जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

October 21, 2005

अस्पतालको छत खस्दा १० को मृत्यु

पोखरा, कार्तिक ३ - मणिपाल शिक्षण अस्पतालको ६ तले मुख्य भवनको छाना भत्किँदा बिहीबार दुई कर्मचारीसहित दसको मृत्यु भएको छ । घटनामा नौ घाइते भएका छन् । तीनको अवस्था गम्भीर छ । पोखरा उपमहानगरपालिका-११ फूलबारीस्थित अस्पतालको छाना पानी परिरहेका बेला दिउँसो साढे २ बजे भत्केको थियो । ७० फिट माथिबाट भुइँतलामा खसेको छानाले किचिएर सात महिला र तीन पुरुषको तत्कालै मृत्यु भएको थियो । घाइते सबैको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेलाई अस्पतालका कुरुवा र कर्मचारीले उद्धार गरी तत्काल आकस्मिक र अन्य कक्षमा लगेका थिए । मृतकहरूलाई सेना, प्रहरी, स्थानीयवासी, कर्मचारी र कुरुवाले भग्नावशेष पन्छाएर झिकेका थिए । उद्धार गर्न तीन घन्टाभन्दा बढी समय लागेको थियो । घटनापछि बिरामी, कर्मचारी, कुरुवा डराएर अस्पताल छाडी बाहिर निस्किएका थिए । घटना हुँदा ठूलो आवाज आएको र भूकम्प आए जस्तै गरी भवन हल्लिएको अस्पतालमा भएकाहरूले बताए ।

‘भुइँचालो गएजस्तै भवन हल्लियो, ठूलो आवाज आउँदा कसैको होसै भएन’ भाइको उपचारका लागि पर्वत देउपुरबाट आएका भोलानाथ चापागाईंले भने- ‘वार्डबाट बाहिर निस्केर हेर्दा कोलाहल भइसकेको थियो ।’

भारतस्थित मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपद्वारा सञ्चालित अस्पतालको छत भत्किनाको कारण थाहा हुन सकेको छैन । छानाको जस्तापाता र त्यसलाई अडाइएका फलामे पाइपले किचिएर मृत्यु भएको हो । मृत्यु हुनेमा एक स्टाफ नर्स, एक परिचर, जाँच्न आएका बिरामी, तिनलाई लिएर आएका आफन्त, कुरुवालगायत छन् । मृत्यु तथा घाइते हुनेहरूमध्ये कोही प्रतीक्षालयमा बसेका, कोही भवन बाहिर निस्कन र भर्‍याङ चढ्न जाँदै गरेका परेका छन् । यस्तै कोही टिकट काउन्टर, फोन सेवा र सोधपुछ गरिरहेका थिए ।

अस्पतालको मुख्य प्रवेशद्वार रहेको भुइँतलामा छत बजारिएपछि अहिले भित्रबाटै सीधै आकाश देखिने भएको छ ।

अस्पतालका इन्जिनियर सञ्जय गुप्ताका अनुसार पाँच वर्षअघि निर्मित छानाको बनावट ‘इलेक्ट्रोन प्रोटोन’ प्रविधिमा आधारित हो । ‘ट्रस

-छाना) को ग्यारेन्टी ५० वर्षको हो,’ अस्पतालमा भेला भएका सञ्चारकर्मीसँग उनले भने- ‘यो ट्रस फेल भएको हो तर खस्नुको कारण अहिले यकिन गर्न सकिएको छैन ।’ यसको निर्माण भारतको मुम्बईस्थित ‘स्पेस टेक इन्जिनियर्स’ ले गरेको

हो । छानाको निर्माण गर्न मात्र ४८ लाख रुपैयाँ खर्च भएको उनले बताए । सन् १९९६ मा निर्माण सुरु भएको अस्पताल सन् २००० देखि सञ्चालनमा आएको हो ।

अस्पताल ५० वर्षमा नेपाललाई हस्तान्तरण गर्ने गरी सरकारले निर्माण गर्न अनुमति दिएको थियो । पोखरामा साढे तीनतला -३५ फिट) भन्दा अग्लो भवन निर्माण गर्न नपाइने प्रावधान भए पनि मणिपालका लागि मापदण्ड संशोधन गरी तत्कालीन सरकारले ६ तलाको अनुमति दिएको थियो । भवनको भुइँतलामुनि छुट्टै भूमिगततला पनि छ । अस्पतालको सबै संरचना निर्माण गर्न तीन अर्ब रुपैयाँ खर्च भएको उनले बताए ।

सात रेक्टर स्केलको भूकम्प प्रतिरोधात्मक क्षमता हुने गरी भवन बनाइएको अस्पतालको भनाइ छ । अस्पताल संरचनाको बिमा भएको
छ । अस्पतालमा सात सय शय्या छन् । डाक्टर, नर्स र कर्मचारी गरी दुई सय कार्यरत छन् । चिकित्सक र स्टाफ नर्सको पढाइ पनि सञ्चालन गरिएको छ । दुवै संकायका गरी ६ सय विद्यार्थी छन् ।

अस्पतालले मृतकका परिवारलाई रोजगार र क्षतिपूर्ति तथा घाइतेको उपचार गरी क्षतिपूर्ति दिने निर्णय गरेको छ । ‘प्रत्येक मृतकका परिवार दुई लाख रुपैयाँ र परिवारका एक सदस्यलाई रोजागरी दिने भएका छौं,’ अस्पतालका प्रवक्ता डा.प्रणय मिश्रले भने- ‘घाइतेको निःशुल्क उपचार गरी ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन्छौं ।’

मेडिकल सुपरिटेन्डेन्ट एसपी कपुरले अस्पतालका अन्य संरचना केही नभएकाले अस्पताल नियमित रूपमा सञ्चालन हुने बताएका छन् ।

मृतकमध्ये सरस्वती र जगदीश दाजुबहिनी हुन् । स्टाफ नर्स सरस्वती दाजु भेट्न आउने प्रतीक्षा गरी करिब १५ मिनेट अगावैदेखि कुरेर बसेकी थिइन् । उनका दाजु बिहीबार नै बागलुङबाट भेट्न आएको सरस्वतीका सहकर्मीले बताए । यस्तै हरिमाया आचार्य अस्पतालकै परिचर हुन् । कुचो लगाउन प्रतीक्षालय पुगेकी थिइन् ।

घान्द्रुकका टेकबहादुर र चन्द्रकुमारी श्रीमान् र श्रीमती हुन् । उनीहरूको शव छोराले बुझेर लगेको अस्पतालले बताएको छ । अन्यको शव अस्पतालमै राखिएको छ । घटनापछि आफन्तहरूको जानकारी लिन अस्पताल भित्र र बाहिर भीड लागेको थियो । त्यस्तै घाइतेहरूमा प्रहरी जवान ऋषिराम भट्टराई, जिप्रका कास्की, पदम थापा, देवबहादुर थापा, सुनसरी कुमाल, गणेश पोडे, अनिल पौडेल, कमलप्रसाद अधिकारी, बगरपोखरा र अन्य दुई नाम नखुलेका रहेका छन् ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2005/10/21/manipal/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons