वार्ताबारे विभिन्न टिप्पणि भइरहँदा राष्ट्रसंघीय प्रतिनिधिद्बारा वार्ता सफल हुनेमा विश्वस्त
१४अक्टोबर२००६(एजेन्सीहरु)-
नेपालमा सरकार र माओवादीबीच भईरहेको वार्ताबारे विभिन्न टिप्पणि भइरहँदा राष्ट्रसंघीय महासचिवका व्यक्तिगत प्रतिनिधि इयन मार्टीनले सो वार्ता अन्तर्राष्ट्रिय मापदण्डको तुलनामा निकै छिटो अगाडि वढीरहेको बताएका नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।
यसका साथै नेपाली सञ्चार माध्यमहरुमा जनाइए अनुसार,शान्ति प्रक्रियामा सघाउन राष्ट्रसंघीय महासचिव कोफी आननको व्यक्तिगत प्रतिनिधिका रूपमा खटाइएका मार्टीनले शान्ति वार्ताको सफलताप्रति विश्वास व्यक्त गरेका छन्। काठमाडौंमा शुक्रबार आयोजित एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले सो वार्ता अन्तर्राष्ट्रिय मापदण्डको तुलनामा निकै छिटो अगाडि वढेको जनाए। प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला लगायत सत्ताधारी सात दलका नेताहरू एवं माओवादी अध्यक्ष प्रचण्डसँग निकट सम्पर्कमा रहेका मार्टीनले नेपालमा जारी रहेको जस्तो वार्तावाट तुरून्तै परिणामको आशा गर्नु व्यवहारिक नहुने बताएका प्राप्त समाचारहरुमा जनाइएको छ।
त्यस क्रममा समाचार अनुसार,ठूलो आशा र त्यत्तिकै ठूलो निराशाको श्रृङ्खलाबीच वार्ता अगाडि वढ्ने बताउँदै उनले भने, “त्यसैले यसमा सन्तुलन राख्न होस पु-याउन् पर्छ।” यसै हप्ता भएका सरकार-माओवादी शीर्ष वार्ताहरू अनिर्णीत रहेपछि आइतबार हुने वार्तालाई निर्णायक बनाउन लागिपरेका दुवै पक्षलाई मार्टीनको भनाइले उत्साहित बनाउने जनाएका छन्। त्यसैगरी सरकार र माओवादी विद्रोहीहरूले हतियार व्यवस्थापन र संविधानसभाको चुनावको सुपरिक्षेवण गर्न राष्ट्रसंघलाई अनुरोध गरेपछि महासचिव आननले मार्टीनलाई आफ्नो व्यक्तिगत प्रतिनिधिका रूपमा काठमाडौं पठाएका थिए। यसका साथै हाल काठमाडौंमा रहेको मार्टीनको टोलीमा सैनिक, राजनीतिक, युद्धविराम अनुगमन एवं चुनावसम्वन्धी विशेषज्ञहरू पनि छन्। सरकार र माओवादीहरूबीच हतियार व्यवस्थापन तथा प्रमुख राजनीतिक मुद्दाहरूमा सहमति भइनसकेको हुनाले राष्ट्रसंघीय टोलीले काम शुरू गरिहाल्न सकेको छैन। त्यस क्रममा निकै विवादीत हतियार तथा सैन्य व्यवस्थापनको अन्तिम टुङ्गो सरकार, माओवादी विद्रोहीहरू तथा राष्ट्रसंघले संयुक्त रूपमा गर्ने सहमति सरकार र माओवादी पक्षबीच भएको प्राप्त समाचारहरुमा उल्लेख छ।

गृह पृष्ठ
