युद्धविराम लम्ब्याउन सर्बत्र आग्रह
अन्तरराष्ट्रिय क्षेत्र बाट बिद्रोही भनिएका नेकपा (माओबादी)हरुलाई युद्धविराम लम्ब्याउन आग्रह गरीएको भए पनि बेलायतले बिशेष रुपमा आग्रह गरेको छ। सुरु देखि नेपालको बिकासमा सहकार्य गर्दै आएको सहयोगी राष्ट्र बेलायतले माओबादीहरुलाई युद्धविराम लम्ब्याउन आग्रह गरेको कुरा बीबीसी नेपाली सेवाले उल्लेख गरेको छ।(समाचार जस्ताको तस्तै)
संसदवादी दलहरुसंग नेकपा माओवादीले हालै गरेको समझदारीप्रति प्रतिक्रिया ब्यक्त गर्दै वृटेनले भनेको छ-आफ्नो विश्वसनियताको संकेत दिन माओवादीहरुले बिना शर्त वर्तमान युद्धविराम लम्ब्याउनु पर्छ।
वृटेनले राजा र सरकारलाई पनि युद्धविराम घोषणा गरी द्वन्दको शन्तिपूर्ण समाधानका निम्ति गम्भीर प्रयास गर्न आह्वान गरेको छ।
यसरी दल-माओवादी समझदारीप्रति सतर्कतापूर्ण प्रतिक्रिया ब्यक्त गर्ने वृटेन पछिल्लो राष्ट्र बनेको छ।
यस अघि भारत र अमेरीकाले यस्तै प्रतिक्रिया ब्यक्त गरेका थिए।
भारतको विदेश मन्त्रालयका प्रवक्ता र नेपाल स्थित अमेरिकी राजदूतले जस्तै वृटिश विदेश मन्त्रालयले पनि माओवादीहरुलाई हिंसा त्याग्न जोड दिएको छ।
उसले भनेको छ- दलहरुसितको समझदारीबाट माओवादीहरुले प्रजातान्त्रिक राजनैतिक समाधानका निम्ति हिंसा र मानव अधिकारको उल्लङ्घन त्याग्ने प्रतिबद्धता जनाउँछन् भने यो समझदारी लामो समयदेखि दुख सही रहेका नेपालीहरुका लागि स्वागतयोग्य समाचार हो।
मन्त्रालयले भनेको छ मूलधारको राजनैतिक पार्टीमा परिणत हुने माओवादीहरुको कदमप्रति हाम्रो समर्थन छ।
तर यो प्रक्रियामा हिंसाको त्याग र हतियार बिसाउनु अति आवश्यक छ।
२५ सदस्य भएको युरोपियन युनियनको अध्यक्ष समेत रहेको वृटेनको विदेश मन्त्रालयले शान्ति वार्ता पुन शुरु गर्ने उपयुक्त अवस्थाको सृजना गर्न आग्रह गरेको छ।
उस्ले राजालाई पनि राजनैतिक दलहरुसित हात बढाउन र युद्धविराम घोषणा गर्न अपिल गरेको छ।
यस अघि संयुक्त राष्ट्र संघका महासचिव कोफी अन्नानले माओवादीहरुलाई युद्धविराम लम्ब्याउन र सरकारलाई पनि युद्धविराम घोषणा गर्न आह्वान गर्नु भएको थियो।

गृह पृष्ठ
