेन्द्र नारायणहिटीबाट सहजरूपमा बाहिरिएका छन्। गत जेठ १५ गतेको संविधानसभा बैठकले परम्परागतरूपमा रहेको राजतन्त्रको अन्त्यसहित उनलाई नागरिक भएको घोषणा गर्दै पन्ध्र दिनभित्र नारायणहिटी दरबार छाड्न निर्देशन दिएको थियो। नारायणहिटीबाट उनको वहिर्गमनसँगै गणतन्त्र कार्यान्वयनको घोषणाले मूर्तरूप लिएको छ।
पूर्वराजा ज्ञानेन्द्र हठी स्वभावका हुन्। उनको हठ र नेपालबाट विदेश पलायन भएका तुल्सी गिरीको सल्लाह नै गणतन्त्रको लागि वीजारोपण थियो। सत्तामा हालिमुहाली गरेको नेपाली कांग्रेसदेखि युद्धमा होमिएको माओवादीसम्म, (जो एकले अर्कालाई बन्दुकबाट समाप्त पार्नुपर्छ भन्ने अभियानमा थिए) लाई एक ठाउँमा ल्याइदियो। त्यसैले नेपाली जनताले चाहेको गणतन्त्रका लागि ज्ञानेन्द्र प्रमुख पात्र हुन्। सात वर्ष राष्ट्राध्यक्षको रूपमा रहँदा गरेको गल्तीप्रति माफी माग्दै संविधानसभाले दिएको समयभित्रै नारायणहिटीबाट बाहिर जाने र गणतन्त्रको घोषणालाई सहयोगीको रूपमा भूमिका सम्पन्न गर्ने निर्णय भने उनको जीवनको सबैभन्दा बुद्धिमत्तापूर्ण र जनअपेक्षाअनुरूप रह्यो। यसलाई सबैले प्रशंसा गर्नुपर्छ। उनले हठ कायम राखेको भए, मुलुकमा भीषण रक्तपात पनि हुन सक्थ्यो, ठूलो सङ्ख्यामा ज्यान जान सक्थ्यो, स्वयं उनी पनि त्यसको शिकार हुनसक्थे। विगतका ती सबै जनविरोधी कामप्रति माफी माग्दै हठ त्यागेर बुद्धिमत्तापूर्ण निर्णय गर्दा उनले सम्मानित नागरिकको रूपमा सहज भूमिका पाएका छन्। नेपालबाट ‘राजा’ नामधारी सबैलाई लखेटनुपर्छ भन्ने निष्कर्षमा पुगेका जनता उनलाई नागरिकको रूपमा रहन दिनुपर्छ भन्ने अवस्थामा पुगेका छन्। उनको यो बुद्धिमत्तापूर्ण निर्णय आगामी दिनमा पनि रहिरहोस्। फेरि सत्तामा आउने लालच जगाउने वा आफूलाई हटाएको तुस पालेर अराजकता मच्चाउनेतर्फ अलिकति पनि सोच गयो भने राजसंस्थाजस्तै शाह परिवारको पनि विनाश हुनसक्छ। कर्मअनुरूपको फल सबैले पाउँछन् भन्ने अन्तिम सत्यलाई सदैव मनन गर्दै नेपालको प्रगतिका लागि आफ्नो भूमिका केन्द्रित गरे भने सबैको कल्याण हुन्छ।
जनताको निर्णयलाई स्वीकार गरी उनले आफूले आफैलाई ‘राजा’ ठान्ने दम्भी र हठी नेताहरूलाई पनि राम्रो शवक सिकाएका छन्। सहमतिबाट समस्याको निकास निकाल्न सकिन्छ भन्ने मान्यतालाई पनि अगाडि सारेका छन्। हिजो राजाको नाममा जनतालाई तर्साउने र धम्क्याउने काम हुनेगरेको थियो, अब अमुक पार्टीको अमुक नेताको नाममा फेरि जनताले विगतको जस्तो सास्ती खेप्नु नपरोस् भन्ने सन्देश पनि उनको अभिव्यक्तिमा रहेको देखिन्छ। दरबार छाड्नुअघि पत्रकार सम्मेलन गरी उनले नेपाली जनतासामु नागरिकको रूपमा रहन पाउने अधिकार प्राप्त होस् भन्ने याचना गरेका छन्। अव्यवस्थित र एकतर्फी नै किन नहोस्, उनी पहिलोपटक प्रेसमार्फत जनतासामु गएका छन्।
पत्रकार सम्मेलनमा ज्ञानेन्द्रले नेपालबाहिर नजाने प्रष्ट पार्दै दरबार हत्याकाण्डमा आफ्नो संलग्नता छैन भन्ने प्रष्टोक्ति दिए। गैरकानुनी रूपमा विदेशमा सम्पत्ति राखेको छैन भन्ने घोषणा पनि गरे साथसाथै जुनसुकै अवस्थामा र हैसियतमा भए पनि नेपाललाई स्वतन्त्र राष्ट्रको रूपमा स्थापित गराउन भूमिका खेल्ने उद्घोष गर्न पनि चुकेनन्। उनले राष्ट्रियताप्रतिको दलहरूको प्रतिबद्धतामाथि पनि घुमाउरो ढंगले प्रश्न उठाएका छन्। एउटा नागरिकको हैसियतले राष्ट्रप्रति देखाएको स्नेहलाई सकारात्मक रूपमा लिनुपर्छ।
पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटीमा आयोजना गरेको पत्रकार सम्मेलनपछि देखिएका दृष्यहरूले सिंगो सञ्चार क्षेत्रमाथि प्रश्न खडा गरिदिएको छ। सडकमा समेत अराजक को हो? भन्ने प्रश्न आयो भने पत्रकार भन्नुपर्छ भन्नेजस्ता अत्यन्त गम्भीर र संघीन आरोप लाग्न थालेको छ। पत्रकारका आवरणमा पुगेका गैरपत्रकार र कतिपय अराजकताका कारण नेपाली सञ्चार क्षेत्रले यत्ति गम्भीर आक्षेपको सामना गर्नुपरेको हो। नेपाली सञ्चार क्षेत्र अहिले पनि सुरक्षित छैन। राजनीतिक दलदेखि विभिन्न बहानामा आन्दोलनरत समूहको धम्कीको सामना गरिरहेको छ। पेशागत र भौतिक सुरक्षाको लागि एकजुट हुनुपर्ने र आमनागरिकको समर्थन जुटाउनुपर्ने अवस्था छ। ठीक यही बेला हामीमाथि यत्ति गम्भीर आक्षेप लागेको छ। यसले हाम्रो आन्दोलनमा बाहिरको समर्थन लिन त परै जाओस्, सञ्चार क्षेत्रभित्रै फुट आउने गम्भीर खतरा उत्पन्न गराएको छ। यस यथार्थतर्फ पत्रकार महासंघ, प्रेस चौतारी र प्रेस युनियनले गम्भीर समीक्षा गर्दै आवश्यक कदम चाल्न जरुरी छ। पत्रकारितालाई मर्यादित र व्यवस्थित पेशाको रूपमा स्थापन गर्न आवश्यक परे नारायणहिटी घटनाको छानबिन गर्नसमेत तयार हुनुपर्छ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2008/06/15/p765/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons