नामै नसुनिएकाहरू उम्मेदवार
सात दलको बहिष्कार र माओवादी दबाबका कारण बिहीबार नगर निर्वाचनका लागि उम्मेदवारी दर्ता निराशाजनक भएको छ । सार्वजनिक जीवनमा कुनै प्रभाव नभएका र अधिकांश अपरिचित व्यक्तिहरूले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले प्रस्तावक, समर्थक र तस्वीरैबिना उम्मेदवारी दिन सक्ने निर्णय अघिल्लो दिनमात्र गरेको थियो । नाम नसुनिएका व्यक्तिहरू विना प्रचार प्रसार, धेरैजसो एक्लै, लुकिछिपी, प्रायः चोरबाटोबाट निर्वाचन कार्यालय पुगेका थिए । मेयर र उपमेयरका निम्ति एकभन्दा बढी उम्मेदवारी परे पनि वडाध्यक्ष र सदस्यका निम्ति धेरै नगर रिक्त भएका छन् ।
उम्मेदवारी दर्ताका लागि प्रशासन र प्रहरीलाई व्यापक परिचालन गरिएको थियो । कतिपय स्थानमा उम्मेदवारी दिने व्यक्ति नआएपछि निर्धारित अपराह्न ५ बजेको समय सारिएको थियो । उम्मेदवारहरूलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा राख्न थालेका छन् । राष्ट्रिय मान्यता प्राप्त दलहरूमध्ये सद्भावना पार्टीको एउटा टुक्रा मण्डल पक्षले मात्र केही ठाउँमा उम्मेदवारी दिएको छ । माघ २६ गते ५८ वटै नगरका ४ हजार १ सय ४६ पदका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा १९ लाख ४२ हजार ९ सय ९० मतदाता भएको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी दर्ता गर्ने दलमा सरकारी राप्रपासहित सडकमा राजाको सक्रिय नेतृत्वको माग गर्दै मौसमी जुलुस निकाल्नेहरू बढी छन् जसमा प्रजातान्त्रिक नेपाल, राष्ट्रिय एकता परिषद्, जनमुक्ति पार्टी, राष्ट्रवादी मिलन केन्द्र, हरियाली पार्टी, सेभ द नेसन, मुस्कान सेना नेपाललगायतका पार्टी छन् ।
प्रमुख निर्वाचन आयुक्त केशवराज राजभण्डारीले ‘उम्मेदवारीका लागि साँझसम्म निर्वाचन कार्यालयमा भीड लागेको देखिएको,’ उल्लेख गर्दै सरकारी टेलिभिजनमा भन्नुभयो- ‘यो उत्साहजनक हो, यसले नेपाली जनता वास्तविक रूपमा प्रजातन्त्र र निर्वाचनमा विश्वास गर्दा रहेछन् भन्ने देखिन्छ ।’ उम्मेदवारी नपरेका केही नगरपालिकामा पुनः निर्वाचन कार्यक्रम सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो । ‘मुख्य कुरा भनेको २६ गतेको निर्वाचनका लागि राजनीतिक दल, नागरिक समाज र उम्मेदवार निकै उत्साहित छन् भन्ने हो,’ उहाँले भन्नुभयो ।
उपत्यकामा न्यून उम्मेदवारी
उपत्यकामा महानगर, उपमहानगर र नगरपालिकामा समेत पूर्ण उम्मेदवारी पर्न सकेन । महानगर पालिकाका तीन, ललितपुर उपमहानगर पालिकाका तीन, कीर्तिपुर नगर पालिकाको नौ, भक्तपुर र मध्यपुर ठिमी नगरपालिकाको ११ गरी २६ वटा वडामा कुनै उम्मेदवारी परेन । सात राजनीतिक दलको बहिष्कार तथा बन्द र माओवादीको कारबाही गर्ने धम्कीका कारण न्यून उम्मेदवारी परेका हुन् ।
