अमेरिकाद्वारा माओवादीहरूले हत्या, अपहरण, जबर्जस्ती चन्दा असूलीजस्ता गतिविधि जारी राखेकोमा गहिरो चिन्ता व्यक्त
२९जुन२००६(एजेन्सीहरु)-नेपालमा अमेरीकी राजदूत जेम्स मोरीआर्टीले माओवादी विद्रोहीहरूले हत्या, अपहरण, जबर्जस्ती चन्दा असूलीजस्ता गतिविधि जारी राखेको भन्दै गहिरो चिन्ता व्यक्त गर्नुभएको प्राप्त समाचारहरुमा जनाइएको छ। त्यसैगरी सञ्चार माध्यमहरुमा जनाइए अनुसार,बुधबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्री मोरिआर्टीले आफ्नो मन्तव्यको प्रमुख अंश माओवादीको व्यवहारको आलोचना गर्नमै खर्चनु भयो। उहाँ सातदलीय गठबन्धन तथा नेकपा माओवादीबीच सात महिना पहिले सम्पन्न १२ बूंदे सहमतिका कटु आलोचक रहिआउनुभएको छ। यसका साथै श्री मोरिआर्टीले जनआन्दोलनको बलबाट गठित नयां सरकारले नेपालमा शान्ति स्थापना गर्नका लागि जुन उत्साह र इमान्दारी देखाएर माओवादीहरुसंग समझदारी कायम गरेको छ, त्यसको तुलनामा माओवादीहरुले उत्तिकै इमान्दारी नदेखाएको आरोप लगाउनुभयो।
यसैबीच राजदूत मोरिआर्टीले लोकतन्त्र प्राप्तीका लागि नेपाली जनताले देखाएको उहांकै शब्दमा “दबाबयुक्त जुझारुपन” को प्रशंसा गर्नुभयो। तर उहांले माओवादीहरुले उनीहरुका व्यवहार नसुधारेसम्म नेपालमा दिगो शान्ति स्थापना हुनसक्ने कुराप्रति आशंका व्यक्त गर्नुभएको समाचारहरुमा जनाइएको छ ।
यसका साथै हालैका दिनहरुमा ताप्लेजुङ, रामेछाप, सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा माओवादी कार्यकर्ताहरुद्वारा गरिएका भनिएका ज्यादतीका घटनाहरुको उल्लेख गर्दै श्री मोरिआर्टीले अमेरिकी कानून अनुसार नेकपा माओवादी अझै एउटा आतंककारी संगठनका रुपमा रहेको बताउनुभयो। उहाँले माओवादीहरुले हिंसा नत्याग्दासम्म उनीहरु सम्मिलित अन्तरिम सरकारलाई अमेरिकाले सहयोग गर्न नसक्ने स्पष्ट पार्नुभयो। यसैबीच नेकपा माओवादीले आफू वार्ताका माध्यमबाट दिगो शान्ति बहालीप्रति प्रतिबद्ध रहेको जनाउंदै आएको छ। बिश्लेषकहरु भन्छन्, अमेरिकी राजदूतको पछिल्लो भनाईले माओवादीमाथि उसका कार्यकर्ताहरुले अपनाउंदै आएका हिंसात्मक र धम्कीपूर्ण व्यवहार तत्काल त्याग्न थप दबाब पुग्ने देखिने सञ्चार माध्यमहरुमा जनाइएको छ ।

गृह पृष्ठ
