जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

May 18, 2008

भोजमा राजाले भने– अब छोड्नु पर्ला

५-जेठ-२०६५,आइतवार
काठमाडौं/संविधानसभाको पहिलो बैठक बस्न दश दिन बाँकी हुँदा राजा ज्ञानेन्द्र छटपटाहटमा छन्। शाही परिवार एवं नातेदारको शुक्रबारे नियमित भोजको विषय एउटै हुने गरेको छ, ‘अब नारायणहिटी छाड्ने कि नछाड्ने?’
भोजहरुमा मात्र सीमित छैन यस्तो परामर्श। आफू निकट अनि राजसंस्थाका शुभेच्छुक एवं सेनाका केही जर्नेल र विश्वासपात्रहरुसित उनले सल्लाह लिने गरेका छन्। तर, उनको मनमा अझै अन्योल छ, दरबार छाड्ने कि नछाड्ने?
गत शुक्रबार राति नारायणहिटी दरबारमा राजा ज्ञानेन्द्रले परिवार र नातेदारको जमघटमा भने, “अव हामीलाई मित्र राष्ट्र भारतले पनि साथ दिने भएन।” नवनियुक्त भारतीय राजदूत राकेश सुदले बिहीबार रिपोर्टर्स क्लबमा भारतले राजा राख्ने कुनै सहमति नगरेको खुलासा गरेपछि राजा झन्–झन् आत्तिएको स्रोतको भनाइ छ। राजाको गुनासो छ, “भारतले पनि हामीलाई अप्ठ्यारो मोडमा छाडिदियो।” तर राजाले भने, ‘जनमतसंग्रहबाट नै राजसंस्थाको छिनोफानो गर्नुपर्छ भन्ने मेरो चाहना थियो जुन पूरा भएन।’ राजाले सात दलसित आफू रहने बारेमा कुनै सम्झौता नभएको समेत खुलासा गरेका छन्। पछिल्लो समय राजावादीहरुले विगतमा दलहरुसित भएको सहमतिको पोल खोल्न राजालाई दबाब दिएको पृष्ठभूमिमा राजाले यस्तो स्वीकारोक्ति सुनाएका हुन्। राजाले स्पष्ट भने, “अब हामीले नारायणहिटी छाड्ने तयारी गरे के हुन्छ?” परिवारजनको अगाडि उनले प्रतिप्रश्न गरे। तर राजाले जे भने पनि मुलुक गणतन्त्रमा गइसकेको छ। राजतन्त्रको अन्त्य अवश्यम्भावी छ। संविधानसभाको पहिलो बैठकले पक्कै पनि हाम्रो राजसंस्थाको विपक्षमा निर्णय गर्ने निश्चित भएको छ।
यतिबेला राजाका पक्षमा न राजावादी भनिएका दलहरु नै खुलेर लाग्न सकेका छन् न त संविधानसभा निर्वाचनमार्फत जनमत नै राजाको पक्षमा देखियो। स्रोतका अनुसार पिताको कुरा युवराज पारसले मन पराएका छैनन्। उनले भनेका छन्, “१५ गतेको बैठकसम्म पर्खौ। हेरौं, कस्तो चिठी आउँछ।”
दरबारले केही विकल्पहरु तय गरेको छ। पहिलो, माओवादीहरुसँग मिलेर आफ्नो आयु केही समय लम्ब्याउने, त्यो सम्भव नभए दलहरुसँग फेरी सम्झौता गर्ने र त्यो पनि सफल हुन नसके सेनासँग मिलेर आफ्नो अस्तित्व रक्षा गर्न अन्तिम कदम चाल्ने। यस्तै संविधानसभाको निर्णयपछि पनि उनले केही समय दरबारमै बस्न पाउनुपर्ने जिकिर पनि गर्न सक्छन्। तर ती सबै कदमहरुमा साथ दिने कोही पनि तयार भएको देखिदैंन। माओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले राजाले नारायणहीटी नछाडे कडा कारबाही गर्ने चेतावनी दिइसक्नुभएको छ। एउटा सत्य के हो भने, राजाले विगतमा आफूले गरेको अप्रिय निर्णयका कारण यस्तो स्थिति आएको स्वीकार गरेका छन्। उनले भनेका छन्, “अव पनि हामीले बेलैमा सोेचेनौं भने समस्या पर्छ। हामी नारायणहिटी छाडेर निर्मल निवास जाँदा पनि खासै फरक पर्दैन। अव ढिलो नगरौं। त्यसो गरेमा हामीलाई फेरि जनताले नै पुनर्स्थापना गर्न सक्छन्।” राजाले नातेदारहरुसित आफूलाई माओवादी अध्यक्ष प्रचण्डले भेट्ने जानकारी गराएको पनि सुनाएका छन्। दरबारीया स्रोत के भन्छ भने, भारत, चीन र अमेरिकाले समेत लत्तो छाडेपछि राजा मलिन अनुहारमा देखिन्छन्। मलिनताका बाबजुद पनि उनले भने, ‘बैठकको दिनसम्म हामीले कुर्नैपर्छ। र अन्तिम समयसम्म हामीले अस्तित्व रक्षाका लागि संघर्ष गर्नुपर्छ।’ तर राजा ज्ञानेन्द्रको राजनीतिक महत्वाकांक्षाले नेपालको राजसंस्था सदाको लागि अन्त्य हुने भएको छ।