महानगरपालिकामा १० जनाले मेयर र आठ जनाले उपमेयर पदका लागि मनोनयन दर्ता गरेका छन् । सरकार पक्षधर राप्रपाका तर्फबाट राजाराम श्रेष्ठले मेयर र रेश्मा केसीले उपमेयर पदमा मनोनयन दर्ता गरेका छन् । तीबाहेक केही साना दलका छन् भने धेरैजसो स्वतन्त्र छन् । मेयरमा उम्मेदवारी दर्ता गर्नेमा सेभ द नेसनका प्रचण्डलाल श्रेष्ठ र सोसियल डेमोक्रेट्स पार्टीका रामकृष्ण नापित छन् । कृष्णबहादुर शाही, शंकर पौडेल, उत्तम अधिकारी, जगतमानसिंह तामाङ भन्ने बुद्घ तामाङ, धनबहादुर रञ्जितकार, रामबाबु केसी र सुधा खत्री स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् ।
उपमेयरमा जनक केसी, वैकुण्ठमान केसी, शैलजा पाण्डे, कर्णबहादुर थापामगर, ठाकुरप्रसाद दर्शनधारी, विमला राणा र रघुराज राजभण्डारी छन् । महानगरको २३, २४ र ३२ नम्बर वडाका लागि कसैको उम्मेदवारी दर्ता गराएनन् । महानगरका १२ वटा वडामा अध्यक्ष पदका लागि एक जनाको मात्र उम्मेदवारी परेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार महानगरमा कुल १ सय ७७ पद रहेकामा १ सय ६९ जनाको मात्र उम्मेदवारी परेको छ । यसैगरी कीर्तिपुर नगरपालिकामा मेयरका लागि तीन र उपमेयरका लागि एकको मनोनयन दर्ता भएको छ । १९ वटा वडा रहेको उक्त नगरपालिकाका ९ वटा वडामा भने कुनै पदमा पनि उम्मेदवारी परेन ।
ललितपुर उपमहानगरपालिकाको मेयरमा प्रेमलाल महर्जन प्रजातान्त्रिक नेपाल, समता पार्टीकी मधु शाह, शम्भु गजुरेल क्ष्ाेत्री स्वतन्त्र, जनमुक्तिका दलबहादुर राईले मनोनयन दर्ता गराएका छन् । समताकी उम्मेदवार शाह बिहान कार्यालय खुलेलगत्तै पुगे पनि साढे ३ बजेसम्म समर्थक र प्रस्ताव नपाएपछि निक्कै अल्मलिएकी थिइन् । जनमुक्ति पार्टीका तर्फबाट उम्मेदवारी दिन अध्यक्ष्ा एमएस थापा श्रीमतीसहित त्यहाँ पुगेका थिए । उम्मेदवार हुनेहरूमा प्रायः बूढापाकाहरू छन् ।
निर्वाचन अधिकृत कार्यालय परिसरमा दाँत झरेका बूढापाकाका साथै कपाल लामा, कानमा मुन्द्रा लगाएकाहरूको भीड देखिन्थ्यो । उनीहरूमा कुन वडाको अध्यक्ष्ा, सदस्य बन्ने भनेर चर्काचर्की कुरा गरिरहेका थिए । बाइसवटा वडा रहेको उपमहानगरमा ७, ९ र ११ वडा भने उम्मेदवारविहीन बनेको निर्वाचन अधिकृत स्थानेश्वर ढकालले जानकारी दिनुभयो । कडा सुरक्षा व्यवस्थाबीच मनोनयनस्थलमा पस्न दिइएको थियो ।
भक्तपुरको दुवै नगरपालिकामा न्यून उम्मेदवारी परेको छ । भक्तपुरमा मेयर र उपमेयरमा सरकार पक्ष्ाीय राप्रपाका एक-एक जनाको मात्र उम्मेदवारी परेको छ । उक्त पार्टीबाट मेयर सुमित्रा मधिकर्मी र उपमेयरमा सर्जु हाडाका साथै वडाध्यक्ष्ाहरूमा स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी परेको छ ।
भक्तपुरको अर्को नगरपालिका मध्यपुर ठिमीको मेयरमा पाँच र उपमेयरमा दुई जनाको मनोनयन दायर भएको छ । मेयरका लागि सरकार पक्ष्ाीय राप्रपाका नरगोविन्द शंखदेव, मुस्कान नेपालकी उर्मिला श्रेष्ठ ढुंगाना र स्वतन्त्रबाट रामसुन्दर श्रेष्ठ, हरिरञ्जन थापा श्रेष्ठ र कृष्णभक्त श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
भक्तपुर नगरपालिकामा मेयरको उम्मेदवारी दिन गणतन्त्रको नारा लगाउँदै पुगेका भवानीप्रसाद हेजुलाई भने प्रशासनले फर्काएको थियो ।
उता पोखरालगायतका केही जिल्लामा सरकारी राप्रपाका उम्मेदवारलाई जम्मा गराएर निर्वाचन कार्यालयसम्म सुरक्षाकर्मीको गाडीमा लगिएको थियो । नेपालगन्जमा पौने ५ बजेमात्र उम्मेदवार खोजेर दर्ता गराइएको थियो । जनकपुरमा माओवादीद्वारा मारिएका विजयलाल दासकी श्रीमतीलाई सद्भावना पार्टी -मण्डल) ले मेयरमा उठाउने निर्णय गरे पनि उनले मानिनन् ।
दाङ त्रिभुवननगर र तुलसीपुरका प्रमुखमा क्रमशः २ र ३ उम्मेदवारले नाम दर्ता गराएका छन् । सिन्धुलीको कमलामाई नगरपालिकामा मेयरमा ३, उपमेयरमा ४ र वडाध्यक्षमा २८ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारीका बेला अधिकांश उम्मेदवार उपस्थित थिएनन् । जिविसका मनोनीतले किर्ते हस्ताक्षरका आधारमा दर्ता गराएका थिए ।
बुटवलमा ७७ जना उम्मेदवार चाहिनेमा प्रमुखसहित जम्मा १० जनाको उम्मेदवारी परेको छ । नेपालगन्जमा मेयरका लागि तीनसहित १० जनाले मनोनयन दर्ता गराएका छन् । साँझ पौने ५ बजेसम्म कसैको उम्मेदवारी नपरेपछि अञ्चल प्रश्ाासक मीनबहादुर पाल र प्रमुख जिल्ला अधिकारी विनोद अधिकारी उम्मेदवार खोज्न व्यस्त देखिन्थे । पालले सरकार समर्थकहरूको बैठक बोलाई उम्मेदवारी दिन दबाब दिएको स्रोतले बतायो ।
धनगढी प्रमुखमा दुई जनाले स्वतन्त्रबाट र एक जनाले सरकार पक्ष राप्रपाबाट उम्मेदवारी दिएका छन् । धनगढी नगरपालिकाको १४ वडामध्ये अध्यक्षसहित ७० पदमा जम्मा १० जनाले मात्रै उम्मेदवारी दिएका छन् । कैलालीकै अर्को नगरपालिका टीकापुर प्रमुखमा सरकारी राप्रपाबाट विष्णुदेवी रावल र समता पार्टीबाट रणबहादुर खडकाले उम्मेदवारी दिएका छन् भने राप्रपा राष्ट्रवादीबाट कुमार शाहले उम्मेदवारी दिएका छन् ।
नगरपालिकाका नौ वडाका लागि ४५ उम्मेदवार चाहिनेमा मात्र ११ जना अपुग छ । चितवनको भरतपुर मेयरमा पाँच जनाले उम्मेदवारी दिएका छन् । त्यसैगरी जिल्लाको अर्को रत्ननगरको मेयर पदमा एक जनाले मात्र उम्मेदवारी दिएका छन् ।
हेटौंडामा प्रमुख र उपप्रमुख पदमा सात-सात जनाको उम्मेदवारी परेको छ । नवलपरासीको रामग्राम प्रमुखमा ३ र उपप्रमुखमा २ जनाको उम्मेदवारी परेको छ । बारामा कलैया मेयरका लागि सात र उपमेयरका लागि चार जनाले नाम दर्ता गराएका छन् ।
वीरगन्ज मेयरमा सरकारी राप्रपासहित ८ जनाले नाम दर्ता गराएका छन् । यसैगरी उपमेयरमा ६ जना छन् । रूपन्देहीको सिद्धार्थनगर मेयर र उपमेयर पदका लागि चार र दुई जनाको उम्मेदवारी परेको छ । उक्त नगरपालिकाको ६७ पदमध्ये ४३ पदमा मात्र मनोनयन दर्ता भएको छ ।
डोटीको सिलगढी प्रमुखमा दुई र उपप्रमुखमा तीन जना गरी ३३ जनाले मनोनयन दर्ता गराएका छन् । सुर्खेतस्थित वीरेन्द्रनगर मेयर उपमेयरसहित ६२ पदमा ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
पोखरा उपमहानगर पालिकाको ९२ मध्ये ४० स्थानमा ४५ को उम्मेदवारी परेको छ । नगरपालिकाको ५२ पद उम्मेदवारविहीन बनेको छ । नगर प्रमुखमा ६ जनाले मनोनयन दर्ता गरेका छन् । उम्मेदवारी दिने पार्टीमा कमल थापा अध्यक्ष्ा रहेको राप्रपा मात्रै हुन पुगेको छ । राप्रपाले आफ्ना उम्मेदवारहरूलाई जिल्ला विकास समितिमा भेला गराएर त्यहाँबाट सुरक्ष्ााकर्मीको गाडीमा आयोगको कार्यालयसम्म ओसारेको थियो ।
पाल्पाको तानसेनमा एक जनाको मात्र उम्मेदवारी परेको छ । ६७ स्थानमध्ये ६६ स्थानमा कसैको उम्मेदवारी परेको छैन । नगर प्रमुखका लागि स्वतन्त्रबाट धातानन्द भट्टराईको एक मात्र उम्मेदवारी परेको छ । लेखनाथ नगरपालिकामा ७७ मध्ये १३ पदमा मात्र उम्मेदवारी परेको छ । प्रमुख पदमा तीन उम्मेदवारी दर्ता भएको छ । गोरखाको पृथ्वीनारायण नगरपालिकाको २४ स्थानमा २८ को उम्मेदवारी परेको छ भने ३४ स्थान उम्मेदवारविहीन बनेको छ ।
स्याङ्जाको पुतलीबजार मेयरमा तीन र उपमेयरमा तीनको उम्मेदवारी परेको छ । वडा सदस्यको ४६ स्थानमा उम्मेदवारी परेको छैन । वालिङ नगरपालिका प्रमुखमा दुईले उम्मेदवारी दिएका छन् । बाग्लुङ नगरपालिकामा ५७ पदमध्ये प्रमुखमा दुईसहित ८ पदका लागि जम्मा १२ जनाले उम्मेदवारी दिएका छन् । वडा सदस्य पदका लागि एउटा पनि उम्मेदवारी नपरेको निर्वाचन कार्यालयले जनाएको छ ।
तनहुँमा प्रमुख र उपप्रमुखमा तीन/तीन जनाको उम्मेदवारी परेको छ । उम्मेदवारहरूलाई मनोनयनपछि सुरक्षाकर्मीले घर-घर पुर्याएका थिए । विराटनगर उपमहानगरपालिका प्रमुखका लागि १० जनाले मनोनयन गरेका छन् । उपप्रमुखमा दुईले मनोनयन गरेका छन् । नौ वडा रहेको इलाम नगरपालिकामा ४७ पदमध्ये ४१ पदका लागि मात्र मनोनयन दर्ता गराएका छन् ।
सर्लाहीको मलंगवा नगरपालिकामा नौ जनाले मेयरमा उम्मेदवारी दिएका छन् । उदयपुरको त्रियुगा प्रमुखमा नौ जनाले मनोनयन दिएका छन् । धनकुटा नगर प्रमुखका लागि दुई, धरानमा ६, झापाका भद्रपुरमा तीन, मेचीनगर मेयर पदमा चार, महोेत्तरीस्थित जलेश्वरमा ६७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । इटहरी मेयर पदका लागि ६, सिरहा नगरपालिका प्रमुखमा एकको मात्र नाम दर्ता भएको छ । लहान प्रमुख र उपप्रमुखमा दुई/दुईले दर्ता गराएका छन् ।
