आसन्न शीर्ष वार्ताको एजेण्डा बदलियो!
सातदलका वरिष्ठ नेताहरुको २ साउनमा सम्पन्न बैठकले ५ साउनमा हुने भनिएको सातदल–माओवादी शीर्ष बैठकमा प्रस्तुत हुने एजेण्डाबारे अनौचारीक सहमति निर्माण गरेको छ।
तर उक्त वार्तामा अन्तरिम संसद र सरकार लगायतका विषय छलफलको एजेण्डामा नपरेको नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले बताउनु भयो। उहाँका अनुसार, शीर्ष वार्तामा शान्ति स्थापनाको निम्ति शान्ति सम्झौता, हतियार व्यवस्थापन, कव्जा गरिएको सम्पति फिर्ता गर्ने र विस्थापितलाई पुनःस्थापित गर्ने विषयमा छलफल हुनेछ। यसअघि भने अन्तरिम सरकार र संसदको विकल्पको बारेमा छलफल केन्द्रीत हुने बताइएको थियो। “विवाद देखिएकोले तत्काल त्यसबारे छलफल हुनेछैन,” विजुक्छेले भन्नु भयो
तर, संयुक्त वाममोर्चाका नेता हेमन्तबहादुर बिसीले बैठकले अन्तरिम सरकार–संविधान, संसदको विकल्प र संविधान सभाको निर्वाचनलाई एजेण्डाको रुपमा छनौट गरिएको बताएका छन्।
गठबन्धनका साना दललाई खबर नै नगरी माओवादीसँग गोदावरीमा छलफल गरेको सन्दर्भ उठाउँदै सानादलले बैठकमा नेपाली काङ्ग्रेस र नेकपा एमालेको आलोचना गरेका थिए। त्यसैगरी १ साउनमा सरकारले विभिन्न संस्थानहरुमा गरेको नियुक्तिको विषयमा नेमकिपाले आपत्ति जनाएको थियो। “त्यसवारे अमिक (शेरचन) जी, भरतविमल (यादव) जी, प्रभुनारायण (चौधरी) जीले पनि आफुहरुलाई जानकारी नदिएको बताउनु भयो,” बैठकमा आफुले जनाएको आपत्तिबारे बिजुक्छेले सुनाउनु भयो। त्यसैगरी स्थानिय निकाय पुनःस्थापना गर्ने विषयमा पहिले सातदलका शीर्ष नेताहरुले जनाएको सहमति कार्यान्वय नगरेकोमा प्रमुख रुपमा नेपाली काँग्रेसको आलोचना भएको थियो।
बैठकले माओवादीसँग छलफल गर्न, भएका निर्णयको कार्यान्वय गराउन तथा सरकारी कामको अनुगमन गरी सल्लाह दिन सातदलको कार्यदल गठन गरेको छ। नेकाबाट डा.रामवरण यादव, अर्जुननरसिंङ के.सी. र आमोदप्रसाद उपाध्याय, नेकपा एमालेबाट इश्वर पोखरेल, सुरेन्द्र पाण्डे र अष्ठलक्ष्मि शाक्य, नेका प्रजातान्त्रिकबाट होमनाथ दाहाल, डा.मिनेन्द्र रिजाल र डा.प्रकाश शरण महत, जनमोर्चा नेपालबाट लिलामणि पोखरेल र नवराज सुवेदी, नेमकिपाबाट प्रेम सुवाल, सुनिल प्रजापति र पूर्णमाया महर्जन, नेसपा (आनन्दीदेवी) बाट सरिता गिरी र अनिलकुमार झाँ तथा वाममोर्चाबाट सिताराम तामाङ, हेमन्त विसी र ऋषि कट्टेल छन्। नेपाल मजदूर किसान पार्टीको आयोजनामा भक्तपुरमा भएको बैठकमा गिरिजाप्रसाद कोइराला बाहेक सातै दलका शीर्ष नेताहरुको सहभागिता थियो।
साभार - हिमालखबर

गृह पृष्ठ
