जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

April 24, 2006

काठमाडौ लगायत देशभर ब्यापक विरोध-प्रदर्शनहरु, मुलुकभरको जनजीवन तनावग्रस्त

सातदलका नेताहरूद्धारा २५ अप्रिलमा हुने प्रदर्शनहरुको नेतृत्व गर्ने!!!सरकार संकटकाल घोषणा गर्ने तयारीमा
२४अप्रिल२००६(एजेन्सीहरु)-
नेपालमा राजधानी काठमाडौंलगायत देशभर जनताले सरकारद्वारा लगाइएको कर्फ्युको अवज्ञा गर्दै जनआन्दोलनको अठारौं दिन पनि मुलुकभर सफलतापूर्वक ब्यापक विरोध सभा र र्‍याली सम्पन्न गरेका छन् ।यसका साथै सुरक्षाकर्मीको ब्यापक गोली, लाठी, र अश्रुग्याँस प्रहारका पछि पनि हजारौंको संख्यामा सडकमा उत्रिएका जनताले राजाको शुक्रबारको शाही घोषणा जनतालाई भ्रम पार्ने मात्र भएको भनी विरोध जनाएका प्राप्त समाचारहरुमा जनाइएको छ।
त्यसैगरी सञ्चार माध्यमहरुमा उल्लेख भए अनुसार,देशभर ब्यापक विरोध प्रदर्शनहरुका क्रममा बालाजु, बुद्धनगर र कोटेश्वरमा सुरक्षाकर्मीले शान्तिपूर्ण प्रदर्शनमा सहभागी प्रदर्शनकारीमाथी गोली चलाएको छ । शान्तिपूर्ण प्रदर्शन गर्दै कीर्तिपुरबाट कलंकी चोकमा आएको जुलुसमाथि प्रहरीले लाठी चार्ज गरेको थियो ।यसका साथै कलंकीबाट कालीमाटी जाने सडकमा आज काँडे तार विच्छ्याएर अवरोध खडा गरेपछि प्रदर्शनकारीले त्यसालाई फाली दिएका थिए । प्रहरीले अपरान्ह कलंकीमा पुन लाठि चार्ज गरी सय भन्दा बढीलाई घाइते बनाएका छन् । जनपद प्रहरी र सशस्त्र प्रहरीको टोलीले साँझ करिब पाँच बजे तिर १० चक्र भन्दा बढी रवरका गोली र ३० सेल भन्दा बढी अश्रुग्यास प्रहार गरेका थिए ।यसैबीच कलंकीमा प्रहरी उपरिक्षकको नेतृत्वमा दुइ सय बढी र सशस्त्र प्रहरी र शाही नेपाली सेनाका समेत गरी लगभग पाँच सय भन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएका जनाइएको छ।
यसका साथै कलंकीबाट शुरु भएको जुलुस बालाजु चोक पुग्दा प्रहरी उपरिक्षक केदार साउदको नेतृत्वमा रहेको करिब सय जनाको टोलीले लगभग पचास हजारको संख्यामा रहेका प्रदर्शनकारी माथि १० भन्दा बढी अश्रुग्याँसका सेल र लाठि प्रहार गरेका थिए । यसै क्रममा प्रहरी निरिक्षक दीप शम्शेर राणाको टोलीले प्रहरीले वनस्थली र बालाजुको घरघरमा प्रवेश गरेर सर्वसाधारणलाई कुटपीट गरेको थियो । यसैबीच प्रदर्शनकारीले पनि स्वयंभू देखि बालाजुर चोक सम्मको सडकमा २० भनदा बढी रुखहरु ढालेर सडक अवरोध गरेका जनाइएको छ ।
त्यसैगरि प्रहरीसँगको झडपमा अनेरास्ववियूका उपाध्यक्ष रामकुमार बस्नेत, राधिका भण्डारी सहित १२ भन्दा धेरै घाइते भएका छन् । भक्तपुरबाट आएका हजारौं प्रदर्शनकारीलाई सुरक्षाकर्मीले कोटेश्वरमा रोकेपछि झडप भएको थियो । बुद्धनगरमा भएको प्रदर्शनमा पनि सुरक्षाकर्मीले गोली हानेको छ । पत्रकाहरु देखेपछि प्रहरीले ताकी ताकी गोली हानेका एक प्रत्यक्षदर्शीले बताएका छन् । वनस्थलीमा पनि सुरक्षाकर्मीले गोली चलाउँदा ४० जना जति घाइते भएका छन् । यता बागबजारमा प्रहरीले गरेको गोली र लाठी प्रहारबाट आड प्रदर्शनकारी घाइते भएका छन् । यसैबीच बालाजुको प्रदर्शनमा रहेकी कांग्रेसकी गीता पाठकलाई हातपात गर्ने सरकारी भिजीलान्तेलाई जनताले मरणसन्न हुने गरी हातपात गरेका छन् । सडकमा हिड्न नसकेर पछारिएका गृहमन्त्री कमल थापाका सुराकी आलोक शर्मालाई संचारकर्मी र मानव-अधिकारवादीले बचाएका थिए । यसै क्रममा प्रदर्शनकारीको कुटाइबाट घाइते भएका सुराकीले मादक पदार्थ खाएको पाइएको थियो । उनले नेपाल न्यूज साप्ताहिकको परिचय पत्र बोकेका थिए । गोगंबुमा सात दलले सभा गरेका छन् । सभामा सातै दलका नेताहरुले सम्बोधन गर्दै लोकतन्त्र स्थापना नभएसम्म आन्दोलन नतुहिने आश्वासका साथ दललाई एक पटक विश्वास गरेर साथ दिन सवैलाई आग्रह गरेका थिए । यसैबीच नेकपा एमालेका नेता बामदेव गौतम, कांग्रेस महामन्त्री रामचन्द्र पौडेल, प्रजातान्त्रिक कांग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महत र बाममोर्चाका केन्द्रीय सदस्य ऋषि कट्टेलले शान्तिपूर्ण आन्दोलनमा दमन नगर्न सुरक्षाकर्मीलाई आव्हान गरेका सञ्चार माध्यमहरुमा जनाइएको छ।
यसका साथै सात दलका नेताको आव्हान अनुसार विभिन्न जिल्ला सुरक्षाकर्मीका परिवार लोकतान्त्रिक आन्दोलनमा सहभागी भएका पनि थाहा भएको छ । पर्वतबाट प्राप्त समाचार अनुसार सदरमुकाममा “सेना र पुलिसका परिवार” लेखिएका व्यानरसहित आएका शुरक्षाकर्मीका परिवारले शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नगर्न आफ्ना परिवारका सदस्यलाइ अनुरोध गरेका थिए । विरोध र्‍यालिमा कार्यालयका कर्मचारी कार्यालय छाडेर सहभागि भएका थिए ।नेपालगञ्जमा रहेको राजा त्रिभुवनको शालिक तोडफोड गरिएको छ भने बनाएका जनाइएको छ। यसै क्रममा पोखरा उपमहानगर पालिकाका कर्मचारीहरुले आइतबार बिहान जनअस्वीकृत बोर्डका उपमेयर जयलाल पुन सहित तीन कर्मचारीहरुलाई कार्यालय परिसरबाट घोक्रेठ्याँक लगाई दिएका छन् । पोखरा उपमहानगर पालिकाका जनअस्वीकृत उपमेयर पुन र उनका निजी सचिव विश्वराज पौडेल तथा जनअस्वीकृत मयेर भीमसेन थापाका नीजि सचिव राजु ढकाल नगरपालिका कार्यालय प्रवेश गर्न लाग्दा कर्मचारीहरुले उनीहरु कार्यालय प्रवेश गर्न नदिएको उल्लेख छ ।