संखुवासभामा तीन, बनेपामा एक, पनौतीमा दुई र धुलिखेलमा तीन जनाले मेयरमा दर्ता गरेका छन् पनौतीका १३ वटै वडामा कसैले उम्मेदवारी दिएनन् । त्यसैगरी दोलखाको भीमेश्वर मेयरमा एकले मात्र दर्ता गराएका छन् । सुनसरीको इनरुवा नगरपालिकामा उम्मेदवारी दिन आएका बेचु मेहतालाई प्रहरीले आन्दोलनकारी भन्ठानेर कुटेका थिए । ‘उम्मेदवारी दिन आएको भनेर मनोनयनपत्र देखाउँदा पनि छाडेनन्,’ उनले भने । त्यसपछि उनी मनोनयन दर्ता नै नगरी फर्केका थिए । उनले अन्तिम समयमा इनरुवा नगरपालिकाको वडा नं. ६ को वडाध्यक्षमा मनोनयन दर्ता गराए । उनीसँगै मेयरको पदमा उम्मेदवारी दिन आएका रणधीर चौधरीसहित तीन जना प्रहरीले बेचुलाई कुट्न थालेपछि भागेका थिए । उनी त्यसपछि निर्वाचन कार्यालय नै गएनन् ।
राजविराजमा प्रमुखका लागि १३ जनाले फारम भरे भने जनकपुरमा सात, गुलरियामा चार, कञ्चनपुरको महेन्द्रनगर ४, बैतडीको दशरथ चन्दमा ४ तथा डडेल्धुराको अमरगढीमा २ जना मेयरमा उम्मेदवार भए । लहान नगरपालिकाको मेयरमा २, नुवाकोटको विदुर नगरपालिकामा ६, कपिलवस्तुको नगरपालिकाका लागि २ जनाको परेको छ ।
श्रीमती रोएपछि उम्मेदवारी फिर्ता
मेयरका लागि उम्मेदवारी दिएका भुवनकृष्ण श्रेष्ठले बिहीबारै नाम फिर्ता गर्ने घोषणा गरेका छन् । श्रीमती रुदै निर्वाचन कार्यालय पुगेर नाम फिर्ता गर्न आग्रह गरेकी थिइन् । उनी राष्ट्रवादी मिलन केन्द्र, बाँकेका अध्यक्ष हुन् ।
उम्मेदवार निलम्बित
उम्मेदवारी दिने बारा एमालेका दुई कार्यकर्तालाई पार्टीले साधारण सदस्यताबाट समेत निलम्बित गरेको छ । विक्रम यादव र भागिरथ गिरीले क्रमशः वडा नं. ११ र १३ को अध्यक्ष्ाका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
प्रस्तावक भएनन्
सुर्खेतमा उम्मेदवारी दिन गएका तीन जनाले प्रस्तावक र समर्थक नपाएपछि दर्ता गराउन सकेनन् ।
कुचिकार र जिविस उपसभापति पनि मेयर उम्मेदवार
जिविसका उपसभापति र नगरपालिकाका कुचिकार पनि पोखरा नगर प्रमुखको उम्मेदवार बनेका छन् । देवीजंग गुरुङ अहिले जिविस कास्कीका मनोनीत उपसभापतिमा बहालै छन् । यमबहादुर परियार कुचिकारको नाइकेका रूपमा केही समयअघिसम्म काम गर्दै थिए । उपप्रमुखका उम्मेदवार जयलाल पुन बसपार्क निर्माणमा अवरोध गरेको अभियोगमा केही अघि गिरफ्तार भएका थिए ।
पति-पत्नी उम्मेदवार
बनेपा नगरपालिका मेयरमा गणेशलाल श्रेष्ठ र उपमेयरमा पत्नी लीलादेवी श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिए । श्रेष्ठ काभ्रे मेच्छेपौवा घर भएका उनी ट्रक व्यवसायी हुन् । अरू उम्मेदवार नभएकाले उनीहरू निर्विरोध हुने निश्चित भएको छ .यसैगरी भारी बोकेर जीविका चलाउँदै आएका आत्माराम दुवालले पनि पनौती नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

गृह पृष्ठ
