स्वदेशमात्र हो र विदेशमा पनि झूट
परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको तुफानी विदेश भ्रमण समस्या एकातिर उपचार खोजी अर्कातिर भइरहको छ । नेपालसँग विवादरहित कूटनीतिक सम्बन्ध भएका मुलुकहरू रूस र पाकिस्तानको सहयोग खोज्न भइरहेको यो भ्रमण मुलुकका समस्या छल्ने अभिप्रायले निर्देशित छ । देशको वर्तमान संकटका लागि यी दुई देशको सहयोग खोजी जनताको विवेक र ज्ञानमाथि चुनौतीसमेत भएको छ । रूस र पाकिस्तानले माघ १९ को कदमको पूर्ण समर्थन गरेका छन् भन्ने भ्रम फिजाएर सरकार अन्तर्राष्ट्रिय समुदायमा नेपाल एक्लिएको छैन भन्ने सन्देश दिन चाहन्छ भन्ने प्रस्ट भइसकेको छ ।
परराष्ट्रमन्त्री पाण्डे आफूले भ्रमण गरेका मुलुकले शाही कदमको स्वागत गरेको मात्र नभई यसबीच भइरहेका सबै असंवैधानिक कामकारबाहीको पूर्ण समर्थन गरिरहेको प्रचारप्रसार गर्न लालायित देखिएका छन् । रूसी महासंघको भ्रमणपछि परराष्ट्र संयन्त्रमार्फत जारी गर्न लगाइएको प्रेस विज्ञप्ति त्यही प्रमाण हो । मन्त्री पाण्डेले रूसी समकक्षी सेर्गेई लाभाभ्रोसँग एक्लाएक्लै भेटेपछि मस्कोस्थित नेपाली राजदूतावासबाट यही कात्तिक ८ गते जारी विज्ञप्तिमा राजाका कदमप्रति रूसको पूर्ण र स्पष्ट समर्थन रहेको जनाइएको थियो । त्यतिमात्र होइन पाण्डेले मॉघ १९ गते भएको ऐतिहासिक शाही सम्बोधनमा उल्लिखित उद्देश्य प्राप्त गर्न सरकारले चालेका पाइलाप्रति निरन्तर समर्थन गरी रूसी महासंघले देखाएको सुझबुझको हार्दिक प्रशंसा गरेको’ समेत प्रचार गरिएको थियो ।
द्विपक्षीय भेटवार्तामा एक देशले जारी गरेको विज्ञप्तिलाई अर्को देशले त्यही मर्यादासाथ उल्लेख गरी कूटनीतिक शिष्टता झल्काउने परम्परा छ । तर नेपाली दूतावासको विज्ञप्तिको मुख्य अंश नै रूस महासंघका तर्फबाट जारी विज्ञप्तिमा उल्लेख गरिएन । रूसी विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा माघ १९ को शाही कदम र त्यसको राजनीतिक समर्थनमात्र होइन, पाण्डेले दाबी गरेझैं राजाबाट घोषित निर्वाचनहरूबारे समेत कुनै उल्लेख गरिएको छैन । त्यसमा केवल दुई देशबीच राजनीतिक, व्यापार-अर्थ, शैक्षिक, सांस्कृतिक, सैन्य-प्राविधिकलगायत द्विपक्षीय सहयोग आधार विस्तार गर्नेबारे छलफल भएको भन्ने बेहोरामात्र छ । यसरी नेपाल र रूसबीच तीस वर्षपछि भएको भनिएको ऐतिहासिक भेटवार्तापछि रूसले नेपाली पक्षको प्रचारलाई उल्लेखसम्म नगरी मन्त्री पाण्डे आफैं बाठो बनेर जथाभावी प्रचारमा लिप्त भन्ने परोक्ष सन्देश दिएको छ । यसले नेपालको परराष्ट्र संयन्त्रलाई झूट प्रचार गर्न निर्देशित गरिएको छर्लंग पारेको छ । यसले राष्ट्रको विश्वसनीयता र साखमा गहिरो प्रभाव पार्नेछ । परराष्ट्र संयन्त्र नै राजनीतिक प्रचारबाजीमा परिचालित हुनु दुःखदायी र राष्ट्रिय सरमको विषय हो ।
नेपालले छिमेकी पाकिस्तान वा विश्वशक्तिमध्येको रूससँग निरन्तर सक्रिय कूटनीतिक सम्बन्ध राख्नु आवश्यक छ तर त्यो सत्य, निष्ठा र परस्पर हितका आधारमा हुनुपर्छ । संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायले निरन्तर निन्दा र भत्र्सना गरिरहेको विषयमा विवादरहित सम्बन्ध भएका देशबाट समर्थन खोज्ने प्रवृत्तिले कुनै राष्ट्रिय हित गर्नेछैन । अहिलेको विश्व शीतयुद्धकालमा छैन । कुनै एक देशको समर्थन जुटाएर अर्को देशसँग इबी साँध्ने शीतयुद्धकालीन चालबाजी अहिलेको विश्वमा कतै पनि दिगो हुन सक्दैन । अन्य देशसँग शंकारहित बलियो वार्ता गर्न सर्वप्रथम देशको परराष्ट्र नीति राष्ट्रिय सहमतिका आधारमा स्पष्ट निर्धारण भएको हुनुपर्छ । देशलाई राजनीतिक रूपमा विभाजित तुल्याउने र आन्तरिक एकता खल्बल्याउने शाही कदमको समर्थन खोज्दै हिँड्ने प्रवृत्तिले राष्ट्रिय संकट निकासका लागि कुनै योगदान गर्ने कल्पना गर्न सकिँदैन ।

गृह पृष्ठ
