मध्यरातमा कान्तिपुर एफएममाथि सरकारी आक्रमण
चार भ्यान सुरक्षाकर्मी बलजफ्ती प्रवेश गरी स्याटेलाइट अपलिंकका उपकरणहरू लुट
ललितपुर, कार्तिक ४ - सरकारले कान्तिपुर एफएमको सातौं वाषिर्कोत्सवको पूर्वसन्ध्यामा शुक्रबार मध्यराति डकैतीको शैलीमा प्रसारणका उपकरणहरू उठाएर लगेको छ । सशस्त्र सुरक्षाकर्मी प्रयोग गरी पूर्वाञ्चलको भेडेटारबाट प्रसारण गरिने उपकरण उठाई सरकारले बलपूर्वक हालै जारी अध्यादेश लागू गरेको छ । राति ११ः१५ बजे चारवटा भ्यानमा आएका सुरक्षाकर्मी पुलचोकस्थित एफएम कार्यालयका सुरक्षाकर्मीलाई हप्काई-दप्काई जबर्जस्ती प्रवेश गरेका थिए ।
उनीहरूले क्षेत्रीय प्रसारणमा उपयोग गरिएका इन्कोडरहरू, स्याटेलाइट मोडेम, डिजिटल अडियो रिसिभरलगायत आठवटा उपकरण लगेका छन् । त्यसअघि करिब पाँच घन्टा मन्त्रालय प्रतिनिधि र एफएम व्यवस्थापनबीच सौहार्दपूर्ण छलफल भएको थियो । एफएमले स्याटेलाइट लिंकद्वारा पूर्वाञ्चल प्रसारण गरिरहेको आधिकारिक र कानुनी कागजात देखाएपछि सन्तुष्ट भइ प्रतिनिधिहरू फर्केपछि सरकारले राति सुरक्षाफौज पठाएको थियो । ‘सरकार नै लुटपाटमा ओर्लेपछि हाम्रा लाखौं श्रोताबीच उभिएर न्याय माग्नुको विकल्प रहेन,’ एफएमका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले भन्नुभयो- ‘हामी सात वर्ष पुगेको उपलक्ष्यमा सरकारले जनताको सुुसूचित हुने अधिकारमाथि गरेको नांगो प्रहार हो ।’
सरकारबाट अनुमति लिएर, प्रत्येक वर्ष नवीकरण गर्दै राजस्व बुझाउँदै आएको संस्थाप्रति गरिएको व्यवहार डरपोकको रहेको उहाँले बताउनुभयो ।
सामान लिएर जाने बेला सुरक्षाकर्मीहरूले त्यहाँका कर्मचारीलाई अपशब्द प्रयोग गर्नुका साथै मोबाइल पनि स्विच अफ गरिदिएका थिए । दिउँसो निरीक्षण एवं छानबिनका लागि आएका भनिएका इन्जिनियरलाई नै राति प्रयोग गरिएको थियो । दिउँसो कुन सामान कहाँ राखिएका छन् भनी हेरेर राति सुरक्षाकर्मीको बलमा ती सामान लैजाने काम भएको थियो ।
‘दिनभर शिष्टताका साथ सहयोग गर्दागर्दै मध्यरातमा बाहुबल प्रदर्शन गर्नुपर्ने कारण थिएन,’ ज्ञवालीले भन्नुभयो ।
सरकारले शुक्रबार अपराह्न सूचना तथा सञ्चार मन्त्रालयका कर्मचारीलाई पठाएर स्याटेलाइट लिंक काट्ने प्रयास गरेको थियो । काठमाडौं स्टेसन र पूर्वको भेडेटारबीचको एफएम प्रसारण स्याटेलाइट लिंक काट्नका निम्ति सूचना तथा सञ्चार मन्त्रालयले खटाएका तीन सरकारी अधिकृतहरूलाई कान्तिपुरको पुलचोकस्थित कार्यालयमा खटाएको थियो । उनीहरूले मन्त्रालयबाट बिहीबार कान्तिपुर एफएमलाई पठाइएको पत्रको ‘फलोअप’ स्वरूप आएको जनाएका थिए ।