२४० वर्षे राजतन्त्रको अन्तिम धुकधुकीमात्र छ। राजाले बुझिसकेका छन्– अव हामीलाई बचाउने कोही छैन। अव हाम्रा दूतहरु नै बाहिर कोही हाम्रा पक्षमा देखिएका छैनन्। अव विगतको समीक्षा आवश्यक छ। अव हामी नागरिकका रुपमा बस्दा पनि हुन्छ। तर, जसरी हुन्छ श्री ५ पृथ्वीनारायण शाहको गौरबगाथा भएको नेपालभित्रै हामी बसौं, देश कुनै पनि हालतमा नछाड्ने प्रतिज्ञा गरौं।
राजाको मनासय त्यस्तो भए पनि उनलाई नातेदारहरुले दरबार नछाड्न दबाब दिएका छन्। बरु उनीहरुले संविधानसभा र सरकारले पठाउने चिठ्ठी अनि गणतन्त्र कार्यान्वयनको प्रक्रिया कुरेर बस्न भनेका छन्। मुख्य पार्टीहरु नै गणतन्त्रको पक्षमा स्पष्ट उभिएका बेला राजा जनमत संग्रहमार्फत राजतन्त्रको छिनोफानो होस् भन्ने चाहन्छन्। त्यसो गरेमा राजतन्त्र केही समय भए पनि रहने उनको बुझाइ छ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले मात्र हो, राजतन्त्रको अन्त्य वैधानिक बाटोबाट हटाउन भनेको। सेनाको राजालाई केही मात्रामा विश्वास अझै पनि छ। सेनाका केही जर्नेलहरुले नाम नबताउने शर्तमा देशान्तरलाई भनेका छन्, ‘जनमतसंग्रहबाटै राजसंस्थाको छिनोफानो हुनुपर्छ।’ तीन सैनिक उच्च अधिकारीले भने, ‘आउँदो संसदीय निर्वाचनमा एउटा बाकस राजसंस्था चाहिन्छ चाहिन्न भन्ने छिनोफानो गर्ने मतपेटीमका छुट्याउनुपर्छ। त्यो नभए मुलुकमा रक्तपात निम्तिनसक्छ।’
पारिवारिक जमघटमा राजाको पक्षमा न समर्थन न विरोधको स्थितिमा छन् युवराज्ञी हिमानी र रानी कोमल। तर, राजाले स्वीकारेका छन्– हाम्रै कमजोरीले यस्तो अवस्था आएको हो। कतिपय राजावादीहरुलाई चाहिं दलहरु प्रधानमन्त्री एवं कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाबाट राजतन्त्रले त्राण पाउनेमा झिनो आशावादी छन्। तर, कोइरालाले लोकतन्त्रका निमित्त मात्र सहमति र मेलमिलापको आह्वान गर्नुभएको छ। उहाँ लोकतान्त्रिक पद्धति र प्रक्रिया अनुसार नै चल्ने पक्षमा हुनुहुन्छ। कोइराला पछि फर्कने मनस्थितिमा हुनुहुन्न।
कोइरालासँगै माओवादी अध्यक्ष प्रचण्ड नेपालमा राजतन्त्र अन्त्यको दिन पर्खिएर बस्नुभएको छ। उहाँ त्यसै दिनलाई जीवनको सबैभन्दा खुसी र उल्लासको दिन बनाउन चाहनुहुन्छ। नेपाली जनताको जित र गणतन्त्र सुनिश्चित गराउँदै मुलुकको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरण गराउने जिम्मेवारी पनि उहाँकै काँधमा आएको छ। अब राजा ज्ञानेन्द्रका सामु एउटै सुरक्षित अवतरण आफू अधिराजकुमार हुँदा बिताएको घर निर्मल निवासमा फर्कनुको विकल्प देखिदैन। तर पनि राजाले केही विकल्प अघि सारेका छन्। माओवादी अध्यक्ष प्रचण्डले राजालाई दरबार छाड्न पठाएको पत्रसंगै राजा ज्ञानेन्द्रले पनि माओवादीलगायत केही दलका नेतालाई शर्त पठाएका छन्। स्रोतका अनुसार प्रमुख शर्तहरुमा सांस्कृति सम्मान पाउनुपर्ने, सुरक्षाको वातावरण हुनुपर्ने, सम्पत्ति सुरक्षाको ग्यारेन्टी हुनुपर्ने रहेका छन्। उनले आफूलाई जनमतसंग्रहको पक्षमा उभ्याएका छन्।
दरबारमा राजा निस्कँदा ऐतिहासिक दस्तावेज कागजपत्र, पौराणिक महत्व लाने खतरा छ। मुलुकको सम्पत्तिको संरक्षण र सुरक्षाका लागि सरकार र राजनीतिक दलहरु चनाखो हुनुपर्छ।

देशान्तर साप्ताहिक

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2008/05/18/p742/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons