जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

May 19, 2008

एमाले नेतृत्वसामु देखिएका चुनौतीहरू

लामो बहसपछि एमाले केन्द्रीय कमिटीले पाका तथा अनुभवी नेता झलनाथ खनाललाई महासचिवमा पदस्थापन गरेको छ। जननेता मदन भण्डारीको रहस्यमय हत्यापछि निरन्तर १५ वर्षसम्म पार्टीको नेतृत्व सम्हाल्दै आउनुभएका निवर्तमान महासचिव माधवकुमार नेपालको प्रस्तावअनुरूप खनाललाई केन्द्रीय कमिटीले सर्वसम्मतरूपमा महासचिवको जिम्मेवारी सुम्पिएको छ। कम्युनिस्ट आन्दोलनलाई जनताको बीचमा स्थापना गर्न जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादी सिद्धान्तको कट्टर विरोधी हो भन्ने आरोप खेप्दै आउनुभएका खनाललाई सर्वसम्मतिबाट प्रमुख नेताको रूपमा पदस्थापन गरी एमालेले जनअनुमोदित र परिवर्तनअनुरूपको नेतृत्वचयन गरिएको प्रष्ट सन्देश दिएको छ भने एमालेमा मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादविरोधी नेता कोही छैन भन्ने प्रमाणित पनि गरेको छ। पार्टीभित्र फैलँदै गएको निराशा र आन्तरिक गुटबन्दीलाई निरुत्साहन गर्न केन्द्रीय कमिटीको यस निर्णयले निक्कै सहयोग पुग्ने विश्वास गर्न सकिन्छ।
यो निर्णयसँगै एमालेमा लामो समयदेखि उठाइँदै आएको माधव नेपालको विकल्प को? भन्ने प्रश्नको सहजै हल भएको छ भने जनताको बहुदलीय जनवादको अनुशरण गर्दै पार्टीको नेतृत्व गर्न सक्ने एकसेएक नेता छन्् भन्ने प्रमाणित मात्र गरेको छैन, एमालेको नेतृत्व तहमा रहेर पनि जबजविरोधी हो भन्ने पीडाबाट खनाल स्वयंले मुक्ति पाउनुभएको छ।
नयाँ महासचिवको चयनसँगै समयको मागअनुरूप पार्टी पुनर्संरचनाको ढोका पनि खुलेको छ। नयाँ नेतृत्वलाई सहयोग गर्नु र पार्टीलाई समयअनुरूप अघि बढाउनु अब नेतादेखि कार्यकर्तासम्म सबैको साझा दायित्व बनेको छ। पार्टीलाई पुनर्संरचना गर्न लागेका बेला सबैले यथार्थ भन्ने हिम्मत गर्नुपर्छ। एमालेमा चरम गुटबन्दी छ, नेताहरू आफै एकताबद्ध हुन सकेका छैनन्। प्रधानमन्त्रीका लागि कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहविरुद्ध गिरिजाप्रसाद कोइरालाले सुरु गरेको घातअन्तर्घातको रोग अहिले कांग्रेसमा भन्दा एमालेमा चौगुना बढेको छ। राष्ट्र र जनताको पक्षमा जत्तिसुकै राम्रो निर्णय लिइएको भए पनि आफ्नो एजेन्डालाई स्थापित गर्न र अडान कायम रहन नसक्ने रोगबाट पनि ग्रसित छ। मूल लक्ष किटान गर्दा पनि एमाले नेतृत्व दृढतापूर्वक कार्यान्वयनमा जान सकेन। नयाँ नेतृत्वले अब यो रोगको उपचार निर्ममतापूर्वक खोज्नैपर्छ।
एमालेका नेता र कार्यकर्तापंक्तिमा टिकट नपाएको विषयलाई लिएर हाम्रो क्षेत्र हारेर के भयो? अन्तबाटै जितिहालिन्छ र बहुमत पनि आइहाल्छ भन्ने जस्ता आत्मघाती खेलको कारण संविधानसभा निर्वाचनमा एमालेले धेरै सिट गुमाएको छ। अर्काेपटक आफू वा आफ्नो गुटको व्यक्तिलाई टिकट दिलाउन र फेरि एउटै व्यक्तिले टिकट नपाउन यही निर्वाचनमा हराएर पठाउनुपर्छ भन्ने मनोगत इच्छा र आत्मघाती अभियानको शिकार भएको यथार्थलाई नवनिर्वाचित महासचिवले गम्भीरतापूर्वक लिई उपचार खोज्नुपर्छ। वैचारिक रूपमा एमाले कार्यकर्तापंक्ति कत्तिसम्म पतन भइसकेका रहेछन्् भन्ने उदाहरण खोज्न कहीं कतै जानुपर्दैन, प्रचार विभाग प्रमुखसमेत रहेका केन्द्रीय सदस्य रघुजी पन्तले पार्टी मुखपत्र बुधबारमा लेख्नुभएको ‘एमाले कार्यकर्ताहरू अध्ययनमा होइन, साँझ परेपछि भट्टी पसलतिर धाउँछन्’ भन्ने पंक्ति नै काफी छ। यसको आजसम्म कहीं कतैबाट प्रतिवाद भएको छैन। एमाले कार्यकर्ताबाटै छानिएर नेता बनेका पन्तले चुनाव हारेको रिसमा मात्र विनाआधार त्यत्तिकै यत्ति गम्भीर आक्षेप लगाउनुभएको नहुन सक्छ। उहाँसँग पक्कै पनि त्यस्ता आधारहरू होलान्। यसतर्फ पनि सबैको ध्यान जानुपर्छ।
