नेपालमा काठमाडौं लगायत देशका विभिन्न ठाउँहरुमा प्रजातन्त्र पुनस्थापनाको माग गर्दै विरोध प्रर्दशनहरू !!!
राजाको सन्देशप्रति दलहरु निरुत्साहित
२० फेब्रुवरी २००६(एजेन्सीहरु)- नेपालमा काठमाडौं लगायत देशका विभिन्न ठाउँहरुमा प्रजातन्त्र पुनस्थापनाको माग गर्दै विरोध प्रर्दशनहरू भएका र साथै श्री ५ ज्ञानेन्द्रबाट प्रजातान्त्रिक प्रकृयालाई सकृय तुल्याउन गरिबक्सेको आह्वानप्रति आन्दोलनरत प्रमुख राजनीतिक दलहरूको प्रारम्भिक प्रतिकृया सकारात्मक नदेखिएको प्राप्त समाचारहरुमा जनाइएको छ। त्यसैगरी समाचारहरुमा उल्लेख भए अनुसार,माघ १९ को शाही कदमका विरुद्ध हुने प्रदर्शनहरू नियमित जस्तै बन्न थालेका छन् र ति दलका नेताहरूले राजाको सन्देशले एकबर्ष अघिको शाही कदमले लिएको दिशालाई निरन्तरता दिने कुरा गरेको र सहमतिका लागि कुनै ठोस कदम चालेको नदेखिएकोले आफूहरू उत्साहित हुन नसकेको बताएका जनाइएको छ।
यसै क्रममा आइतवारको सन्देशमा दलहरुका बारे उल्लेख गरिएको भए पनि त्यसले राजा र आन्दोलनरत दलहरूबीच सहमतिको वातावरण बनाउन नसकेको विचार नेपाली कांग्रेसका उप-सभापति सुशील काइरालाको छ।त्यसक्रममा उहाँले सहमतिको वातावरण बनाउन चेष्टा गरेको व्यबहारिक रुपमा देखिन प-यो र संविधान सकृय हुनुप-यो अनि मात्र आशावादी हुन सकिने उल्लेख गर्नुभएको जनाइएको छ।
यसका साथै श्री ५ कै सन्देशप्रति प्रतिकृया जनाउंदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता केपी ओलीले दलहरूको प्रसंग स्थानीय निर्वाचनमा भाग लिने स-साना दलहरुको सन्दर्भमा ल्याइएको बताउनुभयो।त्यसक्रममा उहाँले संविधानको पालना र रक्षाको प्रसंग प्रतिनिधि सभाको पुनस्थापना र संविधान सभाको चुनावलाई नकार्ने उद्देश्यले गरिएको आरोप पनि लगाउनुभएको उल्लेख छ।
त्यसैगरी राजाको सन्देशमा शान्ति र प्रजातन्त्रमा फेरी खलल पर्ने अवस्था आउन नदिन अब ऐक्यबद्धताको खाँचो भएको पनि बताइएको छ।तर आइतवार नै काठमाडौं लगायत देशका विभिन्न ठाउँहरुमा प्रजातन्त्र पुनस्थापनाको माग गर्दै विरोध प्रर्दशनहरू भएका संचार माध्यमहरुमा जनाइएको छ ।

गृह पृष्ठ
