हेलिकोप्टर दुर्घटनामा मृतकको शवहरू राजधानी ल्याइयो, आज ससम्मान अन्त्येष्टि गरिने
काठमाडौं, असोज ११ –
हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका २४ विशिष्ट व्यक्तिको शव बुधबार ताप्लेजुङको घुन्साबाट राजधानी ल्याइएको छ । क्षतविक्षत अवस्थाका २४ विशिष्ट ब्याक्तीहरुको शव १० वटा झोलामा पोको पारेर ल्याइएको थियो ।
राजधानी ल्याइएका शवहरुमध्ये वन राज्यमन्त्री गोपाल राई, डब्लूडब्लूएफ दक्षिण पूर्वी एसियासम्बन्धी कार्यक्रम निर्देशक मिङमा नोर्बु शेर्पा र डब्लूडब्लूएफ बेलायतका जेनिफर हेड्लीको शव मुस्किलले पहिचान भएको हो । पहिचान हुन नसकेका अन्यको ‘डीएनए’ परीक्षण गर्ने सरकारले जनाएको छ ।
शनिवार ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटनामा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई सहित २४ जना स्वदेशी तथा विदेशी विशेषज्ञहरू उक्त दुर्घटनामा मारिएका थिए। शवहरू सेनाको हेलिकप्टरद्वारा घुन्साबाट सुकेटार विमानस्थल हुँदै राजधानी ल्याइएको हो । टुक्राटुक्रा अवस्थाका शव पोस्टमार्टम र पहिचानका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
उद्धार टोलीमा संलग्न छिरिङपान्दु भोटेका अनुसार दुर्घटनास्थलमै भेटिएका अधिकांश शव जलेर चिन्न नसकिने अवस्थामा थिए । २५ जना गाउँलेले सेनासहित गएको उद्धार टोलीको सहयोगमा घटनास्थल पहिचान गरेको उनले बताए । ‘अवशेष पनि यही टोलीले संकलन गरेको थियो,’ भोटेले भने ।

गृह पृष्ठ
