ईलाममा माओवादी आक्रमण, २ सर्वसाधारण सहित ९ को मृत्यु
बेनुपराज भट्टराई
इलाम, फागुन २२ - माओवादी आक्रमणपछि आइतबार राति यहाँ भएको भिडन्तमा दुई सर्वसाधारण सहित नौको मृत्यु भएको छ । मारिएकामा तीन सुरक्षाकर्मी र चार माओवादी छन् । चार सैनिकसहित १५ सुरक्षाकर्मी घाइते छन् । माओवादीले ८७ कैदी भगाएका छन् ।
राजधानीमा रक्षा मन्त्रालयले ३१ माओवादीको मत्यु भएको जनाएको छ । स्थानीयवासीलाई उद्धृत गर्दै मन्त्रालयले माओवादीले साथीहरूका शव इलामको सीमावर्ती इलाकामा पर्ने पाँचथरको राँके क्षेत्रमा गाडेको जनाएको छ ।
करिब ६ घन्टा लामो भिडन्त क्रममा रेडक्रसमार्गस्थित आफ्नै घरमा सुतिरहेका ८२ वषर्ीय हर्कबहादुर राईको सुरक्षाकर्मीतर्फको गोली लागी मृत्यु भएको पारिवारले बताएको छ । पाँच सन्तानका अभिभावक राईको घाँटीको पछिल्लो भागमा गोली लागेको थियो । घरको भित्ता छिचोलेर आएको गोलीले उनका छोरा उत्तमको खुट्टामा चोट लागेको छ । मन्त्रालयको विज्ञप्तिमा माओवादीले उनको हत्या गरेको उल्लेख छ ।
मृत्यु भएका अर्का सर्वसाधारण गढीथुम्काका ३५ वषर्ीय मनोज कोइराला हुन् । भिडन्त चर्किएपछि बच्न कोठाको कुनामा लुकेका कोइरालालाई माओवादीको गोली लागेको थियो । पति वियोगले विह्वल गंगाको सोमबार अबेरमात्र होस खुलेको थियो । खेतीपातीबाट परिवार पाल्दै आएका कोइरालाको मृत्युुपछि तीन नाबालक छोरी र पत्नी बेसहारा भएका छन् । मन्त्रालयले कोइरालाको हत्या माओवादीले गरेको बताएको छ ।
भिडन्तमा गढीथुम्कास्थित सेनाको भवानी दल गणमा कार्यरत लप्टन विरोध बान्तवा, पुनरावेदन अदालत परिसरमा ड्युटी गरिरहेका प्रहरी जवान फणीन्द्र खवास र प्रहरी हवल्दार मानवीर तामाङको पनि मृत्यु भयो । तामाङलाई उपचारार्थ विराटनगर लैजाँदै गर्दा मृत्यु भएको थियो । घाइतेलाई सोमबार बिहान हेलिकप्टरले उपचारनिम्ति धरान लगेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
महिलासहित सयौंको संख्याका माओवादीले राति करिब साढे नौ बजे आक्रमण थालेका थिए । उनीहरूले सेनाको भवानी दल गण, जिल्ला प्रशासन कार्यालय, मालपोत, अदालत, जिल्ला प्रहरी, पुवाखोला जलविद्युत आयोजनालगायतमा एकसाथ आक्रमण गरेका थिए । भिडन्त बिहान साढे तीन बजेसम्म चलेको थियो । माओवादीले चियाबारी, भीमसेनस्थान, वीरेन्द्रचोक, रेडक्रस मार्ग, नारायणथान, गढी, धोबीधारालगायत ठाउँबाट आधुुनिक हतियारले आक्रमण गरेका थिए । उनीहरूले सुुरुमै कारागारमा ठूल्ठूला विस्फोट गराई पर्खाल भत्काएर कैदी भगाएका थिए । एक सय तीन कैदीमध्ये सोमबार अबेरसम्म १६ सम्पर्कमा आएका छन् । माओवादीले १०/१० जनाको समूह बनाएर भगाएको प्रत्यक्षदर्शीले बताए । आक्रमणपछि कारागारमा लागेको आगो अबेरसम्म निभेको थिएन ।
कारागार परिसरमै बसोबास गर्दै आएका तल्लो तहका कर्मचारीद्वय लोकबहादुर चेम्जोङ र केशरबहादुर चेम्जोङका कच्ची घर पनि जलेर नष्ट भएका छन् । माओवादीले आक्रमणक्रममा आश्रय लिएको ठाउँ र जिल्ला प्रशासनबीच राखिएका रेडक्रसका दुई एम्बुलेन्समा दर्जनौं गोली लागेका छन् । इलाम अस्पतालको एम्बुलेन्सलाई माओवादीले कब्जामा लिइ सोमबार छाडेका थिए । लामो भिडन्तले बजार क्षेत्रका दर्जनौं घरका भित्ता प्वाल परेका छन् । झ्यालका सिसा छेडेर उछिट्टिएका गोलीले भित्रका सामान क्षतिग्रस्त भएको पीडितले बताए ।
माओवादीले नवीनचोकस्थित इलाम नगरपालिकाका मेयर धनबहादुर मगरको घरमा आगो लगाएर क्षति पुर्याएका छन् । सदरमुुकाम केही तलको पुवाखोला जलविद्युत् आयोजना सुरक्षार्थ तैनाथ सुरक्षाकर्मीसित पनि माओवादीको भिडन्त भएको
थियो । त्यसक्रममा दुई ट्रान्सर्फमर क्षतिग्रस्त भएकाले सदरमुकाम तथा उत्तरी गाउँमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । गोली र बमका छर्राका कारण टेलिफोनका तार चुँडिएकाले सञ्चार सम्पर्क नियमित छैन । बजार क्षेत्रमा आपूर्ति गर्न बिछ्याइएका खानेपानीका पाइप पनि फुटेका छन् ।
सदरमुकाममा चारैतिरबाट समूह-समूह बनाएर पसेका माओवादीले आक्रमणक्रममा धेरै गाडी प्रयोग गरेका थिए । घाइते र मारिएका छापामार बोक्न प्रयोग गरिएका ती गाडीलाई सेनाको नाइटभिजन हेलकप्टरले आकाशबाट पछ्याएको थियो । भिडन्त तीव्र भएका बेला राति १ बजेतिर हेलिकप्टरले बजार क्षेत्रको आकाशमा गस्ती गरेको थियो । घन्टौं भिड्दा पनि सुरक्षा घेराभित्र पस्न नसकेपछि माओवादी पश्चिम र उत्तरका गाउँतर्फ लागेका थिए । घाइतेलाई माओवादीले उत्तरका गाउँतर्फ लगेको प्रत्यक्षदर्शीले बताए । आक्रमणपछि इलामको वातावरण सन्त्रासपूर्ण छ ।
श्रोतः कान्तिपुर

गृह पृष्ठ