संविधानसभा निर्वाचनले एमालेमा नेता र कार्यकर्ताबीचको सम्बन्ध र कार्यकर्ता र जनताबीचको सम्बन्ध कस्तो छ भन्ने तथ्य उजागर गरिसकेको छ। दुवै चुकेको तथ्यलाई पनि बाहिर ल्याएको छ। निर्वाचनमा एमालेले पाएको २० लाख मत आतंकबाट नडराउने, प्रलोभनमा नफस्ने र हावाहुरीको बीचमा सतीसालझंै खडा हुने कार्यकर्ता, शुभेच्छुक र समर्थकहरूको विश्वास हो भन्ने तथ्यलाई पनि उजागर गरेको छ। यति हुँदाहुँदै पनि कमजोरीको समीक्षा गर्नु नै उपयुक्त हुन्छ। कार्यकर्ताहरू जनतासँग सम्बन्ध विस्तार गर्नुभन्दा नेताको चाकडीमा दिन बिताउनुलाई नै आफ्नो धर्म र पार्टीप्रतिको निष्ठा ठान्ने रोगबाट ग्रसित छन्। नेताहरू पनि कामको मूल्यांकनभन्दा आफूलाई भेट्न आयो, आएन भनेर निष्कर्षमा पुग्ने गरेका छन्। यस्तो रोगबाट कार्यकर्ताहरू ग्रसित नभएको भए ज्यानको बाजी थापेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सबैभन्दा ठूलो भूमिका खेल्ने माधवकुमार नेपाल र सातदल र माओवादीबीच भएको बाह्रबुँदे सम्झौताको मस्यौदा तयार गर्ने केपी शर्मा ओली र आफैले बढुवा गरेको प्रहरी अधिकृतहरूले ‘मारिन सक्छौ’ भन्ने धम्की दिंदा समेत कुनै परवाह नगरी रोल्पा पुगेर वार्ता गर्ने हिम्मत जुटाएका वामदेव गौतमहरू निर्वाचनमा पराजित हुने थिएनन्।
निर्वाचनमा भएको पराजयको निर्ममतापूर्वक समीक्षा गर्दा तथ्य बंग्याउँदै समाजमा डुङडुङती गन्हाइसकेको अराजक जत्था वाईसीएलको आतंकलाई देखाएर उम्किन खोजे पनि नेताहरूको पराजयको प्रमुख कारण एमालेभित्रकै गुटबन्दी हो। जनताको बहुदलीय जनवादलाई व्यवहारमा लागू गर्दै मुलुकको अग्रगामी परिवर्तन गर्ने अठोटसहित नेतृत्व गर्दै आएका एमालेका सबै हस्तीहरू आन्तरिक गुटबन्दी र घातअन्तर्घातको शिकार भएका हुन् भन्ने यथार्थलाई कसैले ढाकछोप गर्न सक्दैन। जनतामा स्थापित नेता माधव, केपी र वामदेवजस्ता एमालेका हस्तीहरूलाई पराजित गर्ने हिम्मत बाहिरी शक्तिसँग विल्कुलै थिएन। हराउने आधार त केवल घातअर्न्तघात नै बन्यो। नवनिर्वाचित महासचिवले यसको गम्भीरतापूर्वक समीक्षा गरी अब कहिल्यै नबल्झने उपचार गर्न जरुरी छ। माधव नेपालजत्तिकै उदार दिलले पार्टी हाँक्न सक्नुपर्छ।
अहिलेसम्म गुटबन्दीको आरोप नलागेको छविलाई कायम राख्न सक्नुपर्छ र जनताको बहुदलीय जनवादी सिद्धान्तको कट्टर विरोधी हो भन्ने आरोपलाई पनि व्यवहारबाटै मिथ्या सावित गर्नुपर्छ। त्यसैले नयाँ नेतृत्व लिएका खनालसामु अवसरभन्दा चुनौतीका खाडलहरू धेरै छन्। ती खाडलहरू पुर्नमा ध्यानकेन्द्रित गर्दै सही ढंगले अघि बढ्न सकेमा एमालेका सामु देखिएका सबै चुनौतीहरूलाई सहजै सामना गर्न सकिन्छ। एमाले एकताबद्ध भई नयाँ संविधान निर्माणमा ध्यानकेन्द्रित गर्दा मात्रै मुलुकले पनि परिवर्तनको अनुभूति गर्न सक्छ। अराजकता र धम्कीमा नै आफ्नो अस्तित्व देख्ने माओवादी तथा यथास्थितिवाद र सामन्तवादको पक्षपोषणमा मात्रै आफ्नो सुन्दर भविश्य देख्ने कांग्रेसलाई सही बाटोमा ल्याउन एमाले आफै एकताबद्ध हुन जरुरी छ। एमालेको भूमिकाविना यी दुवै पार्टी सही बाटोमा आउने कल्पनासमेत गर्न सकिंदैन।