यसैबीच आफु माहतका कर्मचारीहरुले नगरपालिका प्रवेश गर्न नदिएपछि उपमेयर पुन जिल्ला प्रहरी कार्यालय कास्कीको भ्यान चढेर भागेका थिए । त्यसैगरी ढकाल र पौडेल भने दौडेर ज्यान बचाएका थिए । नगरपालिकाका कर्मचारीहरुले जारी लोकतान्त्रिक आन्दोलनप्रति र्समर्थन जनाउँदै कार्यालयका कामकाज ठप्प पारी कार्यालयमा धर्ना दिनुका साथै सडक ओर्लेर लोकतन्त्रका पक्षमा नाराबाजी गर्दै आएका छन् । यसै क्रममा जनकपुरका सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । जनकपुर समाचारदाताका अनुसार शाही घोषणाको विरोधमा उत्रिएका विद्यार्थीहरुले जनकपुरमा रहेका आधा दर्जन सरकारी कार्यालयमा आज तोडफोड गरी आगजनी गरेका उल्लेख छ।
यसका साथै तोडफोड तथा आगजनी गरिएका कार्यालयहरुमा जिल्ला शिक्षा कार्यालय, पौष्टिक आहारको कार्यालय, जनस्वास्थ्य कार्यालय, जिल्ला ट्राफिक कार्यालय, शिक्षक प्रशिक्षण केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय रहेको छ ।यसै क्रममा सो कार्यालमा रहेका राजारानीको फोटो पनि जलाईदिएको छ ।यसैबीच अन्य दिनको तुलनमा उग्ररहेका सो जुलुसले चार वटा मोटर र्साईकलका साथै आधा दर्जन पसल तोडफोड गरेका छन् । पर्वत समाचारदाताका अनुसार इतिहासमै पहिलोपल्ट पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारमा आइतबार ५० हजार भन्दा बढिको सहभागितामा विरोध प्रदर्शन भएको छ । विरोध र्‍यालिमा सहभागि हुन जिल्लाका ५५ वटै गाविसबाट सर्वसाधारण सदरमुकाम आएका जनाइएको छ।
यसैबीच प्रदर्शनकारीले “शाही सम्बोधन धोका हो, लोकतन्त्रको स्थापना गर, संविधान सभाको चुनाव गर, राजतन्त्र मूर्दावाद” लगायतका नाराहरु लगाउँदै कुश्माबजार परिक्रमा गरी स्थानीय लोकतन्त्रचोकमा आएर सभा गरेको थियो ।यसै क्रममा सभामा शुरक्षाकर्मीका परिवारको उल्लेख्य सहभागिता रहेको थियो । उनीहरु “सेना र पुलिसका परिवार” लेखिएका व्यानरसहित सदरमुकाम आएका थिए । विरोध र्‍यालिमा कार्यालयका कर्मचारी कार्यालय छाडेर सहभागि भएका थिए । सभालाई सम्बोधन गर्दै सात दलका नेताहरुले शाही सम्बोधनमा राजाले जनताको नासो जनतालाई नै फिर्ता गरेको भन्ने शब्दावली शाही षड्यन्त्रको अर्को नवीन रुप भएको बताएका थिए । उनीहरुले जनताको नासो राजमुकुट र नारायणहिटी दरवार भएकोले सो जनतामा हस्तान्तण नभएसम्म आन्दोलन जारी रहने सञ्चार माध्यमहरुमा जनाइएको छ।

यसै क्रममा काभ्रेको बनेपामा यातायात व्यवसायी, उद्योगी र व्यापारीहरुले लोकतन्त्रको माग गर्दै जुलुश प्रदर्शन गरेका छन् ।यसैबीच काभ्रे उद्योग वाणिज्य संघको नेतृत्वमा लोकतन्त्रको पक्षमा नारा लगाउँदै बनेपास्थित वासुचोकबाट सुरु भएको जुलुशले बनेपा नगरपरिक्रममा गरेको थियो । जेसीज, लियो, क्रिकेट क्लब बनेपाले सो विरोधमा साथ दिएको थियो । जुलुशपछि शहिद वासु चोकमा आयोजीत कोण सभामा काभ्रे उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष पूर्ण् पलाञ्चोके, काभ्रे मिनिबस सेवा समितिका अध्यक्ष सुरकृष्ण वैध, नेपाल पत्रकार महासंघ काभ्रे शाखा सभापति इश्वरी ओझा, जेसीज काभ्रेका अध्यक्ष मिलन गुरुङ लगायतले लोकतन्त्र स्थापना नभएसम्म आन्दोलन जारी राख्न सात दललाइ आग्रह गरेका थिए । शाही घोषणा धोका भएको बताउँदै सात दल निकट विद्यार्थीहरुले वनेपामा दिउँसै राँके जुलुश प्रदर्शन गरेका थिए । एक हजार भन्दा बढी विद्यार्थीहरु सहभागी जुलुशले बनेपा नगरपरिक्रमा गरेको थियो । राँके जुलुशलाई प्रहरीले कुनै हस्तक्षेप गरेनन् । कम्प्युटर व्यवासायीहरुले पनि लोकतन्त्रप्रति ऐक्यवद्धता जनाउँदै प्रदर्शन गरे । कम्प्युटर, माउस, किबोर्ड, सीडी लिएर आन्दोलनमा उत्रिएका उनीहरुले बनेपा नगरपरिक्रमा गरेका थिए । यसैबीच नगरपरिक्रमापछि शहिद वासुचोकमा आयोजित सभामा क्यान काभ्रेका अध्यक्ष अमृत पन्त लगायतले बोलेका थिए । यसका साथै महेन्द्रनगर समाचारदाताका अनुसार निरंकुश राजतन्त्र अन्त्यका लागि आन्दोलनको १८औं दिन महेन्द्रनगरमा ३० हजार भन्दा बढी आन्दोलनकारीहरुले शाही घोषणाका विरुद्ध व्यापक नारावाजी सहित प्रदर्शन गरेका छन् । स्थानीय बसपार्कबाट १२ बजे निस्केको विरोध र्‍यालीले नगर परिक्रमा गरेको थियो । प्रदर्शनका क्रममा नगरवासीहरुले घर-घरका छानाबाट फूल र पानी बर्षाएका थिए । चोक-चोकमा एकिकृत भएका आम नागरिकहरुले आन्दोलनलाई थप उर्जा प्रदान गर्न ताली बजाएर स्वागत गरेका जनाइएको छ।
यसका साथै लोकतान्त्रिक आन्दोलनमा नेपाल सडक व्यवसायी श्रमिक संघ, महाकाली-सेती बस तथा मिनि बस व्यवसायी समिति, नागरिक समाज सुडा-दैजी, खेलाडी, कर्मचारी लगायत विभिन्न संघसंस्थाहरुले सहभागिता जनाएका थिए । यसैबीच प्रदर्शनमा सदरमुकाम बाहिरका सुडा, दैजी, झलारी र महाकाली पारीका दोधारा र चाँदनी गाविसका जनताहरुको समेत सहभागिता रहेको थियो । प्रदर्शनकारीहरुले राजा विरुद्ध चर्का नारावाजी गरेका थिए ।महिलाहरु कुच्चो लिएर सडकमा ओर्लिएका थिए । महिला अधिकार मञ्च र थारु महिला मञ्चको संयुक्त आयोजनामा विरोध जुलुस निकालिएको थियो । विहान ११ बजे मदन चोकबाट निस्केको महिला जुलुसले हात-हातमा कुच्चो समातेर राजतन्त्र विरुद्धका नारा सहित बजार परिक्रमा गरेको सञ्चार माध्यमहरुमा जनाइएको छ।
