शिखर वार्ता अनिश्चित, माओबादीद्वारा संचारकर्मिमाथी दुर्ब्यबहार
३० असोज २०६३
नेपालमा सातदलीय गठबन्धन सरकार र सरकार विरोधी सशस्त्र समूह माओवादी विद्रोहीहरूबीच गएको हप्तादेखि शुरू भएको वार्ताको क्रममा आइतबारको वैठक राजतन्त्र र हतियार ब्यवस्थापन जस्ता मूलभूत मुद्दाहरूमा सहमतिमा पुग्न नसकेपछि अचानक टुंगिएको नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।
यसका साथै नेपाली सञ्चार माध्यमहरुमा जनाइए अनुसार,सरकार र विद्रोहीबीच गएको हप्तादेखि शुरू भएको दोश्रो शिखर वार्ता आइतबार चौथो दिनको बैठकपछि विना कुनै निष्कर्ष स्थगित हुन पुगेको छ। प्रधानमन्त्री निवास वालुवाटारमा चर्का नाराबाजीका बीच शुरू भएको बैठक मूलभूत मुद्दाहरूमा सहमतिमा पुग्न नसकेपछि अचानक टुंगिएको वार्ताकारहरूले बताएका छन्। त्यस क्रममा गत बिहिबारको बैठकपछि आइतबारको शीर्ष वार्तालाई निर्णायक बनाउन भनी दल तथा माओवादी विद्रोहीबीच विभिन्न तहमा थुप्रै परामर्शहरू भएका थिए। साथै ती परामर्शहरू मुख्य मुद्दाहरुमा केन्द्रीत रहेका र तिनले आइतबारको वार्ता सफल बनाउन सहयोग पु-याउने विश्वास दुवै पक्षका नेताहरूले व्यक्त गरेका थिए। तर आइतबारको बैठकले पहिलेदेखि नै विवादीत रहेका विषयहरूमाथि सहमति कायम गर्न नसकेको विद्रोही नेताहरूले जनाएका समाचारहरुमा उल्लेख छ ।
त्यसैगरी प्राप्त समाचार अनुसार,विद्रोही माओवादी प्रवक्ता कृष्णबहादुर महराले भने, “विषयवस्तुहरु धेरै छन् र हाम्रो पार्टीले ती सबै बिषयलाई एउटा सिङ्गै प्याकेजमा समाधान गर्न चाहेको छ।” त्यस्ता विषयहरूमध्ये प्रमुख के छन् भन्ने प्रश्नमा उनले भने, “राजतन्त्र र हतियारका विषयमा हामी ठोस निष्कर्षमा पुग्न सकीरहेका छैनौं” शीर्ष वार्ताकालागि सरकारको तर्फवाट सहजकर्ताको भूमिका निभाइरहेका नेपाली काङ्ग्रेसका केन्द्रीय नेता शेखर कोइरालाले पनि लगभग महरा कै भनाई दोहो-याए। त्यस क्रममा महराले भने, “प्याकेजमा राजनीतिक विषयहरू र हतियार व्यवस्थापन सम्वन्धि मुद्दा छन्, यी दुवैलाई सँगै मिलाएर लग्न सके मात्रै कुरा मिल्छ नत्र मिल्र्दैन।” उनले सरकारमा सम्मिलित सातवटा राजनीतिक दल र विद्रोहीका दृष्टिकोणमा एकरुपता ल्याउन समय लाग्ने भएकाले वार्ता लम्बिएको बताए। यसका साथै सरकारले सबैभन्दा पहिले हतियार व्यवस्थापनमा सहमति हुनुपर्नेमा जोड दिंदै आएको छ भने माओवादी विद्रोहीहरूले राजनीतिक मुद्दाहरूलाई प्राथमिकता दिइनु पर्ने बताउँदै आएका छन्। साथै अर्को बैठक कहिले हुने भन्ने घोषणा नगरिएको प्राप्त समाचारहरुमा जनाइएको छ।
पत्रकार महासंघको प्रेस विज्ञप्ति
नेपाल सरकार (सात दल) र नेकपा (माओवादी) को शीर्ष वार्ताको समाचार संकलनका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका सञ्चारकर्मीहरुमाथि आज भएको अमर्यादित र अभद्र व्यवहारप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
शीर्ष वार्ताको समाचार संकलनका लागि बालुवाटार परिशरमा पुगेका राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार संस्थाका प्रतिनिधिहरुलाई त्यहाँ हाते साङ्लो बनाएर उभिएका माओवादी कार्यकर्ताले ‘मण्डले’ र ‘हण्डी खाने’ पत्रकारलाई चिन्दैनौ भन्दै धकेलेका थिए । सञ्चारकर्मीहरुले आफ्नो परिचय खुलाउँदासमेत अमर्यादित व्यवहार गरिएको थियो । तारा अंकित रातो कपडा शीरमा लगाएका सयौं मानिसहरुले वार्ता स्थल नियन्त्रणमा लिएकाले वार्ताको सूचना लिन सञ्चारकर्मीहरुलाई बाधा पुगेको थियो । महासंघ यो घटनाको तीव्र निन्दा एवं भर्त्सना गर्दछ ।
विश्वकै ध्यान खिचिरहेको राष्ट्रिय मुद्दासम्बन्धी वार्ताको सूचना संकलनमा यस किसिमका बाधा-व्यवधान उत्पन्न गरिनु अत्यन्त आपत्तिजनक कुरा हो, यो जनताको सूसुचित हुनपाउने अधिकारको ठाडो उल्लंघन हो । तर्सथ, आजको निन्दनीय घटनाको माओवादी र सात दलसमेतले जिम्मा लिनु पर्दछ । प्रेसलाई सूचना संकलनका लागि उपयुक्त वातावरण दिनु सबैको कर्तव्य हो । सरकार र माओवादीले विगतमा प्रेस स्वतन्त्रताप्रति आफैले व्यक्त गरेको प्रतिवद्धताविपरीत द्वैधचरित्र प्रदर्शन गर्नु दुःख लाग्दो कुरा हो ।
महासंघ सात दल र माओवादीसँग पूर्वप्रतिवद्धताको स्मरण गर्न र भविष्यमा यस्ता अप्रिय घटना नदोहोरिने कुराको प्रत्याभूतिसमेत गर्न ध्यानाकर्षण गराउँदछ । निरंकुशतासँग लडेर पेशाको रक्षा गर्न सफल भएको नेपाली प्रेस कुनै पनि शैली र चरित्रका तानाशाही र अधिनायकवादी तत्वसँग नतर्सने कुरा पनि महासंघ सबैलाई स्मरण गराउँन चाहन्छ ।
**********************
विष्णु निष्ठुरी
सभापति

गृह पृष्ठ