त्यस किसिमको पत्र आफूहरूले प्राप्त नगरेको जानकारी एफएम व्यवस्थापनले दिएपछि मन्त्रालयबाट अघिल्लो दिन पठाइएको पत्र मगाएका थिए । त्यसरी मगाइएको पत्र दुुई स्टेसनबीचको लिंक काट्ने नभई हालै लागू भएको सञ्चार ध्यादेशबमोजिम ‘समाचारमूलक कार्यक्रम’ सञ्चालन नगरी ‘सूचनामूलक कार्यक्रम’ मात्र सञ्चालन गर्न दिइएको निर्देशन थियो ।
मन्त्रालयका शाखा अधिकृत राजेन्द्रकुमार पौडेल, इलेक्ट्रोनिक इन्जिनियरद्वय गौरव गिरी र खेमराज भण्डारीलाई मन्त्रालयले शुक्रबारकै निर्णयअनुुसार ‘निरीक्षण एवं छानबिन गर्न’ खटाएको थियो । प्रसारण संस्थालाई नियमन र अनुगमन गर्ने जिम्मेवारी मन्त्रालयलाई भएअनुरूप एफएम व्यवस्थापनका तर्फबाट निरीक्षणमा सहयोग पुर्याउनुका साथै आवश्यक सम्पूर्ण कागजात देखाइएको थियो ।
प्रत्येक वर्ष एफएमको नवीकरण, सरकारले तोकेअनुुसारको राजस्व बुझाउने र प्रत्येक सामानको आयात गर्दासमेत सरकारको स्वीकृति लिने र त्यसको जडानपछि पनि समय-समयमा हुने निरीक्षणबाट नियमअनुकूलको काम भएको मन्त्रालयका प्रतिनिधिले पाएका
थिए । एफएमलाई मन्त्रालयका प्रतिनिधिलाई निरीक्षण एवं छानबिनका लागि खटाएको भने पनि व्यक्तिगत रूपमा उनीहरूलाई दिइएको पत्रमा कार्यक्रमको अपलिंक स्याटेलाइट काट्ने निर्देशन दिइएको थियो ।
शाखा अधिकृत पौडेलले पटक-पटक मन्त्रालयमा निर्देशन दिइरहेका अधिकारीहरूलाई यथार्थ जानकारी दिँदै थप कारबाहीका लागि निर्देशनको प्रतीक्षा गरेका थिए । कानुनविपरीतको काम भएको नपाएको र सबै काम सरकारको स्वीकृतिमा भएको पाएपछि कार्यालयबाट र्फकने बेलामा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोकुल पोखरेल र नागरिक समाजका अगुवा डा. देवेन्द्रराज पाण्डेलगायत सञ्चार माध्यमका प्रतिनिधिहरूको उपस्थितिमा पौडेलले भन्नुभयो- ‘कान्तिपुरले हरेक वर्ष नवीकरण गर्दै सरकारलाई राजस्व तिर्दै पहिल्यै पाएको स्याटेलाइट अपलिंकको कागजातबाट आफू सन्तुष्ट भएको फोनमार्फत जानकारी गराएको छु ।’
प्रत्येक पटक जानकारी गराउँदै थप निर्देशनको प्रतीक्षा गर्दागर्दै पाँच घन्टा बितेको थियो । यसबीच कान्तिपुर एफएमलाई सुरक्षाकर्मीले घेराउ गर्नेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिनिधिहरूले एफएमप्रति चासो र ऐक्यबद्धता देखाउँदै भ्रमण गर्ने क्रम निरन्तर भइरह्यो
एफएम कार्यालय परिसरमा सुरक्षाकर्मी र मन्त्रालयका प्रतिनिधिहरू पुगेको खबर पाउनासाथ नेपाल पत्रकार महासंघ र नेपाल बार एसोसिएसनका प्रतिनिधिहरू अपराह्नको विरोध जुलुस समापन भएपछि त्यहाँ पुगेका थिए । समाचार संस्थाका प्रतिनिधि, संयुक्त राष्ट्रसंघ र कूटनीतिक नियोगका प्रतिनिधिहरू पनि पुगेपछि प्रहरीहरू छेउको पीपलको रूख र एफएम भवन तल्लो घरको ढोकामा छेकिएर बसेका थिए ।
