दलहरुद्धारा देश-व्यापीरुपमा गरिएका अनेकौ प्रदर्शनहरूमा प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु, श्री ५ ज्ञानेन्द्रबाट भूतपूर्व प्रधानमन्त्रीद्वयसंग भेटवार्ता
१८अप्रिल२००६(एजेन्सीहरु)-
नेपालमा सात राजनीतिक दलहरूले जारी राखेका देशव्यापी आमहड्तालको १२ औं दिन बाराको निजगढमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको गोलीबाट एकजना प्रदर्शनकारीको मृत्युभएको प्राप्त समाचारहरुमा जनाइएको छ।
त्यसैगरी नेपालका सञ्चार माध्यमहरुमा उल्लेख भए अनुसार,बाराको निजगढमा भएको प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोली लागेर निजगढ निवासी २५ वर्षिय हिरालाल गौतमको मृत्यु भएको छ । सो स्थानमा प्रहरीले २ सय ५० राउण्डभन्दा बढी फायर गरेको थियो । गोली लागि दर्जनौ घाइते भएको बुझिएको छ ।यसैक्रममा घाइतेमध्ये ५ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ। सुदर्शन अर्याल, सुदिप चौलागाईलगायत छन् र घाइतेहरुको वीरगंजमा उपचार भइरहेको छ ।
त्यसैगरी प्रहरीले गोली प्रहार गर्दा चितवनमा ४ जना घाइते भएका छन् । चितवनमा घाइते हुनेहरुमा गणेश श्रेष्ठ, सुजन गुरुङलगायत रहेको बुझिएको छ। त्यसैगरी पर्साको वीरगंजमा पनि सुरक्षाकर्मीले गोली प्रहार गरेका छन् ।यसै बीच यता राजधानीको गंगबु, कलंकी, बल्खु, चावहिल, जोरपाटी, पाटन, मंगलबजार, ताहचल, भोटाहिटीलगायतका क्षेत्रमा प्रदर्शन गरेका छन् । भोटाहिटीमा दिउँसो महिलाहरुले निषेधाज्ञा तोड्दै निकालेको जुलुसमा सुरक्षाकर्मीले हस्तक्षेप गरी नेपाली कांग्रेसकी अम्बिका बस्नेत, पुष्पा भुषाललगायत १३ जना महिलालाई गिरफ्तार गरेको छ । सो क्रममा दर्जनौ घाइते भएका छन् । त्यस्तै क्षेत्रपाटीमा पनि प्रदर्शन भएको छ । सो क्रममा सुरक्षाकर्मीले लाठी र अश्रुग्यास प्रहार गरी दर्जन बढीलाई घाइते बनाएको कांग्रेसले जनाएको छ। त्यस्तै गंगबुमा निस्केको जुलुस ठमेलतिर अघि बढेको थियो । त्यस्तै बिहान दलहरुले गंगबुमा निकालेको जुलुस बालाजु आउने क्रममा सुरक्षाकर्मीले हस्तक्षेप गर्दा दर्जन बढी प्रदर्शनकारी घाइते भएका जनाइएको छ।
यसैक्रममा किर्तिपुरमा पनि विशाल जुलुस निस्केको थियो । त्यस्तै मध्यराजधानीको बुद्धनगरमा महिलाहरुले थाल, डाडु पन्युसहितको जुलुस निकालेका थिए । त्यस्तै लोकतान्त्रिक पर्यटन समाजले ठमेलमा गरेको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले हस्तक्षेप गरी समाजका संयोजक दिपक महत र सदस्यहरु जयनाथ भण्डारी र धावा लामालाई गिरफ्तार गरेको छ । पर्यटन व्यवसायीहरुले त्यहाँ गरेको हातेमालो जुलुमा सुरक्षाकर्मीले अन्धाधुन्ध लाठी प्रहार गर्दै चार राउण्ड बढी अश्रुग्यास प्रहार गरेको थियो । सो क्रममा २ दर्जन बढी घाइते भएका छन् । त्यसैगरी नेवार समुदायबाट गठित लोकतान्त्रिक नेवा संघर्ष समितिले बिहान काठमाडौको टेंगालबाट निकालेको जुलुस नरदेवी हुँदै काष्ठमण्डपमा पुगेर सभामा परिणत भएको थियो । सो समितिले साँझ लगनमा धर्ना कार्यक्रम गरेको छ । चावहिलको गोपीकृष्ण हल नजिक विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । सो क्रममा विद्यार्थीहरुले एउटा ट्याक्सीमा आगजनी गरेका समाचार जनाइएको छ।
यसैबीच प्राप्त समाचार अनुसार ललितपुरको मंगलबजारको प्रदर्शनमा सुरक्षाकर्मीले रबरको गोली चलाउँदा १२ वर्षा शंभु खड्का गम्भीर घाइते भएका छन् । सो क्रममा अन्य दर्जनौ घाइते भएका छन् । त्यस्तै सुन्धाराबाट बिहान निस्केको जुलुसले मंगलबजार, पाटनढोकालगायत विभिन्न भाग परिक्रमा गरेको थियो । त्यस्तै भक्तपुरको सानुब्यासीबाट निस्केको जुलुस, ठुलो ब्यासी मुलढोका, कमलविनायक च्याम्बासिंह हुँदै जगातीमा पुगेर कोणसभामा परिणत भएको थियो । राजधानीमा सुरु भएको प्रदर्शनको क्रम विकेन्द्रीत हुँदै टोल टोल पुगेको छ ।यसै बीच दलहरुले यसलाई माध्यम बनाएर अब चाँडै टोल सुरक्षासमिति गठन गर्ने जनाएका छन् । त्यसैगरी महेन्द्रनगरस्थित समाचारदाताका अनुसार, लोकतन्त्रवादी आन्दोलनकारीहरुले कञ्चनपुरको दोश्रो ठुलो बजारका रुपमा रहेको झलारी गाविसको झलारीमा रहेका ५ वटा सरकारी कार्यालयका बोर्डहरुमा “श्री ५ को सरकार” मेटाएर “नेपाल सरकार” लेखेका छन् । कृषि सेवा केन्द्र झलारी, पशु सेवा केन्द्र झलारी, झलारी हेल्थ पोष्ट, झलारी आर्युवेदिक औषधालय र शिक्षा श्रोत केन्द्रका बोर्डहरुबाट श्री ५ को सरकार मेटाएर आइतबार आन्दोलनकारीहरुले “नेपाल सरकार” लेखका संचार माध्यमहरुमा उल्लेख छ ।
यसैक्रममा आन्दोलनकारी यूवाहरुले आमहड्ताललाई व्यापक बनाउँदै झलारीदेखि कलुवापुरसम्मको महेन्द्रराजमार्ग खण्डमा निरंकुशताकेा विरोध र लोकतन्त्र बहालीको माग गर्दै राजमार्गमा प्रदर्शन समेत गरेका छन् । यसैगरी महेन्द्रनगरका उद्योगी व्यवसायीहरुले घाइते आन्दोलनकारीहरुका लागि उपचार कोष स्थापना गरेर घाइतेहरुको उपचारमा सहयोग गर्न शुरु गरेका छन ।त्यसैगरी सोमबारसम्म सो कोषमा १८ हजार ६ सय ८० रुपैयाँ संकलन भइसकेको छ ।यसै बीच ताप्लेजुङ्गस्थित समाचारदाताले आम हडुतालका कारण संचालित एकमात्र शाही नेपाल वायु सेवा निगममा नियमित टिकट पाउन कर्फ्युलाई समेत तोड्नु परेको जनाए समाचार जनाइएको छ।
यसैगरी बिहान ४ बजेसम्म लागु हुने कर्फ्यूको कुनै परवाह नगरी यात्रुहरुले ३ बजेदेखिनै शानेवानिको कार्यालयमा कुरेर बस्न थालका थिए । ३.०० बजेदेखि ५.०० बजेसम्म उपस्थित हुनेले मात्र टिकट पाए आउँदो २३ गतेको उडानको लागि टिकट लिन त्यहाँ पुगेका स्थानीय विकास गौतमले भन्नुभयो ।यसै बीच झापा समाचारदाताले सोमबार पनि सदाझैं निरंकुशताको विरोध गर्दै जिल्लाका विभिन्न स्थानमा प्रदर्शन भएको जनाएका छन् ।यसैक्रममा भद्रपुर र चन्द्रगढीमा जनताहरुले स्वस्फुर्तरुपमा साइकल र्याली भएको संचार माध्यमहरुमा उल्लेख छ ।
त्यसैगरी प्राप्त समाचार अनुसार,विर्तामोडमा पनि स्वस्फुर्त प्रदर्शन भएको छ भने जिल्लाका भित्रि गाउँहरु जस्तै शिवगञ्ज, महाभारा, कोहवारा आदिमा पनि प्रदर्शन भएको छ । त्यस्तै इलामको सदरमुकाममा महेन्द्ररत्व क्याम्पसका प्राध्यापकहरुको आयोजनामा प्रदर्शन भएको छ । सोमबारको यस प्रदर्शनपछि आयोजित कोणसभालाई प्राध्यापक संघका सभापति देवेन्द्र गुरागाईले सम्बोधन गरेका थिए । धनगढी समाचारदाताले बाह्रौ दिन आज धनगढीमा लोकतान्त्रिक श्रष्ठाहरुले छुट्टै व्यंग्य तथा निरंकुशता विरोधी साहित्य तथा सांगितिक कार्यक्रम प्रदर्शन गरेको जनाएका छन् ।