यसै बीच अर्को प्राप्त समाचारमा जनाइए अनुसार, कैलालीको अत्तरियामा स्थानीय यूवाहरुले आन्दोलनकारीहरुका लागि निशुल्क भोजनको व्यवस्था गरेका छन ।यसका साथै विगत १५ दिन देखि स्थानीय यूवाहरुले आन्दोलनका सहभागी र पैदलयात्रुहरुलाई गरी १ हजार ३ सय भन्दा बढीलाई निशुल्क भोजन गराएका छन । अत्तरिया यूवा समाजको पहलमा निशुल्क भोजन खुवाउने कार्य भइरहेको हो । आन्दोलनरत यूवा विद्यार्थीहरु महेन्द्रनगरका मण्डलेहरुको खोजी गरिरहेका छन् । आफूलाई कट्टर राजावादी मान्नेहरुको खोजी गरी कालोमोसो र जुत्ताको माला लगाई बजार घुमाउने योजना यूवाहरुले जारी राखेका छन् ।नुवाकोट समाचारदाताका अनुसार प्रर्दशनकारीहरुले विदुर नगरपालिका, जिविस कार्यालय लगायतका सरकारी कार्यालयमा आक्रमण गरी क्षति पुर्‍याएका छन् । आन्दोलनकारीले बिदुर नगरपालिकामा प्रवेश गरी कार्यालयका कम्प्यूटर, मेयर कमानसिंह लामा, उप मेयर मिनाकुमारी तमाङ तथा कार्यकारी अधिकृत कृष्णकुमार निरौलाको कार्यकक्षमा प्रवेश गरी सम्पूर्ण सामान कार्यालयको चउरमा ल्याई जलाएका उल्लेख छ ।
यसै क्रममा आन्दोलनकारीहरुले जिल्ला विकास समितिमा पनि व्यापक तोडफोड भएको छ । मालपोत कार्यालय, घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा समेत प्रवेश गरी कार्यालयको भौतिक सामाना क्षति पुर्‍याएका छन् ।यसका साथै नगर पालिका प्रवेश गर्ने आन्दोलनकारीलाई नेपाल टेलिकममा रहेका सैनिकले कुटपिट गरी र्घाईते वनाएका छन् जिलिङ गाउं विकास समितिका विरोध पुडासैनीलाई सैनीकले कुटपीट गरी र्घाईते वनाएका हुन् । उनलाई तत्काल नेपाल रेडक्रस सोसाइृटी नुवाकोटवाट खटिएका उपचार टोलीले प्राथमिक उपचार गरेका थिए । पुडासैनीको छातीमा चोट लागेको थियो ।यसैबीच नेपालगन्ज समाचारदाताका अनुसार प्रदर्शनकारीहरुले नेपालगन्जको केन्द्र विन्दुमा रहेको राजा त्रिभुवनको शालिकलाई क्षत्रि्रस्त बनाएका उल्लेख छ ।
यसका साथै प्रदर्शनकारीहरुले यस अघि नेपालगन्जमा रहेका राजा स्व. राजा महेन्द्र, रत्न, राजा ज्ञानेन्द्र र युवराज पारसका शालिक र बोर्डहरु क्षत्रि्रस्त तुल्याई सकेका छन् ।यसका साथै प्रदर्शनकारीहरुले राजा र रजौटाका नेपालगन्जमा रहेका सबै शालिक र बोर्डहरुलाई क्रमशः क्षत्रि्रस्त तुल्याउँदै जाने चेतावनी दिएका छन् । यसैबीच शाही घोषणाका विरुद्धमा आइतबार किसानहरुले हलो कोदालो सहित प्रदर्शन गरेका छन् । गाउँ गाउँबाट हलो जुवा, कोदालो, ढक्की, फरुवा, कुचो, लिएर किसानहरुको हजारौंको जुलुशले राजतन्त्र विरोधी चर्का नारा लगाउँदै नेपालगन्जको बजार परिक्रमा गरेको थियो । प्रदर्शनका क्रममा किसानहरुले मुलुकमा लोकतन्त्र नआए सम्म आफ्ना अधिकारहरु स्थापित नहुने हुँदा लोकतान्त्रिक आन्दोलनमा निरन्तर सहभागी हुने घोषणा गरेका जनाइएको छ।