राजनीतिक दलका नेताहरूले स्टेसनमा नै पुगेर सरकारी भौतिक हस्तक्षेपप्रति खेद व्यक्त गरेका थिए । सबैभन्दा पहिले एमाले महासचिव माधवकुमार नेपाल, रघु पन्तसहितको नेताहरू त्यहाँ पुगेका थिए ।
त्यसपछि जनमोर्चा नेपालका अध्यक्ष्ा अमिक शेरचन, सचिव घनश्याम शर्मा पौडेल त्यहाँ पुगेका थिए । कार्यालयमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोकुल पोखरेल र अधिकृतहरू पुगेका थिए । मानव अधिकारवादी संस्था हिमराइट्सका डा. गोपालकृष्ण शिवाकोटी, पूर्ण शाक्य, गोपाल श्रेष्ठलगायतका पुगेका थिए । राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेलसमेत आउनुभएको थियो । स्वतन्त्र सञ्चार माध्यममाथिको आक्रमणको कडा भत्र्सना गर्दै कांग्रेस प्रवक्ता कृष्ण सिटौला, नेविसंघ प्रजातान्त्रिकका कल्याण गुरुङ, अखिल प्रचार विभाग प्रमुख रामकुमारी झाँक्री, इन्सेकका महासचिव कुन्दन अर्यालले सरकारी रवैयाबारे जानकारी लिएका थिए ।
‘कारबाही गर्ने कुनै वैधानिकतासमेत नपुर्याएर गरिएको यो हस्तक्ष्प प्राकृतिक न्यायविरुद्ध छ । यो सरकारको नांगो हस्तक्षेप हो,’ बारका महासचिव माधव बाँस्कोटाले भन्नुभयो- ‘यस्ता घटनाबाट सञ्चारकर्मीहरू विचलित नहुनोस् ।’
अध्यादेशसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेकै बेला त्यही अध्यादेश लागू गर्न यस्ता घटना गराएकोमा सिंगो बार दुःखित भएको बाँस्कोटाले बताउनुभयो ।
सरकार स्वतन्त्र प्रेसमाथि भौतिक नांगो हस्तक्ष्ाेपमा उत्रेको औंल्याउँदै महासंघका कार्यवाहक सभापति शिव गाउँलेले भन्नुभयो- ‘अदालतमा मुद्दा विचाराधीन रहेकै बेला अध्यादेशको बलजफ्ती कार्यान्वयन गराउन खोजेर संविधान र कानुनी राज्यको उपहास गरेको छ ।’
प्रसारण गर्न पाउने आफूहरूसँग कानुनी आधार भएकाले प्रसारण रोक्न नमिल्ने कान्तिपुुर एफएम स्टेसन म्यानेजर प्रभात रिमालले बताउनुभयो । उहाँले भन्नुभयो- ‘कानुुनी आधार लिएर आउनुहोस् भनेका छौं । यो स्वतन्त्र सञ्चार जगत्माथि यसरी भौतिक हस्तक्षेप हुनुहुन्न ।’
नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेले यस घटनालाई लोकतन्त्रको पक्षमा सुसूचित गराउँदै आएको कान्तिपुर मिडियामाथिको आक्रमण भन्नुभयो । ‘यो सम्पूर्ण लोकतान्त्रिक जगत्लाई धम्क्याउने प्रयास हो,’ उहाँले अगाडि भन्नुभयो- ‘यो आक्रमण कान्तिपुरमाथिको मात्र होइन सम्पूर्ण लोकतान्त्रिक जगत्लाई धम्क्याउने प्रयास हो । यसको भत्र्सना गर्नुपर्छ ।'’नेपालमा वास्तवमा राष्ट्रिय मानव अधिकार आयोग छ/छैन ? त्यसले मानव अधिकारको पक्षमा काम गर्छ/गर्दैन भन्ने यो परीक्षाको घडीसमेत हो’, उहाँले भन्नुभयो । शुक्रबारका दिन कार्यालय बिदापछि एफएम कार्यालयमा आएर भौतिक हस्तक्षेप गर्नुसरकार उदण्डताको पराकाष्ठामा पुगेको एमाले महासचिव माधवकुमार नेपालले बताउनुभयो ।
