नेपालमा राजनीतिक दलहरु र माओवादीबीचको १२ बुँदे समझदारी जनताको भावनालाई सम्बोधन गरी निर्माण गरिएको हुँदा त्यसलाई तोड्ने अधिकार कसैलाई नभएको
२२ फेब्रुवरी २००६(एजेन्सीहरु)- नेपालमा विभिन्न राजनीतिक दलका नेताहरुले दल माओवादीबीचको १२ बुँदे समझदारी नेपाली जनताको भावनालाई सम्बोधन गरी निर्माण गरिएको हुँदा त्यसलाई तोड्ने अधिकार कसैलाई नभएको बताउनुभएको प्राप्त समाचारहरुमा जनाइएको छ। त्यसैगरी समाचारहरुमा उल्लेख भए अनुसार, राजनीतिक दलका नेताहरुले राजधानी काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै १२ बुँदे समझदारीका विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा उत्पन्न शंकालाई मेट्नेतर्फ लाग्नुपर्नेमा पनि जोड दिनुभएको छ ।यसका साथै नेपाली कांग्रेसका प्रवक्ता कृष्णप्रसाद सिटौलाले दल र माओवादीबीचको १२ बुँदे समझदारी मुलुकलाई शान्तिका दिशातर्फउन्मुख गराउने ऐतिहासिक दस्तावेज भएको बताउनुभयो । उहाँले १२ बुँदे समझदारी जनताको सम्पक्ति भएको बताउँदै भन्नुभयो-जनताको सम्पत्तिलाई तोड्ने भाँच्ने अधिकार कसैसँग पनि छैन । १२ बुँदे समझदारीमा अस्पष्टता बारेमा कसैले कुरा उठाएमा त्यसलाई निवारण गर्नेतर्फलाग्नुपर्ने पनि उहाँको भनाइ थियो । उहाँले भन्नुभयो-अमेरिकी राजदूत मोरियार्टीको भनाइलाई लिएर आपत्ति जनाउनुपर्ने अवस्था छैन बरु समझदारीमा शंका भए त्यसको निवारण गर्नुपर्छ । राजा हार्दै गएको दाबी गर्दै उहाँले भन्नुभयो-राजाद्वारा गरिएको संवादको आव्हान गुलियो विषको ट्याब्लेट हो । उहाँले आन्दोलनको विकल्प नभएको बताउँदै राजासँग तत्काल संवाद हुन नसक्ने बताउनुभयो । नेपाली कांग्रेस छिट्टै एकीकरण हुने दिशातर्फउन्मुख भएको बताउँदै उहाँले एकता अनिवार्य भएको बताउनुभयो । उहाँले प्रजातन्त्रवादीहरुले कांग्रेस एकीकरणको आग्रह गरिरहेको अवस्थामा पार्टी सभापति गिरिजाप्रसाद कोइराला पार्टी एकीकरणका लागि सक्रिय हुनुभएको बताउनुभएको जनाइएको छ।
यसका साथै कार्यक्रममा बोल्दै नेकपा एमाले स्थायी कमिटिका सदस्य भरतमोहन अधिकारीले दल माओवादी १२ बुँदे समझदारी टुट्ने कुनै सम्भावना नरहेको बताउँदै समझदारी कार्यान्वयनको दिशामा पुगी छाड्ने दृढता व्यक्त गर्नुभयो । उहाँले समझदारी कार्यान्वयन होला भन्ने भयले विभिन्न किसिमका षड्यन्त्रहरु भइरहेको बताउँदै षड्यन्त्रलाई चिर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो-माओवादीलाई शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याउने प्रयास स्वरुपको १२ बुँदे समझदारी कार्यान्वयन हुने दिशामा अगाडि बढिरहेको छ । माओवादीलाई युद्धविरामका लागि तत्काल आव्हान गर्दै उहाँले भन्नुभयो-माओवादीले ४ महिना युद्धविराम गर्दा १० वर्षा नपाएको र नजितेको उपलब्धि हासिल गरेको तथ्यलाई मनन गरेर तत्काल युद्धविराम गर्नुपर्छ । आफूहरु हत्या हिंसाको कडा विरोधी भएको बताउँदै उहाँले शान्तिपूर्ण आन्दोलनको कुनै विकल्प नभएको प्रष्ट पार्नुभयो । राजाको पछिल्लो सम्बोधनमा उल्लेखित संवादको आव्हानलाई महत्वहिन भएको बताउँदै उहाँले राजाले मन्त्रिपरिषदको अध्यक्षता त्यागी जनाधिकार फिर्ता नगरेसम्म वार्ताको कुनै सम्भावना नरहेको बताउनुभयो । उहाँले भन्नुभयो-शान्तिपूर्ण संघर्षको विकल्प छैन । उहाँले मुलुकले राजाबाट कुनै आशा गर्न नसक्ने बताउनुभएको समाचार छ।
यसै क्रममा नेपाली कांग्रेस-प्रजातान्त्रिक)का केन्द्रीय सदस्य एनपी साउदले आफ्नो दलको १२ बुँदे समझदारीमा असहमती नभएपनि समझदारीले प्रभाव ल्याउन नसकेकोमा चिन्ता रहेको बताउनुभयो । उहाँले माओवादीले १२ बुँदे समझदारीलाई पटक पटक उल्लंघन गरेकाले अन्तर्राष्ट्रिय समुदायबाट चिन्ता जाहेर भएको बताउँदै माओवादीबाट समझदारी पूर्ण रुपमा पालना हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो- राजनीतिक कार्यकर्तामाथि माओवादीको अपहरण र लुटपाट जारी छ, त्यसले माओवादीको विश्वासमा हृास आएको छ । उहाले १२ बुदे समझदारीमा परिमार्जन र संस्थागतको आवश्यकतामा विशेष जोड दिदै भन्नुभयो-७ दलले १२ बुँदे समझदारीलाई अगाडि बढाउनुपर्छ । आफ्नो दलले सत्ताका लागि तल माथि कुनै काम नगर्ने बताउँदै उहाँले मुलुकलाई अग्रगमन, शान्ति र लोकतन्त्रका दिशामा पुर्याउनुपर्ने बताउनुभयो । कांग्रेस एकतामा विशेष जोड दिदै उहाँले कांग्रेस एकता जनचाहना र अनिवार्य भएको बताउनुभयो । कांग्रेस विभाजन सैद्धान्तिक भन्दा प्रक्रियागत भएको टिप्पणी गर्दै उहाँले सम्मानजनक एकता भए मुलुक र प्रजातन्त्रका लागि महत्वपूर्ण उपलब्धि हुने बताउनुभएको उल्लेख छ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता चन्द्रबहादुर गुरुङले श्री ५ बाट आव्हान गरिबक्सिएको वार्ताको आव्हानलाई दलहरुले गुमाउन नहुने बताउनुभयो । उहाँले शान्ति र प्रजातान्त्रिक पद्धतिलाई सुदृढ गर्ने दिशातर्फश्री ५ को सम्बोधन निदृष्ट भएको बताउँदै उहाँले दलहरु जीम्मेवार भएर वार्तामा आउनुपर्ने बताउनुभयो। श्री ५ को दलहरुलाई संवादका लागि गरिएको आव्हानलाई ऐतिहासिक भन्दै उहाँले वार्ताको माध्यमबाट मुलुकलाई स्थायी शान्तिको बाटो तर्फलान सकिने बताउनुभयो । उहाँले भन्नुभयो-सबैले आ-आफ्नो हठ त्यागी जनतालाई केन्द्रबिन्दु बनाएर संवादमा आउनुपर्छ । सबै कुरा वार्ताको टेबुलमा निक्र्यौल गर्न सकिने तर्क राख्दै उहाँले विदेशीको भनाइका पछि नलागी मुलुकको समस्या मुलुकभित्रै नेपाली जनताबाट समाधान गर्न सकिने बताउनुभएको संचार माध्यमहरुमा जनाइएको छ ।

गृह पृष्ठ
