माओवादीद्वारा पत्रकारको क्यामरा लुटपाट
काठमाडौं, मंसीर १५
माओवादीका सशस्त्र छापामारहरुले ताप्लेजुङ जिल्लाको अध्ययन अवलोकन भ्रमणमा गएको सञ्चारकर्मी तथा पर्यटन व्यवसायीको टोलीलाई सोमबार सिकैचा गाविसमा दुर्व्यवहार गरी सञ्चार उपकरण लुटेका छन् । उनीहरुले सो टोलीमा रहेका ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रम ताप्लेजुङका सल्लाहकार राम दाहाललाई अपहरण गरेका छन ।
अवलोकन भ्रमणमा रहेका च्यानल नेपालका सहकर्मी कुलचन्द्र भट्टराइले ताप्लेजुङको फुङलिङबाट पठाएको समाचार अनुसार माओवादीले कान्तिपुर टेलिभिजनका क्यामराम्यान उपेन्द्रमान सिंह र सिनेग्राफिक्सका मदन महर्जनबाट भिडियो क्यामरा तथा द बोस म्यागजिनका फोटोग्राफर सञ्चित लामिछानेबाट स्टिल क्यामरा लुटेका छन ।
ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रमको आयोजनामा सोमबार दिउँसो ११ बजे सिकैचा स्थित सरस्वती मा.वि. नजिकै उक्त टोली पुग्दा माओवादीका स्थानीय नेता सङ्गम सहितको समूहले हतियार तथा सकेट बम देखाइ अपहरण र लुटपाट गरेका हुन् ।२२ घण्टा सम्म रोकेर माओवादीले भ्रमण टोलीलाई सदरमुकाम र्फकन भनेका थिए । नेपाल पत्रकार महासंघले घटनाको भर्त्सना गरेको छ ।

गृह पृष्ठ