निवर्तमान महासचिव माधवकुमार नेपालले भने जस्तै एमालेमा अब खुट्टा तान्ने प्रवृत्तिको निरन्तरता होइन, हात तान्ने संस्कारको थालनी हुन जरुरी छ। लामो समयसम्म पार्टीको नेतृत्व गर्ने व्यक्तिले देखेको र भोगेको अनुभवलाई ग्रहण गर्न सकिन्छ कि सकिंदैन? नवनियुक्त महासचिव खनालले यसलाई कसरी अघि बढाउनुहुन्छ? सिंगो कार्यकर्तापंक्तिको ध्यान यसैमा केन्द्रित छ। नेपालको यो भनाइ एमालेभित्रको कटु यथार्थ हो। उहाँको आफ्नो अनुभव पनि यही हो। एमालेमा कायम रहेको गुटबन्दीको अन्त्य गरी हात तान्ने प्रवृत्तिको विकास गर्न सकियो भने पार्टीसामु देखिएको निराशा र चुनौतीको सहजै समाधान गर्न सकिन्छ।
त्याग गर्न सक्ने धेरै नेता, कार्यकर्ता छन्, उनीहरूको मनोबल माथि उठाउन सकिन्छ र आतंक र धम्कीमा आफ्नो अस्तित्व देख्ने माओवादी र यथास्थिति एवं सामन्तवादको पक्षपोषणमा भविश्य देख्ने कांग्रेसलाई जनताको परिवर्तन र विकासको चाहनामा रूपान्तरित गर्न सकिन्छ। एमालेको भूमिकाविना कांग्रेस र माओवादी सही बाटोमा आउँदैनन् भन्ने तीतो सत्यलाई आत्मसात गर्दै विगतका कमीकमजोरी र महासचिवलाई असफल बनाउने पर्दाभित्रका षड्यन्त्रहरूलाई निस्तेज पार्ने र सबैलाई जिम्मेवारीसहितको दायित्व बोकाउन नयाँ नेतृत्व सफल भएमा एमालेलाई प्रमुख शक्तिको रूपमा स्थापना गर्न थोरै समय नै काफी हुन्छ। मदन भण्डारी र जबजबाट निर्देशित एवं प्रशिक्षित एमाले कार्यकर्तापंक्ति एक सिर्कनाबाटै आफूलाई समयको मागअनुरूप सहजै रूपान्तरण गर्न सक्छन्् भन्ने आत्मविश्वास नेतृत्वलाई पक्कै हुनुपर्छ। स्वार्थवश एमालेमा भित्रिएका र हालिमुहाली गरेका केही अवसरवादीहरू संविधानसभा निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजयका कारण अब फाइदा लुट्न सकिंदैन भन्ने निष्कर्षमा पुगी पलायन हुन सक्छन्। तर, सतीसालझंै पार्टीको दुःखमा डटेर मुकाबिला गर्ने कार्यकर्ताले भरिएको एमालेलाई तिनीहरूको पलायनले कुनै असर गर्दैन।
निर्वाचन परिणामपछि भोगेको मानसिक पीडा र यातना तथा पीपलपाते माओवादी र दरबारियाहरूले देखाएको चुरिफुरीलाई सच्चा एमालेहरूले कहिल्यै बिर्सन सक्दैनन्। आत्मस्वाभिमानमा ठेस पुर्यालउने काम मात्र भएन भने जतिसुकै पीडा सहेर पनि पार्टी अप्ठ्यारोमा परेको बेला उनीहरू ज्यान दिन पछि पर्दैनन्। निराश भई पलायन हुने कि निःस्वार्थ भावना बोकी दृढतापूर्वक पार्टीमा लाग्ने? भन्ने आन्तरिक द्वन्द्व चलिरहेका बेला सबैलाई समान ढंगले समेट्ने भावना नेतृत्वमा हुनुपर्छ। पार्टी शुद्धीकरण र सुदृढीकरणका लागि यसले सदैव फाइदा नै पुर्याहउँछ। अन्तमा एमालेका नयाँ महासचिव खनाललाई पार्टीभित्र क्यान्सर बनेको गुटबन्दीको अन्त्य गर्ने र निस्त्रि्कय भएकाहरूलाई सक्रिय तुल्याउने कार्यमा सफलता मिलोस्। यही शुभकामना।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2008/05/19/p743/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons