‘नेताहरु होशियार!’
साभार- हिमालखबर
आइतबार, २३ अप्रिल २००६
कोइराला निवास महाराजगञ्जमा आज अपरान्ह सात दलका शीर्ष नेताहरुको बैठक चलिरहेका बेला निवासको मूलद्धारमा एकत्रित भएका कार्यकर्ताहरुले शाही घोषणाको विरोधमा नारबाजी गरेका थिए। नाराबाजी नरोकिएपछि दलका शीर्ष नेताहरु घरको छतमा आएर आन्दोलन जारी रहने आश्वासन दिएपछि मात्र आन्दोलनकारीहरु साम्य भएको त्यहाँबाट हाम्रा सम्वाददाताले बताएका छन्। उनीहरुले ‘शाही घोषणा धोका हो, नेताहरु होशियार’ भन्ने नारा लगाएका थिए।
त्यसैगरी बैठक चलिरहेकै बेला युरोपियन युनियनका प्रतिनिधिहरुले पनि नेताहरुसँग भेटेका थिए। ८ बैशाखको शाही घोषणालाई समर्थन गरेको युनियनका प्रतिनिधिहरुले कोइराला निवासमा जम्मा भएका पत्रकारहरुसँग प्रतिक्रिया दिन अस्वीकार गरेपनि नेताहरुको धारणा बुझ््न आएको बताएका थिए।
चक्रपथ र शहरका भित्री भागहरुबाट निस्केको लाखौँको स्वःस्फूर्त जुलुश रत्नपार्क जान खोज्दा हजारभन्दा बढी संख्यामा तैनाथ सेना र प्रहरीले उनीहरुलाई सिंहदरबारबाट माइतीघर हुँदै त्रिपुरेश्वरतिर फर्काइदिएपछि त्रिपुरेश्वर पुगेपछि सुरक्षाकर्मीले हस्तक्षेप गरेका थिए। सुरक्षाकर्मीको हस्तक्षेपमा परि केही आन्दोलनकारीहरु घाइते भएका र बनेपा र भक्तपुरदेखि आएको लाखौँको मासमा सुरक्षाकर्मीले हस्तक्षेप गरेपछि आन्दोलनकारीहरु शहरका गल्लीगल्लीमा पसेको हाम्रा सम्वाददाताले बताएका छन्।
त्यसैगरी गङ्गबुबाट आएको हजारौँको जुलुश अस्कल अगाडि आइपुगेको छ भने चावहिलतिरबाट आएको विशाल जुलुश मैतीदेवीमा आइपुगेपछि सुरक्षाकर्मीले हस्तक्षेप गरेका छन्। घाइते कति भए यकिन हुन सकेको छैन। विभिन्न ठाउँका जुलुशहरुमा दलका युवानेताहरुले नेतृत्व दिएका छन्। त्रिपुरेश्वरमा एमाले केन्द्रीय सदस्य शङ्कर पोखरेल र मैतीदेवीमा गोकर्ण विष्टले नेतृत्व दिइरहेको देखिन्थ्यो।
उता ललितपुरबाट निस्केको हजारौँ हजारको जुलुश माइतीघरतिर अघि बढ्दै छ। उनीहरु निकै उत्साहपूर्वक राजा विरोधी नाराहरु लगाएर अगाडि बढिरहेको हामीलाई खबर प्राप्त भएको छ। आजको जुलुशमा आन्दोलनकारीहरु हिजो साँझ्को राजाको सम्बोधनबाट रिसाएका र त्यसलाई नमान्न सात दलका नेताहरुलाई चेतावनी दिइरहेका छन्।

गृह पृष्ठ