‘सरकारको यो पागलपन हो । यो राजाको सरकारलाई कुनै कानुन स्ॉवैधानिक मान्यताको मतलव छैन । तपाईंहरूको यो ऐक्यबद्धताप्रति हाम्रो थप ऐक्यबद्धता छ । सरकारको यस्ता नांगो नाचको प्रतिवाद गर्न सात दलसहित एमाले तपाईंहरूको साथमा छन् । दृढताका साथ अघि बढ्नुहोस्,’ नेपालले भन्नुभयो ।
प्रजातन्त्रको आधारशिला र अभिन्न अंग स्वतन्त्र सञ्चार माध्यम भएकाले त्यसलाई आक्रमण गरी प्रजातन्त्र समाप्त गर्न खोजेको उहाँले बताउनुभयो । ‘यो अधिकार नभएको सरकारले कथित निरीक्ष्ाण गर्ने भनी स्टेसनमा उपस्थित हुनु निन्दनीय कुरा हो । सञ्चारको मुख बन्द गराउन प्रजातन्त्रप्रति अर्को आक्रमण हो,’ शेरचनले भन्नुभयो- ‘यसको जनताले प्रतिवाद गर्नेछन् र जन अदालतमा उभ्याउने छन् ।’
कान्तिपुर एफएममाथि राज्यले जंगली व्यवहार गरेको बताउँदै सिटौलाले हस्तक्षेपको सम्पूर्ण दल, नागरिक समाज, सञ्चारकर्मीहरू एक भएर प्रतिवाद गरिने बताउनुभयो । ‘जनता सुसूचित हुने अधिकारलाई समाप्तसँगै बहुदलीय व्यवस्थालाई पनि समाप्त गर्ने गरी सरकारले कान्तिपुर एफएममाथि आक्रमण गर्नु समग्र नेपाली जनतामाथिको आक्रमण हो,’ सिटौलाले भन्नुभयो ।
‘अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण राम्राे होइन । यसको संरक्ष्ण हुनुपर्छ,’ आयोगका सदस्य पोखरेलले भन्नुभयो- ‘स्वतन्त्रताको पालना सबै पक्ष्ाबाट हुनुपर्छ । यो घटना अनुसन्धानको सिलसिलेवार हेर्छौं ।’
निरीक्षण गर्न भनी आएका मन्त्रालयका कर्मचारीहरू ८ बजेतिर एफएमको पत्र बुझेर फर्केका थिए । कान्तिपुर एफएमले उनीहरू निरीक्षण एवं छानबिन गर्न आएका र त्यही क्रममा मौखिक रूपमा पूर्वाञ्चलको प्रसारणको लिंक काट्ने प्रयास गरेकाले मन्त्रालयको स्वीकृतिपत्र एवं आवश्यक अनुमतिपत्र देखाएपछि प्रसारण नियमित गरिएको जानकारी दिइएको पत्र दिएको थियो ।
फर्किने बेला शाखा अधिकृत पौडेलले संवाददाताहरूका प्रश्नको जवाफ दिन मान्नुभएको थिएन । सञ्चारकर्मीहरूले प्रश्न दोहोर्याएपछि उहाँले भन्नुभयो- ‘नियमित निरीक्षण हो । त्यही गर्न आएका हौं । एउटा स्थिति हेर्न आएका हौं । अपलिंक हेर्न आएका हौं । त्यो भइरहेको रहेछ । प्रतिवेदन मन्त्रालयमा बुझाउँछौं ।’
पौडेलसहितको टोली बा१झ ६७६२ नम्बरको गाडीमा चढेर फर्केको थियो । टोलीसँगै कार्यालयभित्र सादा पोसाकका सुुरक्षाकर्मीसमेत खटिएका थिए भने कार्यालयबाहिर पनि उल्लेख्य मात्रामा सादा पोसाकका कर्मचारी खटाइएको थियो । हतियारसहितका सुुरक्षाकर्मी ढिलो गरी आएका भए पनि त्यस क्षेत्रमा सुुरक्षाकर्मी बिहानैदेखि खटाइएको जानकारी सरकारी स्रोतले दिएको छ ।
