सात राजनीतिक दलको आन्दोलनमा सम्पूर्ण क्षेत्रबाट सक्रिय समर्थन, देशभरको जनजीवन तनावग्रस्त
११अप्रिल२००६(एजेन्सीहरु)-
नेपालमा सरकारी निषेधाज्ञाका बावजुद सात राजनीतिक दलको आन्दोलनमा सक्रिय र्समर्थन र ऐक्यवद्धता जनाउँदै आमहड्तालको पाँचौ दिन सरकारले ‘थप कडा’ पारेको कर्फ्यु अवज्ञा गर्दै काठमाडौं लगायत देश व्यापीरुपमा कर्फ्यु अवज्ञा गर्दै गरिएका अनेकौ प्रदर्शनहरूमा राजनीतिक समाज,अधिकारवादी तथा पेसाकर्मीसहित हजारौं नेपालीहरुको उपस्थिती देखिएको छ र देशभरको जनजीवन तनावग्रस्त रहेको प्राप्त समाचारहरुमा जनाइएको छ।
यसैगरी समाचारहरुमा उल्लेख भए अनुसार, सरकारी कर्मचारीहरुले कामकाज ठप्प पारी लोकतन्त्रिक आन्दोलनप्रति ऐक्यवद्धता जनाउने क्रम बढ्दो छ ।साथै सबै तह र तप्काका मानिसहरुले लक्ष्यमा नपुगुन्जेल आन्दोलन नरोक्न आग्रह गर्दै सक्रिय र्समर्थन पनि जनाएको बताएका छन् । आमहड्ताल र कर्फ्युका कारण देशभर जनजीवन प्रभावित बनेको छ । सिरहाको लाहानमा स्थानीय संचारकर्मी, मानवअधिकारकर्मी, शिक्षक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरुले बिहानै जुलुस प्रदर्शन गरेका छन् । साथै नेपाल वित्तीय संस्थान कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ लाहानले लोकतन्त्रिक आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै आज राष्ट्रिय वाणिज्य बैक लाहानमा काम ठप्प पारेका छन् । नेपाल टेलिकम लाहान शाखाका कर्मचारीहरुले पनि आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै काम ठप्पा परेका समाचारहरुमा जनाइएको छ।
यसैक्रममा ग्रामीण क्षेत्र सनैठामा नागरिक समाज सिरहाका संयोजक रामरिझन यादवको नेतृत्वमा र्सवसाधारणको सहभागितामा निरंकुशतन्त्रको विरोधमा प्रदर्शन गरिएको समाचार छ । नागरिक समाजले गाउँगाउँबाट लोकजागरण अभियान सुरु गरेका छन् । त्यस्तै सप्तरीको राजविराजका कर्मचारीहरुले पनि सरकारी काम ठप्पा पारी लोकतान्त्रिक आन्दोलनलाई निरन्तरता दिएका छन् ।साथै राष्ट्रिय वाणिज्य बैक, नेपाल बैक र कृषि विकास बैकका कर्मचारीहरुले विहान १० बजेदेखि नै काम ठप्प पारेका थिए । स्थानीय प्रशासनले पटक पटक राजश्व दाखिला गर्न पठाएपनि कर्मचारीहरुले गेटबाट कसैलाई छिर्न नदिएको बताइएको छ। यस्तै नेपाल टेलिकम राजविराजका कर्मचारीहरुले पनि काम ठप्प पारेका छन् । नगरपालिकाका कर्मचारीहरुले पनि एम्बुलेन्स, बारुण यन्त्र र स्वास्थ्य सेवालगायत अत्यावश्यक सेवा बाहेक सबै काम ठप्प पारेका समाचार माध्यमहरुमा जनाइएको छ ।
त्यसैगरी समाचारहरुमा उल्लेख भए अनुसार,विराटनगरमा आन्दोलनकारीहरुले दिउँसो गरेको प्रदर्शनमा सेनाले हस्तक्षेप गरी ५ जनालाई गिरफ्तार गरेको छ । साथै प्रदर्शनकारीहरुले स्थानीय देवकोटाचोकमा ठुला पाइप राखेर सडक अवरुद्ध पारेका थिए । उनीहरुले नगरपालिका वडानम्बर ११ मा समेत तालाबन्दी गरेका छन् । यसैक्रममा तालाबन्दीका कारण रङ्गेलीका आधा दर्जन सरकारी कार्यालय आज बन्द भएका छन् । महेन्द्र राजमार्ग अर्न्तर्गत टागीहाट गाविसमा २०४६ सालपछिकै सबैभन्दा ठुलो प्रदर्शन भएको जनाइएको छ। त्यहाँ चौध गाविसका हजारौ र्सवसाधारण सहभागी जुलुस निस्किएको थियो । त्यस्तै झापाको काँकडभिट्टामा पनि बिहान प्रदर्शन भएको उल्लेख छ। नेपाल बैक लिमिटेडका कर्मचारीहरुले तालाबन्दी गरी काम ठप्प पारेका छन् भने चन्द्रगडी बजारमा पनि प्रदर्शन भएको बुझिएको छ । कर्मचारीको हड्तालका कारण राजश्व उठाउने कार्यसमेत ठप्प भएको छ । त्यसैगरी मोरङको रङ्गेलीमा सरकारी दमनको विरोधमा नाङ्गो जुलुस प्रदर्शन गरेका छन् ।साथै कम्मरमाथिको भागमा निःवस्त भइ उनीहरुले बजार परिक्रमा गरेका थिए । मोरङकै बेलबारी, उर्लाबारी जस्ता स्थानमा दल, पेसाकर्मी, नागरिक समाज तथा र्सवसाधारणको सहभागितामा प्रदर्शन र सभा आयोजना गरिएका जनाइएको छ।
यसै बीच धनकुटामा दलहरुले अहिलेसम्मकै विशाल जुलुस प्रदर्शन गरेका छन् । इलाममा पनि विशला सहभागिताका साथ प्रदर्शन र सभा गरिएको हाम्रा प्रतिनिधिले जनाएका छन् । दलहरुको अगुवाइमा भएको जुलुस र रत्नचोकबाट बजारको माथिल्लो भागको मुख्या चोकमा पुगेर सभामा परिणत भएको थियो ।यसैक्रममा प्रदर्शनमा नेता कार्यकर्ताका अतिरिक्त अधिकारकर्मी, पेसाकर्मी, व्यापारी, गृहिनीलगायत र्सवसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । सभामा वक्ताहरुले मुलुकभर जागेका जनतामाथि सरकारले नाङ्गो चरित्र देखाउँदै बर्बर दमन गरेको, हत्या गरेको तथा ज्यादत्ति गरेकोप्रति भर्त्सना गरेका थिए ।साथै सात दलले आव्हान गरेको आमहड्तालका कारण आज पनि उदयपुरको जनजीवन प्रभावित भएको छ । बिहानदेखि दलहरुले गाइघाट बजारमा प्रदर्शन गरेका उल्लेख छ।
त्यसैगरी उदयपुर सिमेन्ट उद्योगका सैयौ मजदुरले लोकतन्त्रको माग गर्दै प्रदर्शन गरेका छन् । देशकै ठुलो सिमेन्ट उद्योगका मजदुरहरुले उद्योगको मुल गेटमा ताला लगाएका कारण आज पनि उद्योगका सबै काम बन्द रह्यो । तेह्रथुमको चुहानडाँडामा पनि आन्दोलनकारी दल, पेसाकर्मी तथा र्सवसाधारणको सहभागितामा जुलुस तथा सभा आयोजना गरिएको छ ।
यसैगरी चितवनमा प्रदर्शनकारीहरुले पनि प्रदर्शन जारी राखेका छन् । यसैक्रममा नारायणगढ बजार र भरतपुर नगर क्षेत्रका विभिन्न स्थानमा व्यापक प्रदर्शन भएका छन् । हजारौ आन्दोलनकारीलाई नियन्त्रणमा लिन गर्न प्रहरीले नभ्याएपछि नारायणगढ बजारभर सेना परिचालन गरिएको छ ।साथै सुरक्षाकर्मीको गोली लागी मृत्यु भएकी तुलसी क्षेत्रीलाई पहिलो लोकतान्त्रिक सहिद नारा लगाउँदै प्रदर्शनकारीहरुले दिनभर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीलाई रोक्दा प्रहरीले हवाइ फायर समेत गरेको छ । टाडी बजारबाट नारायणगढ बजार आउँदै गरेको जुलुसमाथि सुरक्षाकर्मीले गोली चलाउँदै एक जना घाइते भएका छन् । झडपको क्रममा दर्जनौ आन्दोलनकारी घाइते भएका उल्लेख छ।
यसैक्रममा भरतपुरस्थित अस्पतालका सबै चिकित्सकहरुले लोकतन्त्रको आन्दोलनलाई र्समर्थन गर्दै हातम कालोपटि्ट बाँधेर काम गरेका छन् ।साथै पोखरामा नगरका चोक चोकमा कर्फ्यु अवज्ञा गर्दै जुलुस प्रदर्शन भएको छ । जुलुस नियन्त्रण गर्न व्यापक रुपमा सुरक्षाफौज परिचालन गरिएको छ । ठाउँठाउँमा हस्तक्षेप गर्दै सुरक्षाकर्मीले प्रदर्शनकारीले कर्फ्यु अवज्ञा गरेको भन्दै बटुवाहरुमाथि निर्मम कुटपिट गरेका छन् र कुटपिटबाट दर्जनौ घाइते भएका संचार माध्यमहरुमा जनाइएको छ ।

गृह पृष्ठ
