जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

January 31, 2006

‘के सोचेँ मैले, के भयो अहिले !’

कृष्णमुरारी भण्डारी
महाराजले शासनसत्ता लिएको भोलिदेखि दोस्रो वर्ष लाग्छ । महाराजबाट तीन वर्षअघि ०५९ असोज १८ गते निर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त र आमचुनाव पन्छाई इच्छाएको व्यक्तिलाई प्रधानमन्त्री र मन्त्री नियुक्त गर्न थालिबक्सेको हो । ०६१ माघ १९ गतेदेखि त महाराज स्वयंले मन्त्रीपरिषद् नै आफ्नो अध्यक्षतामा बनाइबक्स्यो । त्यस दिनको महाराजको रेडियो र टेलिभिजनको भाषण सर्वसाधारणलाई जुरुक्क-जुरुक्क पार्ने खालको थियो । राजनीतिको दाउपेच नबुझेकाहरू राजाको नेतृत्वमा ठूलो परिवर्तन हुने आशा गरिरहेका थिए, राजा स्वयंले जनताको पीरमर्का बुझी काम गर्न लागेपछि अब पक्कै पनि केही राम्रो हुन्छ भनेर सबैले सोचेका थिए । तर एकवर्ष बितिसक्दा पनि राम्रोको त कुरै छोडौं जनताले आफ्नो जिउ-धन सुरक्षित छ भन्ने महसुस गर्न सकेका छैनन् ।
अहिले त्यतिबेलाको भनाइ र वर्षभरिको गराइलाई र्फकेर हेर्दा ‘टाँइटाई फिस’ लाग्छ । पोहोरको भाषणमा लागेको धूलो टक्टक्याएर पढिनसक्दै एउटा विरही गीतको सम्झना आयो ‘के सोचेँ मैले, के भयो अहिले !’

केका लागि शाही सम्बोधनमा आकाश पाताल जोड्ने कुरा बोलिएको थियो ? तर एक वर्षमै कहाँको कहाँ पुगियो ?! आकाशमाथि नै रह्यो, पाताल देख्नै पाइएन । सर्वसाधारण ओह्रालो लागेर त माथिकालाई के हुन्थ्यो र माथिकै आफ्ना ठाउँमा नअडिएपछि यस्तो हुनु अनौठो पनि होइन, स्वाभाविक नै मान्नुपर्छ । किन ? किनभने भइरहेको प्रजातन्त्रलाई सुधार गर्ने हो भने त्योभन्दा बढी प्रजातन्त्रबाट मात्र सम्भव छ । तर यहाँ न केही सुधार भयो, न त बढी प्रजातान्त्रीकरण नै । प्रजातन्त्रको विकल्प अधिनायकवाद होइन, कानुनको राज हो । हो, हाम्रा राजा यहीँनेर फसेका छन् । त्यसैले ढाँटेको कुरा काटे मिल्दैन । जनआन्दोलनबाट बनेको संविधान र त्यही संविधानको आधारमा खडा संरचनालाई बिथोलिसकेर पनि राजाले आफूलाई अझै पनि ‘प्रजातन्त्रका लागि’ काम गरिरहेको छु भन्नुपरिरहेछ । यो त सरासर झूट हो ।

होइन राजाले भनेजस्तै ‘सार्थक बहुदलीय प्रजातन्त्र नै जनताको प्रभावकारी शासन प्रणाली हो । सफल प्रजातन्त्र नै सक्कली जनवाद हो ।’ हो, भने प्रजातन्त्रका आधारभूत कुराहरू स्वयं राजाले पनि स्वीकार्नै पर्छ । तर यहाँ निर्वाचित सरकार हुनुपर्छ, निर्वाचन गराउँछु, त्यसदेखि बाहिर जान्न भनेर जनता र आफू स्वयंलाई पनि धोका दिने काम भइरहेछ । बोलेपछि कम्तीमा पनि ती कुरा दिनुपर्छ । लेख्न, बोल्न दिनुपर्छ । लेख्न, बोल्न दिएपछि वास्तविकता बाहिर आइहाल्छ । अहिले भएको यही हो ।

आधा दिने फस्छन् भन्थे बूढापाका ! हो रहेछ । र, राजा अहिले यस्तै अप्ठेरोमा फसेका छन् ।

राजालाई राज्यको सम्पूर्ण अधिकार आफैंले लिने इच्छा छ भने किन नानाथरी बहानाबाजी गर्नुपरेको ? नगर चुनाव गराउँछु किन भन्नुपरेको ? नभनेको भए नगर चुनावको प्रक्रियामा यस्तो दयनीय हालत नै हुने थिएन । अहिले दाउरा बेच्न हिँडेकालाई उम्मेदवार बनाइएको छ । ‘नोमिनेसन’ गर्ने पनि आधाभन्दा बढीले नाम फिर्ता लिएका छन् । ‘नोमिनेट’ हुनेले पनि आफू कसरी उम्मेदवार भएँ थाहा छैन भनेका छन् ।