कान्तिपुर एफएममाथिको भौतिक हस्तक्षेपका निन्दनीय कार्य भएकाले त्यसको कडा प्रतिकार गरिने औंल्याउँदै ‘कालो अध्योदशविरुद्ध साप्ताहिकहरूको संघर्ष सञ्जाल’ ले सबै सञ्चारकर्मी, अधिकारवादी एक भएर संघर्षमा उत्रन आह्वान गरेको छ ।
यसैबीच मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष पुरुषोत्तम दाहालले एक विज्ञप्ति जारी गर्दै हस्तक्षेप निरंकुश चरित्रको द्योतक भएको बताउनुभएको छ । ‘यसको सम्पूर्ण सञ्चारकर्मी र आम नागरिकले प्रतिरोध गर्नुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
हिमराइट्सका महासचिव डा. गोपालकृष्ण शिवाकोटीले कान्तिपुर एफएमको पूर्वाञ्चलको लिंक काट्ने प्रयास गरेकोप्रति ध्यानाकर्षण गर्दै कडा शब्दमा भत्र्सना गर्नुभएको छ । ‘कानुनी राजको बचेखुचेको आधारशिलासमेत यो घटनाले अधिनायकवादी विकराल रूपमा प्रस्तुत हुने गम्भीर संकेत देखा परेको छ,’ शिवाकोटीले भन्नुभएको छ ।
प्रेस स्वतन्त्रता हनन गर्ने संसारका मुलुकमा नेपाल आठौं स्थानमा परेकै दिन सरकारले कान्तिपुर एफएममाथि अर्को नौटंकी नांगो नाच प्रदर्शन गरेको औंल्याउँदै रिपोर्टर्स क्लबका अध्या ऋषि धमलाले सरकारलाई त्यस्ता कार्य नगर्न चेतावनी दिनुभएको छ ।
त्यस्तै अनौपचारिक शिक्षा सेवा केन्द्र -इन्सेक), विश्वभाषा क्याम्पस स्ववियु सभापति सन्तोष भट्ट, नेपाल विद्यार्थी संघ इन्जिनियरिङ अध्ययन संस्थानका अध्यक्ष नारायण अधिकारीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी सरकारी रवैयाको कडा रूपमा प्रतिवाद गर्ने प्रतिबद्धता जनाएका छन् ।
नाटकीय आठ घन्टा
३ः००- सञ्चार मन्त्रालयका कर्मचारी एफएम स्टेसनमा ।
४ः००- महासचिव माधव बाँस्कोटाको नेतृत्वमा नेपाल बार एसोसिएसन र कार्यवाहक सभापति शिव गाउँलेको नेतृत्वमा नेपाल पत्रकार महासंघका प्रतिनिधिहरूको आगमन ।
५ः३०- सशस्त्र सुरक्षाकर्मीहरूबाट एफएमको घेराउ
६ः४५- संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालय, कूटनीतिक समुदाय र मानव अधिकारवादीहरूको आगमन ।
७ः००- कूटनीतिक समुदायको चहलपहलपछि सुरक्षाकर्मी ओझेल ।
७ः०५- एमाले महासचिव माधवकुमार नेपालको आगमन ।
७ः४०- राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोकुल पोखरेलको आगमन ।
७ः४५- जनमोर्चा नेपाल अध्यक्ष अमिक शेरचनको आगमन ।
७ः५०- एफएमका तर्फबाट मन्त्रालयका कर्मचारीलाई पत्र ।
८ः००- मन्त्रालयका कर्मचारी फिर्ता ।
११ः१५- सुरक्षाकर्मीको बलमा पूर्वाञ्चल प्रसारणसम्बन्धी उपकरण उठाइयो ।

गृह पृष्ठ

salamalikum rahmtulla hiyappi eid namskar hiyappi dasai k s a ma sampurn nepale velavii saskerte karekarm ko iajana chha iesthan saudi arap damamm sihat
Comment by salam din — November 4, 2005 @ 10:05 am