यसै बीच धनगढीको नयाँ घोषित स्वतन्त्र चौकमा यहाँका लोकतान्त्रिक श्र्रष्टाहरुले आजाव नामक कार्यक्रम अन्तर्गत निरंकुशतामाथि चोटिलो प्रहार गर्दै लोकतन्त्रवादी साहित्य र संगित प्रस्तुत गरेका थिए ।त्यसैगरी नेपालगन्ज समाचारदाताले पनि यहाँका वकिलहरु पनि बाह्र दिनदेखि संचालन भइरहेको लोकतान्त्रिक आन्दोलनप्रति एक्यबद्धता जनाउदै सोमबार उल्टो कोट लगाएर दिउँसै लालटिन बालेर सडकमा उत्रिएको जनाएका समाचार जनाइएको छ।
यसैगरी पुनरावेदन बार नेपालगन्जको आब्हानमा सोमबार दिउँसो सयौं कानुन ब्यवसायीहरुले लोकतन्त्रको माग गर्दै प्रदर्शन गरेका हुन् । यसैबीच नेपालगन्जका सबै कानुन ब्यवसायीहरुले सोमबार जिल्ला र पुनरावेदन अदालतका बेञ्चहरु वहिष्कार गरेका कारण अदालतमा न्याय सम्पादन सम्बन्धी कामहरु ठप्प भएको पुनरावेदन बार नेपालगन्जका अध्क्षय सुरेशकुमार पौडेलले बताउनुभयो । जनकपुर समाचारदाताले मैथली महिलाहरु घुम्टो छोडी आन्दोलनमा ओर्लेको जनाए ।त्यसैगरी लोकतन्त्रप्राप्ति भन्दा ठूलो धर्म कुनै अन्य नभएको भन्दै सोमबारदेखि आन्दोलनमा आर्लेका छन् ।यसैक्रममा उनीहरुले सोमबार कुचो जुलुस निकालेका थिए । यसैगरी लोकतन्त्रको र्समर्थनमा माओवादीहरुले धनुषा जिल्लाको ग्रामिण क्षेत्रमा जुलुस प्रदर्शन गरेको छ । धनुषाको उत्तरी पश्चिम क्षेत्रको बटेश्वर गाविसमा निकालेको जुलुसमा हजारौंको सहभागिता रहेको थियो ।यसै बीच लोकतन्त्रको पक्षमा नारा लगाउदैं निस्केको जुलुसमा सात दलका कार्यकर्ताहरुको साथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राणा) का कार्यकर्ताहरुको समेत सहभागिता रहेको उल्लेख छ ।
त्यसैगरी हेटौंडा समाचारदाताले लोकतन्त्र प्राप्तिका लागि सात राजनीतिक पार्टीको आव्हानमा भई रहेको आन्दोलनको र्समर्थन गर्दै सोमबार बिहानदेखि जुलुश र सभा भयो भनेका छन् । बिहान आन्दोलनको र्समर्थनमा आन्दोलनकारी पार्टीहरुले शुरु गरेको सभा र जुलुशलाई नेवार समुदाय, महिलाहरु र पेशाकर्मीहरुले छुट्टा-छुट्टै सभा र जुलुश गरेर साँझसम्म निरन्तरता दिएका थिए ।यसै बीच महिलाहरुले डोको-नाम्लो, कुचो,डाडु-पन्यौ लिएर थाल ठटाउँदै लोकतन्त्रको र्समर्थन र निरङ्कुशतन्त्रको विरोधमा नारा लगाउँदै हेटौंडा बजार परिक्रमा गरेका थिए । आन्दोलनमा सहभागी हुन जिल्लाका दुर्गम गाउँहरुवाट महिलाहरु आएका समाचार जनाइएको छ।
यसै बीच अर्को प्राप्त समाचारमा जनाइए अनुसार, श्री ५ ज्ञानेन्द्रबाट सोमवार भूतपूर्व प्रधानमन्त्रीद्वय कृष्णप्रसाद भट्टराई तथा सुर्यबहादुर थापालाई भेटवार्ता गरिएको छ भने आउंदा दिनहरुमा अन्य भूतपूर्व प्रधानमन्त्रीहरुसंग पनि भेटघाटको क्रम अगाडी बढाइने अपेक्षा गरिएको छ।त्यसैगरी आइतवार मन्त्री परिषद्का उपाध्यक्षद्वय डाक्टर तुलसी गिरी तथा किर्तिनिधि विष्टसंग संयुक्तरुपमा भेट गरीएको आइतवार नै श्री ५ बाट संयुक्त राज्य अमेरीका, भारत तथा चिनका काठमाडौंस्थित राजदूतहरुलाई पनि भेटवार्ता गरिएको संचार माध्यमहरुमा जनाइएको छ ।

गृह पृष्ठ