कहाँ गए नगर चुनावको महत्त्व दर्शाउने जर्साहेव सत्चितशमशेर, केशरजंग रायमाझी, भरतकेशरी सिंहहरू ? के यिनीहरूले पनि राजाको चुनावलाई साथ दिएनन् ? यिनलाई पक्कै थाहा छ, चुनावमा गयो भने कीर्तिनिधि विष्टको जति नै १ सय ६५ मत ल्याउन पनि गाह्रो छ ।

राजाका हिमायतीहरू ऐन मौकामा चुनावको परिदृश्यबाट टाढा हुन खोजेको र राज्यसत्ताले खेलेको नौटंकीबाट के सिद्ध हुन्छ भने, राजाले गराउने कुरा होइन रहेछ चुनाव । ए, राजाले गरेको चुनाव त यस्तो पो हुने रहेछ भन्न थालेका छन् जनता । महाराज ! हुन त बाह्र वर्षे शासनकालमा पनि गाईजात्रा थियो तर, राजाको शासनकालमा त चरम गाईजात्रा भयो । पहिलेकोलाई गाईजात्रा भन्ने हो भने अहिलेको लाई चाहिँ अब के जात्रा भन्ने ? नेपालमा चुनाव प्रक्रिया सुरुभएपछि यस्तो कन्तविजोग कहिल्यै भएको थिएन ।

नगरचुनावमा ४ हजार १ सय ४६ उम्मेदवार हुनुपर्ने रहेछ । तर राजाले आह्वान गरेको चुनावमा चार हजार मान्छे पनि फेला परेनन् । चार हजार पदका लागि देशभर कम्तीमा पच्चीस हजार उम्मेदवार हुनुपर्ने होइन ? २ करोड ५० लाख जनसंख्या भएको देशमा राजाको चुनावप्रति विश्वास गर्ने त दुई हजार पनि भएनन् बा । ५ सयले त नाम नै फिर्ता लिए । राजाको चुनावमा विश्वास गर्ने कति मानिस फेला परे त ? मनोनीत दाखिला गर्नेहरूको संख्यामा पनि अझै शंकै छ, कतिलाई जबर्जस्ती थुनेर उम्मेदवार बनाइएको होला । कति भन्न डराइरहेका होलान् ?

माघ १९ को महाराजको सबैभन्दा ठूलो ‘तुरुप’ पहिला नगर निर्वाचन गर्ने र त्यसपछि प्रतिनिधिसभाको चुनाव गर्ने थियो । नगरको त यो हालत छ, अब प्रतिनिधिसभाको निर्वाचन गर्दा के होला ? एक वर्ष अघिसम्म नेपाल भन्ने एउटा देशमा राजा छन् भन्ने केही न केही अंश बाँकी थियो । तर गएको एक वर्षको शासनले अब नेपालमा राजाको अस्तित्व कहिलेसम्म छ ? भन्ने प्रश्न खडा गरेको छ ।

यो कुरा त्यत्तिकै भनिएको होइन । राजा मान्ने नेपाली कांग्रेस र राजा मान्न थालेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) राजा नमान्ने भइसके । राजाकै पार्टी भनिने राप्रपा टुक्रा-टुक्रा भयो । राजा मान्ने, राजाका यावत क्रियाकलाप स्वीकार गर्ने राप्रपा राजा नमान्ने भइसक्यो । ०४६ सालको कांग्रेस जस्तो त आज राप्रपा भइसक्यो । गोर्खा परिषद् कांग्रेसमा मिलेको धेरैलाई थाहै छ । यसलाई लोकतन्त्रको अभावमा ‘कन्जरभेटिभ’ पनि ‘डेमोक्रेटिक क्याम्प’ मा आउँछन् भन्ने उदाहरण मान्न सकिन्छ । त्यसैले अब नेपाली कांग्रेस वा एमालेमा राप्रपा मिसिनमात्र बाँकी छ । यतिखेर ०१७ सालको गोर्खापरिषद् जस्तो भइसक्यो राष्ट्रिय प्रजातन्त्र पार्टी ।

लेख्न बसेपछि कटु भए पनि सत्य कुरा भन्नै पर्ने हुन्छ । त्यसैले अब यो एक वर्षको मूल्यांकन गर्दा महाराज कहाँनेर सफल होइबक्स्यो भन्ने ? कहाँ छ सफलता ? सफलताको गन्ती खोज्दा असफलतामात्र देखिन्छ । सफलता त सिला खोज्दा पनि नभेटिने भयो । राजा मान्नेहरू नै यसबीच राजा नमान्ने कित्तामा पुगेपछि कहाँ सफल होइबक्स्यो महाराज ? फेरि पनि त्यही गीतमात्र गुनगुनाउन मन लाग्यो हे महाराज ! के सोचेँ मैले, के भयो अहिले ! यस्तो स्थिति देख्दा अर्को गीत ओठमा आउनै सकेन ।

bhandarykm@yahoo.com

साभारः कान्तिपुर

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/01/31/ekantipur/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons