नेपालमा सरकार पक्षधर उम्मेदवारलाई जवर्जस्ती निर्विरोध गराइएको आरोपहरू
३० जनवरी २००६(एजेन्सीहरु)-नेपालमा नगर निर्वाचनका लगि उमेदवारहरूले आइतबार चुनाव चिन्ह प्राप्त गरिसक्दापनि अझै चुनावी सरगर्मी बढ्न नसकेको र यसका साथै बहिष्कार, दवाब र धम्की सहेर पनि उमेदवारी दिएकाहरू माघ २६ को प्रतिक्षा घरमै बसेर गरिरहेका प्राप्त समाचारमा जनाइएको छ।
यसै बीच समाचारमा जनाइए अनुसार,विराटनगर उपमहानगरपालिका सहित पूर्वाञ्चलका १४ वटा नगरपालिका मध्ये कतिपयमा सरकार पक्षधर उम्मेदवारलाई जवर्जस्ती निर्विरोध गराइएको आरोपहरू उम्मेदवारहरूले नै लगाएका छन्।त्यसैगरी कडा सुरक्षा व्यवस्थाकाबीच सरकारी नियन्त्रणमा रहेका कतिपय उम्मेदवारहरूलाई चाहिं शनिवार उम्मेदवारी समेत फिर्ता गर्न नदिइएको उल्लेख छ।
यसका साथै विराटनगर उपमहानगरपालिकाका उपप्रमुख पदका दुईजनासहित ३० जनाले र अन्य नगरपालिकाका दर्जनौ उम्मेदवारहरुले मनोनयन फिर्ता लिएका थिए।कतिपयले माओवादी र अरुहरूको दवावका कारण उम्मेदवारी फिर्ता लिए पनि केही उमेदवारहरूले धम्की सहेर पनि प्रजातन्त्रका लागि आफु दृढ रहेको बताएका छन्। त्यसैगरी विराटनगर नगरपालिकाको प्रमुख पदमा उमेदवारी दिएका एकजना प्रत्यासी विनोद अर्यालले चुनाव प्रचारका लागि बलिउडकी कलाकार मनिषा कोइरालाको सहयोग लिइरहेको जनाइएको छ ।
यसै बीच उता माओवादी विद्रोहबाट बढि प्रभावित पश्चिम नेपालका तीनवटा नगरपालिकाको निर्वाचन निर्विरोध रुपमै सकिएको छ भने तीनवटामा चुनाव कार्यक्रम संचालन भएको छ।पूरा उम्मेदवार नै नपुगी निर्विरोध निर्वाचन सम्पन्न भएका तीन नगरपालिकामा क्षेत्रीय शदरमुकाम रहेको विरेन्द्रनगर र तराईका नेपालगंज र गुलरिया नगरपालिका रहेका छन्। त्यसैगरी सतासी पदाधिकारी चाहिने नेपालगंज नगरपालिकाका लागि आठजना मात्र पदाधिकारी निर्वाचित भएका छन् भने गुलरियामा ५० जना अपुग रहेका छन्।
यसै क्रममा तीनवटै नगरपालिकामा नगर प्रमुख र उपप्रमुख भने निर्विरोध निर्वाचित भएका छन्।निर्वाचन हुन वाँकि दाङ्गको घोराही, तुल्सीपुर र दैलेखको नारायण नगरपालिकामा केहि पदमा निर्विरोध भएपनि प्रमुख, उपप्रमुख पदमा भने निर्वाचन हुने भएको छ।तर निर्वाचन आयोगले हालसम्म विजयी उम्मेदवारहरूको नाम घोषणा वा तिनीहरूको अन्तिम नामावली सार्वजनिक गरेको छैन। त्यसैगरी निर्वाचनमा जवरजस्ति उम्मेदवार बनाएको भन्ने चर्चाबाट मध्येपश्चिम पनि अछुतो नरहेको प्राप्त समाचारमा जनाइएको छ।

गृह पृष्ठ
