फाईनल विश्व कप फुटबल -२००६
इतिहास दोहोरिएला !

विश्वकप फुटबलका दुई खेलमात्र बाँकी छन् । अब सबैको आँखा आइतबार हुने फाइनलमा केन्दि्रत छ । विश्वकप हातपार्न फ्रान्स र इटालीले जीउज्यान लाउनेछन् । दुवै टिम इतिहास दोहोर्याउने धुनमा छन् । फ्रान्सले सन् १९९८ मा विश्वकप जितिसकेको छ । आइतबारको खेलमा जित हात पार्नसके उसले नयाँ इतिहास रच्नेछ । यस्तो मौका थोरै खेलाडीले मात्र पाउँछन् । फ्रान्स यसपटक त्यही गौरवको लागि खेल्नेछ । आइतबारको फाइनलमा खेल्ने मौका फ्रान्सका जिनेदिनले दोस्रोपटक पाउँदैछन् । इटाली विरुद्धको फाइनल नै उनको अन्तिम अन्तर्राष्ट्रिय खेल हुनेछ । आठ वर्षअघि फ्रान्सले विश्वकप जित्नुमा उनको ठूलो भूमिका थियो । ब्राजिलसँगको फाइनलमा फ्रान्स ३-० ले विजयी भएको थियो । उक्त खेलमा जिदानले दुई गोल गरेका थिए । चार वर्ष अघिको खेलमा जिदान अस्वस्थ थिए । फ्रान्सले राम्रो खेल्न सकेन र पहिलो चरणबाटै बाहिरियो । डिफेन्डिङ च्याम्पियन यसरी बाहिरिएको विश्वकपको इतिहासमा पहिलोपटक हो । आलोचकहरूले उनको खेलजीवन समाप्त भयो भनेका थिए । विश्वकप छनोटको क्रममा संकटमा परेको आफ्नो टिमलाई सहयोग गर्न उनले सन्न्यास फिर्ता लिएका हुन् । बूढो टिमको संज्ञा पाएको फ्रान्सका खेलाडीका लागि यो अन्तिम विश्वकप हुनेछ । त्यसैले उनीहरू यसलाई सुखद अन्त्य दिन आतुर हुनु स्वाभाविक हो ।
फाइनलको अर्को टिम इटाली पनि इतिहास दोहोर्याउने प्रयासमा हुनेछ । पिज्जा, माफिया र फुटबल इटालीका तीन विशेषता हुन् । इटालियनहरूबीच पिज्जा र माफियाका बारेमा दुईमत भए पनि फुटबलको बारेमा भने सबै एकजुट हुने गर्छन् । युरोपको टिम भए पनि यो महादेशमा खेलिनेभन्दा भिन्न शैलीको खेल खेल्छन्, अलि बढी बल प्रयोग गर्छन् उनीहरू । इटालीले खेलेको खेलमा रातो कार्ड देखाइनु सामान्य हो । डिफेन्सिभ खेल खेल्ने आरोप पनि उनीहरूलाई लाग्दै आएको छ । विपक्षीसँगको झगडामा रगताम्य भएका खेलाडी हेर्न इटालियन क्लबका खेल हेरे पुग्छ । त्यसैले इटालीको खेलमा नाटक पनि हुने गर्छ । डिफेन्स खेल्न उनीहरू खप्पिस मानिन्छन् ।
यस्तो विशेषता बोकेको टिम विश्वकप फुटबलको फाइनलमा फ्रान्ससँग भिड्दैछ । आइतबार उनीहरू फ्रान्सको जस्तो राष्ट्रिय सम्मानका लागिमात्र उत्रने छैन्, आफ्नो व्यावसायिक खेलजीवन बचाउने आशामा पनि खेल्नेछन् ।
इटालियन खेलाडीलाई खेल माफियाले सताएको छ । घरेलु शत्रुको खेलमा मिलेमतो गरेको आरोप पनि लागेको छ, उनीहरूलाई । यसको छानबिन पनि व्यापक भइरहेछ । दोषी सावित भए भने उनीहरूको खेलजीवनमा ठूलो उथलपुथल आउनेछ ।
यस्तै घटना स्पेनले आयोजना गरेको सन् १९८२ को विश्वकपमा पनि भएको थियो । त्यसबखत इटालियन टिमलाई यस्तै मिलेमतोमा खेल बिगारेको आरोप लागेको थियो । त्यसैको छानबिनले उनीहरूको विश्वकप तयारीमा असर पारेको थियो, अहिलेझैं
निकै दबाबमा खेल्दै इटालीले त्यसबखत विश्वकप हात पारेको थियो । जितको उपहारस्वरूप उनीहरूको गल्ती माफ गरियो । बर्लिनको खेलमा पनि उनीहरू दबाबमै हुनेछन् । खेल माफिया काण्डको छानबिन नतिजा जति नजिकिँदैछ, कडा कारबाहीमा परिने भएकोले उनीहरूमा दबाब पनि बढेको छ । उनीहरू २४ वर्ष अघिको इतिहास दोहोर्याउने धुनमा हुनेछन्, त्यस्तै घोषणा सुन्न ।
प्रतीक्षा दुलाल

गृह पृष्ठ
