सातदलीय गठबन्धन र माओवादीहरूबीच भएको शिखर वार्ता विना निष्कर्ष टुंगियो, मंगलवार फेरी वार्तामा बस्न सहमत
९अक्टोबर२००६(एजेन्सीहरु)-
नेपालमा सातदलीय गठबन्धन सरकार र माओवादी विद्रोहीहरूबीच आइतवार भएको दोस्रो शिखर वार्ता विना कुनै निष्कर्ष टुंगिएकोले दुवै पक्ष एकदिनको विश्रामपछि मंगलबार विहान फेरी वार्तामा बस्न सहमत भएका नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।
त्यसैगरी सञ्चार माध्यमहरुमा जनाइए अनुसार,सातदल र विद्रोही माओवादीका शिर्ष नेताहरू सम्मिलित दोस्रो शिखर वार्ता आइतवार विना कुनै निष्कर्ष टुंगिएको छ। दुवै पक्ष एकदिनको विश्रामपछि मंगलबार विहान फेरि वार्तामा बस्न सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो शिखरवार्ता आठ घण्टासम्म चलेको थियो। वैठकपछि जारी गरिएको एउटा संयुक्त वक्तव्यमा, संविधान सभाको निर्वाचन, हतियार व्यवस्थापन र द्वन्द्वबाट प्रभावित मानिसहरूलाई राहत सहायता दिनेबारेमा सौहाद्रपूर्ण वातावरणमा कुराकानी भएको जनाइएको छ। बैठकका क्रममा हालै सरकारलाई पेश गरिएको अन्तरिम संविधानको मस्यौदा पनि प्रस्तुत गरिएको समाचारहरुमा उल्लेख छ ।
यसका साथै थाहा भए अनुसार,वार्ता सकारात्मक रहेपनि निर्णयहरू गर्न समय नपुगेको बताउँदै एमालेका महासचिव माधवकुमार नेपालले भने, “चौबिस घण्टाको नभएर अड्चालीस् घण्टाको दिन भइदिएको भए शायद समय पुग्थ्यो होला।” उनका अनुसार वैठकमा सहभागी सबैले आ-आफ्नो भनाइ राखे र ती विषयहरूमा मंगलबार फेरि छलफल हुनेछ। यसै क्रममा “राजतन्त्रबारे जनमत संग्रहवाट टुङ्गो लगाउने विचार कसैवाट आयो भने कसैले संविधानसभाको पहिलो वैठकले त्यसबारे निर्णय गर्ने प्रस्ताव राखे,” नेपालले भने। शिखर वार्तामा सहभागि वरिष्ठ माओवादी नेता बाबुराम भट्टराईले वैठकबारे उत्साहित नै भइहाल्ने बेला भने भइनसकेको बताए। यसका साथै उनले भने, “सात पार्टी र हाम्रो शिर्ष नेतृत्वबीच राजनीतिक विषयवस्तुमा केन्द्रित भएर जुन खालको छलफल भयो, त्यो निकै सकारात्मक रह्यो भन्ने हामीलाई लागेको छ।” तर भट्टराईले छलफलको निष्कर्ष भन्दा पनि वर्तमान अवस्थामा महत्वपूर्ण पार्टीका नेताहरूले बहस-अन्तर्क्रिया गर्नु नै सकारातमक रहेको बताए। त्यसैगरी गत जून महिनामा भएको पहिलो शिखर वार्तामा आठ-बुँदे सहमति भएपछि सरकार र माओवादी विद्रोहीबीच हतियार व्यवस्थावन तथा अन्तरिम संविधान, अन्तरिम सरकार र संविधानसभा लगायतका विषयहरुमा मतभिन्नता रहँदै आएको छ। साथै सरकारमा सहभागि दलहरू हतियार व्यवस्थापन संवन्धि मुद्दा पहिले सल्टाउनु पर्ने कुरामा जोड दिन्छन् भने माओवादी विद्रोहीहरूले छलफलमा राजनीतिक विषयहरूले प्राथमिकता पाउनु पर्ने बताउँदै आएका प्राप्त समाचारहरुमा जनाइएको छ।

गृह पृष्ठ
