नेपाली भाषामा कम्प्युटर चलाउन सकिने
कान्तिपुर संवाददाता
काठमाडौं, मंसिर १३
संसारको सबभन्दा ठूलो सफ्टवेयर उत्पादक कम्पनी माइक्रोसफ्ट कपोर्रेसनले नेपाली भाषामा चलाउन सकिने कम्प्युटर प्रणाली सोमबारदेखि बजारमा ल्याएको छ। ‘माइक्रोसफ्ट अफिस २००३ नेपाली’ प्रणाली राखेको कम्प्युटर अंग्रेजी भाषा नजानेका तर नेपाली लेखपढ गर्न सक्ने सबैले सजिलै चलाउन सक्ने छन् । कम्पनीले यो सफ्टवेयर निःशुल्क रूपमा वितरण गर्ने छ ।
नेपालीकरण गरिएको माइक्रो- सफ्टको बिन्डोज र माइक्रोसफ्ट अफिस राखिएको कम्प्युटरको इन्टरफेस (कम्प्युटर खोल्दा देखिने सबै दृश्य) नेपालीमा देखिने छन् । नेपाली पढ्न सक्ने व्यक्तिले कम्प्युटर चलाउन आवश्यक सम्पूर्ण निर्देशनहरू हेरेर सोहीअनुरूप चलाउन सक्ने छन् । कम्प्युटर खोल्नेबित्तिकै देखिने ‘स्टार्ट’ को सट्टा सुरु देखिनेछ । त्यसपछि के गर्ने र कसरी कम्प्युटर चलाउनेलगायतका भित्री जानकारीहरू पनि नेपालीमा देखिने छन् ।
नेपाली इन्टरफेस हाल वर्ड, एक्सेल, पावरप्वाइन्ट, आउटलुक, इन्टरनेट एक्सप्लोरमा मात्र उपलब्ध छ । इन्टरफेसमा देखिएका सम्पूर्णर् निर्देशनहरू नेपालीमा भएको र त्यसको विस्तृत विवरणसमेत नेपालीमा नै भएकाले आफैं कम्प्युटर सिक्नेहरूका लागि पनि यो उपयोगी हुनेछ । यस्तो कम्प्युटरबाट नेपालीमा इमेल लेखेर पठाउने र प्राप्त गर्न सकिन्छ । यो प्रणालीले नेपालीमा लेखेको शब्दलाई नेपाली बृहतत शब्दकोशअनुसार शुद्धशुद्धीसमेत आफैं गर्नेछ । फाइलका नामहरू पनि नेपालीमा राख्न सकिने छ इन्टरनेट पनि नेपालीबाट चलाउन सकिन्छ ।
विश्वव्यापी रूपमा इन्टरनेटको विकास भएपछि कम्प्युटर प्रयोगकर्ताहरू बढ्दै गए पनि अंग्रेजी भाषा बाधक बनेपछि माइक्रोसफ्टले स्थानीय भाषामा चलाउन सकिने बिन्डोज र माइक्रोसफ्ट अफिस प्याकेजहरू बनाउन थालेको थियो । कम्पनीका अनुसार अहिलेसम्म संसारका ३० भन्दा बढी भाषामा माइक्रोसफ्टका सफ्टवेयरहरू स्थानीय भाषामा सञ्चालन गर्न
सकिन्छ । माइक्रोसफ्ट कम्पनीले अनलिमिटेड न्युमिडिया प्रालिलाई १८ महिनाअघि यो सञ्चालन प्रणाली निर्माणका लागि जिम्मेवारी र सहयोग दिएको थियो । कम्पनीले विश्वव्यापी रूपमा कम्प्युटरलाई स्थानीय भाषामा सञ्चालन गर्न मिल्ने बनाई प्रत्येक घर- घरमा कम्प्युटर भित्र्याउने लक्ष्य राखेको छ । अहिलेसम्म भाषागत समस्याले अंग्रेजी नजान्नेहरूले कम्प्युटर किनेका छैनन् ।
कम्पनीका अन्तर्राष्ट्रिय रणनीतिक प्रबन्धक एन्डी अवार्डले प्रविधिलाई भाषा अनुकूल बनाउन माइक्रोसफ्टले अनुसन्धान र विकासमा ठूलो लगानी गरेको जानकारी दिनुभयो । ‘संसारमा अहिले झन्डै १ अर्ब कम्प्युटर छन् र डेढ अर्ब घरमा कम्प्युटर भित्रिन बाँकी छ, ती प्रत्येक घरमा कम्प्युटर भित्र्याउने हाम्रो लक्ष्य हो,’ उहाँले भन्नुभयो । उहाँले विश्वमा ६ हजारभन्दा बढी भाषा भए पनि मुख्य-मुख्य भाषालाई कम्प्युटरीकरण गर्ने जानकारी दिनुभयो । उहाँले प्रविधिले भाषा र संस्कृतिमा आक्रमण गर्नु नहुने कम्पनीको मान्यता रहेको जानकारी दिँदै स्थानीय भाषामा कम्प्युटर चलाउन सकिने सुविधा विकास गरेर आफूहरुरू जनताको अझ नजिक हुन चाहेको बताउनुभयो ।
अनलिमिटेडका प्रमुख कार्यकारी अधिकृत एलेन बैलोचन तुलाधरले २ प्रतिशतमात्र अंग्रेजी जानेका व्यक्तिहरूले कम्प्युटर चलाउने गरेकोमा अब ५५ प्रतिशतको पहुँचमा रहेको धारणा व्यक्त गर्नुभयो । तुलाधरले नेपाली भाषामा कम्प्युटर चलाउन सकिने व्यवस्थाले गाउँ-गाउँमा स्थापना हुने टेलिसेन्टरमार्फत अधिराज्यभरका सर्वसाधरणले कम्प्युटर चलाउनसक्ने दाबी गर्नुभयो । ‘१५ वर्षमा ५ लाख कम्प्युटर बिक्री भएकोमा यो सफ्टवेयरका कारण वर्षमा ५ लाख कम्प्युटर बिक्री भयो भने काम सफल भएको मानिनेछ,’ उहाँले भन्नुभयो । उहाँले माइक्रोसफ्टले भविष्यमा ल्याउने प्रत्येक नयाँ सफ्टवेयरलाई नेपालीकरण गरिने जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. वासुदेव त्रिपाठीले गर्नुभएको थियो । उहाँले नेपाली भाषामा कम्प्युटर चलाउन सकिने भएपछि यसको माग बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

गृह पृष्ठ
