जनताको छोरो राष्ट्रप्रमुख, राजतन्त्रलाई बिदाइ
ऐतिहासिक संविधानसभाको पहिलो बैठक अहिले बसिरहेको छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सगरमाथा हलमा केहीबेरमा सुरु हुने बैठकले नेपाललाई गणतन्त्र घोषणा गर्ने छ। संविधानको संरक्षकको रुपमा रहने राष्ट्रपतिको चयन गर्ने सहमति दलहरूबीच भएको छ। राष्ट्रपतिको अधिकारसम्बन्धी सहमति तत्काल भइनसके पनि राष्ट्रपति संवैधानिक रहने र सेनाको सर्वोच्च कमान्डर रहने सहमति भने बनिसकेको छ। मन्त्रिपरिषद्को सिफारिसमा सङ्कटकाल लागू गर्ने र फिर्ता गर्नेसम्बन्धी अधिकार राष्ट्रपतिमा रहने व्यवस्था संविधानसभाको बैठकले गर्ने छ।
त्यसै गरी संविधानमा उपराष्ट्रपतिको व्यवस्था गर्ने पनि दलहरूबीच सहमति बनेको छ। गणतन्त्र घोषणा गर्ने दिन आज बिहानैदेखि प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सात दलको छलफलले उक्त निर्णय गरेको हो।
बिहान ११ बजे संविधानसभाको पहिलो बैठक बस्ने भनिए तापनि दलहरुबीच राष्ट्रपतिसम्बन्धी छलफल टुंगोमा पुग्न नसकेकाले अपराह्न ३ बजेका लागि समय सारिएको थियो। तर ३ बजे पनि दलहरुबीच सहमति नबनेपछि बैठकको समय साँझ ६ बजेका लागि तय गरिएको थियो।
साँझ ६ बजेअघि बालुवाटारको बैठक सकिए पनि संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आइपुग्न समय लाग्ने भएकाले ७ बजेसम्म बैठक सुरु हुन सकेको छैन। तर केही समयमा नै बैठक बस्ने निश्चित भइसकेको छ।
यद्यपि औपचारिक रूपमा गणतन्त्र कार्यान्वयन हुन बाँकी भए पनि दलहरूले गरेको सहमतिले गणतन्त्र कार्यान्वयन हुने स्पष्ट पारेको छ।
दलहरूबीच सहमति भएअनुसार राजा ज्ञानेन्द्रलाई राजदरबार छाड्न १५ दिनको समय दिइने छ। उनले पाइआएका सम्पूर्ण सुविधाहरू २०६५ साल जेठ १५ गतेदेखि लागू हुने गरी कटाइने छ र उनलाई सम्मानित नागरिकका रूपमा जीवन बिताउने अवसर दिइने छ। अहिले ज्ञानेन्द्र शाहका परिवार बस्दै आएको दरबारलाई सङ्ग्रहालय बनाइने छ।
बहुप्रतिष्ठित र बहुप्रतीक्षित मानिएको संविधानसभाको पहिलो बैठक बस्न ढिलाइ भइरहँदा नागरिकले दलहरुलाई खबरदारी गरेका थिए। सम्मेलनकेन्द्रबाहिर जम्मा भएका नागरिकहरू उत्तेजित भई दलहरूलाई खबरदारी गर्न थालेपछि प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। केही समयको झडपपछि स्थिति सामान्य बनेको थियो।
यता राजा हटाएर गणतन्त्र घोषणा गर्ने समय नजिकिँदै गर्दा बुधबार १५ गते वैशाखको अपराह्न केही राजावादीहरू पनि राजधानीमा जुर्मुराएका थिए। राजाको स्थान सुरक्षित हुनुपर्ने माग गर्दै नयाँसडकमा जम्मा भएका उनीहरूले दलहरूलाई चुनौतीसमेत दिएका थिए।
साभार : साप्ताहिक अनलाइन

गृह पृष्ठ
