दलहरूको रोजाइ सर्वस्वीकार्य
गोपाल/राजेन्द्र
काठमाडौं, असोज १३ - भारतीय नेताहरूले राजनीतिक तथा संवैधानिक संकट समाधान गर्न यहाँका दलहरूले रोज्ने प्रजातान्त्रिक प्रक्रिया सर्वस्वीकार्य हुने बताएका छन् ।
लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यबद्धता जनाउन र राजनीतिक वस्तुस्थिति बुझ्न आएका नेताहरूले दलहरूसँगको छुट्टाछुट्टै र संयुक्त भेटवार्तामा दलहरूको आन्दोलनप्रति समर्थन
हुने पनि जनाए ।
नेपाल मजदुर किसान पार्टी भने भेटवार्तामा संलग्न भएन ।
‘प्रजातन्त्रप्रति हाम्रो सरोकार हो,’ उनीहरूको भनाइ थियो- ‘कस्तो संविधान बनाउने र सरकारको मोडल कस्तो हुने भन्ने निर्णय नेपाली जनता र दलहरूले गर्ने हो ।’
‘प्रजातान्त्रिक निकासका लागि उहाँहरूको समर्थन हामीलाई छ,’ एमाले महासचिव माधवकुमार नेपालले बैठकपछि भन्नुभयो- ‘हामीले आन्दोलन र समस्या समाधानप्रतिको
दृष्टिकोण राख्यौं ।’ नेपाली जनता आफ्नो समस्या समाधान गर्न सक्षम रहेको उल्लेख गर्दै उहाँले लोकतन्त्रप्रति ऐक्यबद्धता जनाउन भारतीय नेताहरू आएको बताउनुभयो ।
द्विपक्षीय र संयुक्त वार्तामा भारतीय नेताहरूले राजाको निरंकुशता, संकट समाधान, संविधानसभालगायत विषयमा जिज्ञासा राखेका थिए । ‘तपाईंहरूले खोजेको संविधानसभा
कस्तो हो ?’ भन्ने जिज्ञासामा महासचिव नेपालले संसद् पुनःस्थापनामार्फत संविधानसभामा जान चाहेको बताउनुभएको थियो ।
जनआन्दोलनको बलमा वा संसद् सदस्यहरू स्वयंले पुनःस्थापनाको घोषणा गरेर संसद् ब्युँताउन सकिने उपाय सुझाउँदै नेपालले त्यसपछि बन्ने माओवादीसहितको अन्तरिम
सरकारले संविधानसभा निर्वाचन गर्ने पक्षमा आफूहरू रहेको बताउनुभयो । ‘संसद्ले राजनीतिक निर्णर्य गरेर संविधानसभाको घोषणा गर्नुपर्छ,’ उहाँले भन्नुभयो । शान्तिपूर्ण
निकासको बाटामा नभएकाले यस प्रक्रियामा राजाको भूमिकालाई आफूहरूले महत्त्व नदिएको उहाँले बताउनुभयो ।
‘संविधानसभाको कुरा सकारात्मक छ, यसले समस्याको हल गर्न सक्छ,’ भारतीय प्रमण्डलका नेता भारतीय कम्युनिस्ट पार्टी -माक्र्सवादी) का पोलिटब्युरो सदस्य सीताराम येचुरीले भन्नुभयो- ‘नेपालीको कुरा नेपालीले नै निर्णय गर्नुपर्छ ।’
देश सानो-ठूलो भन्ने नहुने उल्लेख गर्दै उहाँले नेपालमा लोकतन्त्र स्थापनाका लागि स्वदेश फर्केपछि आफूहरूले थप दबाबकारी भूमिका खेल्ने बताउनुभयो । ‘लोकतन्त्र र मानव
अधिकारका लागि जहाँ गएर पनि समर्थन गर्न सकिन्छ,’ सीपीआईका डी राजाले भन्नुभयो- ‘यो नैतिक समर्थनको कुरा हो, हस्तक्षेप होइन ।’
बैठकपछि कांग्रेस प्रवक्ता रामशरण महतले पार्टी र जनतासँगको सम्बन्ध प्रगाढ बनाउन भ्रमण भएको जानकारी दिँदै लोकतन्त्र र विधिको शासनलाई संसारभरको समर्थन रहेको
संवाददाताहरूलाई बताउनुभयो । ‘कसैले लोकतन्त्रको कुरा गर्नासाथ निरंकुशतावादीहरू वैदेशिक हस्तक्षेप भन्ने गर्छन्,’ उहाँले भन्नुभयो- ‘राजा त्रिभुवन भागेर भारत जाँदा पनि मोहन शमशेरले यसै भनेका थिए ।’
भारतको नागरिक समाजका तर्फबाट प्रतिनिधित्व गरेका प्राध्यापक अनिल मिश्राले प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनलाई अझ तीव्र पार्न सात दललाई आफूहरूले सुझाव दिएको
बताउनुभयो । ‘आन्दोलनको दबाबमा संसद् पुनःस्थापना हुन सक्छ, संसदको उपस्थितिमा जस्तो खालको निर्णय लिने हो, त्यो स्वयं नेपाली जनता र दलले गर्ने हो,’ उहाँले