यसैबीच वीरेन्द्र चोकमा शुरु भएको जुलुश विपि चोक, गणेशमान चोक हुँदै त्रिभुवन चोक, न्यूरोड, शहिद सेतु विक चोक भएर वीरेन्द्र चोक हुँदै पुष्पलाल चोकमा सभामा परिणत भएको थियो । यसैबीच जुलुशमा भुमिहिन, किसान, सुकुम्वासी, कमैयाको सहभागिता रहेको थियो ।यसका साथै बाँके जिल्लाका ४६ गाविस मध्य अधिकांश गाविसका जोताहा, हरुवा, चरुवाहरु जुलुशमा सहभागी थिए । त्यस मध्य खजुरा क्षेत्रबाट आएकाहरुको जुलुशमा बाहुल्यता रहेको थियो । उनीहरुले आफ्ना अधिकारहरुको मागलाई विशेष प्राथमिकता दिएपनि शाही घोषणा नस्विकार्न दलहरुलाई आग्रह गर्दै नारावाजी गरेका उल्लेख छ।
यसै क्रममा लोकतान्त्रिक आन्दोलनको क्रममा प्रदर्शन भईरहेकै बेला हृदयघात भई मृत्यु भएका महेन्दं्र बहुमुखी क्याम्पस नेपालगन्ज प्राध्यापक संघका अध्यक्ष हरिराज अधिकारीलाई आन्दोलनरत सात दलले नेपालगन्जका पहिलो लोकतान्त्रिक शहिद घोषणा गर्दै उहाँको स्मिृतिमा ट्राफिक चोकलाई सहीद हरि चोक घोषणा गरेका उल्लेख छ । यसका साथै समाचारदाता अनुसार ५ दिन अगाडि देखि प्युठान जिल्ला प्रहरी कार्यालयमा बस्दै आएकका जिविस सभापति सोमबहादुर बस्नेतले आइतवार जिल्ला छोडेर प्रहरीको हेलिकप्टरमा काठमाडौं गएका सञ्चार माध्यमहरुमा जनाइएको छ।

यसका साथै अर्को प्राप्त समाचारमा जनाइए अनुसार,राजालाई दिइएको चौबीस घण्टे अल्टिमेटम समाप्त भएपछि सात राजनीतिक दलले आन्तरिक रुपमा सडकबाटै संसद पुनःस्थापना र सरकार गठन गर्ने निर्णय गरेको बुझिएको छ भने सरकार चाँडै देशमा संकटकाल घोषणा गर्नेतयारीमा लागेको बताइएको छ ।यसैबीच १८ दिनयता देशभर जारी राजा विरोधी प्रदर्शनहरूमा मुख्य नेताहरू नआएका र माओवादीहरूले सडक संघर्षको नेतृत्व गरेका भनि टिप्पणी भैरहँदा सातैदलका नेताहरूले २५अप्रिल मंगलवारको विरोधको सातैदलका नेताहरूले नेतृत्व गर्ने भएका छन्।यता सात दलले २५अप्रिलमा चक्रपथमा गर्ने प्रदर्शनमा सरकारले चर्को दमन गरेको खण्डमा माओवादीले बाध्य भएर सहर पस्ने चेतावनी दिएको छ । तर, सबै समाचारको स्वतन्त्र रुपमा पुष्टि भने भइनसकेको सञ्चार माध्यमहरुमा जनाइएको छ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/04/24/npl-2/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons