सभामुख, सांसद लगायतका पदाधिकारीद्वारा सपथ, प्रधानमन्त्री अनुस्थित
काठमाडौँ,
संसद् भवनमा हिजो आयोजित एक कार्यक्रममा सभामुख सुवास नेम्वाड तथा सांसदहरूलगायतका अन्य पदाधिकारीहरूले पद तथा गोपनीयताको सपथग्रहण गर्नुभयो । यसअघि भएको प्रतिनिधिसभाको ऐतिहासिक घोषणा र हालै जारी प्रतिनिधिसभाको नयाँ नियमावली अनुसार सपथग्रहण कार्यक्रम आयोजना भएको हो । प्रतिनिधिसभाको हिजोको सपथग्रहण कार्यक्रममा स्वास्थ्यका कारण प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला उपस्थित हुन असमर्थ हुनुभएपछि प्रधानमन्त्री र मन्त्रीहरूले प्रतिनिधिसभासमक्ष लिने सपथग्रहण कार्यक्रम भने हिजो हुन सकेन र सो कार्यक्रम पछि हुने जानकारी गराइएको थियो । संसद् भवनमा आयोजित कार्यक्रममा सभामुख सुवास नेम्वाडले पहिले आफूले पद तथा गोपनीयताको सपथ लिनुभयो भने त्यसपछि उहाँले प्रतिनिधिसभाका सांसदहरूलाई सपथ गराउनुभएको थियो । त्यसपछि उपसभामुख चित्रलेखा यादव, राष्ट्रियसभाका उपाध्यक्ष रामपृत पासवान तथा राष्ट्रियसभाका सदस्यहरूलाई पनि सपथ गराइएको थियो । यसैगरी प्रतिनिधिसभाका विभिन्न समितिका पदाधिकारीहरु संसद सचिवालयका महासचिवले पनि प्रतिनिधिसभा समक्ष सपथ ग्रहण गरेका छन् । जनआन्दोलनको बलमा वैशाख ११ गते पुनःस्थापित प्रतिनिधिसभा जेठ ४ को ऐतिहासिक घोषणा भएपछि पूर्ण रुपमा सार्वभौम र अधिकार सम्पन्न भएको छ । सपथग्रहण कार्यक्रममा संसद् भवनभित्र केही नौला र अनौठा घटनाक्रम देखिएका थिए । कार्यक्रममा विगत सरकारमा मन्त्री बनेका तथा जनआन्दोलन दबाउने काममा संलग्न भएको आशङ्कामा रायमाझी आयोगबाट बयानका लागि बोलावट भएका पूर्वमन्त्री बद्रीप्रसाद मण्डलले पनि प्रतिनिधिसभाको सांसदका रूपमा सपथग्रहण गर्नुभयो । त्यस्तै, विगत सरकारका अर्थ राज्यमन्त्री डा.रूपज्योति तथा पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री याङ्किला शेर्पाले पनि राष्ट्रियसभाका सांसदको हैसियतमा प्रतिनिधिसभाको नियमावली अनुसार पद तथा गोपनीयताको सपथ लिनुभएको थियो । संसद् भवनभित्र सभामुखको कुर्सीभन्दा माथि रहेको राजाको सिंहासन तथा त्यसमाथि रहेको राजदण्ड आज पहिलोपटक सो स्थानबाट हटाइएको थियो । विगतमा राजाबाट दुवै सदनलाई संयुक्तरूपमा सम्बोधन गर्दा सो सिंहासनबाट सम्बोधन गर्ने परम्परा रहेको थियो ।

गृह पृष्ठ