सात दलसँग भएको सामूहिक छलफलपछि कान्तिपुरसँग भन्नुभयो ।
उहाँले माओवादी समस्याको समाधान शान्तिपूर्ण रूपमा हुनुपर्नेमा जोड दिँदै त्यसका लागि तीन महिनाको युद्धविरामलाई अवसरका रूपमा प्रयोग गर्नुपर्ने बताउनुभयो । ‘यो तीन
महिनामा सात पार्टीका नेताले माओवादीसँग वार्ता गर्नुपर्छ र समस्याको शान्तिपूर्ण अवतरणको वातावरण निर्माण गर्नुपर्छ,’ उहाँले भन्नुभयो । प्रजातन्त्र पुनःस्थापना र शान्ति
बहालीका लागि पार्टीहरूद्वारा माओवादीसँग हुने संवादलाई सहयोग गर्न आफूहरू तयार रहेको उहाँले बताउनुभयो ।
व्यस्त कार्यतालिकाबीच भारतीय नेताहरूले बिहीबार कांग्रेस, एमाले, प्रजातान्त्रिक कांग्रेस र वाममोर्चाका शीर्ष नेतासहितको प्रमण्डलसँग द्विपक्षीय र संयुक्त भेटवार्ता गरेका थिए ।
कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग बिहान उहाँकै निवास महाराजगन्ज, एमाले, कांग्रेस प्रजातान्त्रिक र वाममोर्चाका नेताहरूसँग पार्टी कार्यालयमा भेटवार्ता भएको थियो । नीहरूले जनमोर्चासँग वार्ता र शाही आयोगद्वारा थुनामा राखिएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको परिवारसँग शुक्रबार भेट्ने कार्यक्रम छ ।
कोइरालाले भारतीय नेताहरूसित प्रतिनिधिसभाको विघटनबाट राजाको निरंकुशताको श्रंृखला सुरु भएको उल्लेख गर्दै प्रजातन्त्र पुनर्बहालीको पहिलो खुडकिलो संसद् पुनःस्थापनाबाट सुरु हुनुपर्ने अडानमा आफूहरू रहेको जानकारी गराउनुभएको थियो ।
स्रोतका अनुसार कोइरालाले भारतमा आफूले माओवादी अध्यक्ष प्रचण्डसित कुराकानी गरेपछि राजालाई उनीहरू संसदसित संवाद गरेर मूलधारमा आउन तयार रहेको जानकारी दिएपछि षड्यन्त्रपूर्ण ढंगले प्रतिनिधिसभा विघटन गरिएको धारणासमेत राख्नुभएको थियो ।
उहाँले माओवादी समस्या समाधान गरी मुलुकमा पूर्ण प्रजातन्त्र बहाली गराउन सात दलले प्रतिनिधिसभा पुनःस्थापनालाई प्रस्थान बिन्दु बनाएर संविधानसभामा जाने एजेन्डा अघि सारेको बताउनुभयो ।
भारतीय प्रमण्डलका नेता येचुरीले आफ्ना देशका जनता र दलका तर्फबाट नेपाली जनताको लोकतन्त्रप्रति ऐक्यबद्धता प्रकट गर्न आएको बताउनुभएको थियो । नेपाल र भारतीय जनताले एक-अर्काको देशमा भएको लोकतान्त्रिक आन्दोलनमा सहयोग गरेको इतिहास साक्षी रहेको उल्लेख गर्दै उहाँले आफूहरूले नेपाललाई एउटा समुन्नत लोकतान्त्रिक मुलुकका रूपमा देख्न चाहेको धारणा राख्नुभएको थियो ।
मनास्लु होटलमा संयुक्त भेटवार्ता हुँदा बाहिर जम्मा भएका केही राजावादीहरूले कालो झन्डा देखाउने प्रयास गरेका थिए । उनीहरूले बुधबार विमानस्थल बाहिर ढुंगामुढा र कालो झन्डा प्रदर्शन गरेका थिए ।
भारतीय नेताहरू चाक्सीबारीमा भारतीय नेताहरू साँझ २०४६ को जनआन्दोलन उद्घोषस्थल गणेशमान सिंहको निवास चाक्सीबारी पुगेका थिए । १६ वर्षअघि यही थलोबाट घोषित जनआन्दोलन सफल भएकाले लोकतान्त्रिक आन्दोलन पनि सफल हुने उनीहरूले विश्वास व्यक्त गरे ।
‘आफ्नो भाग्य निर्धारण नेपाली आफैंले गर्ने हो, हामी त लोकतान्त्रिक आन्दोलनलाई समर्थन गर्न मात्र आएको,’ भारतीय नेताहरूले भने । सिंह निवास प्रांगणमा नेपाल मानव अधिकार संगठनले भारतीय नेता र नागरिक समाजका प्रबुद्ध व्यक्तिबीच भेटघाट आयोजना गरेको थियो ।
नेताहरूले स्वर्गीय सर्वोच्च नेताप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । २०४६ मा आएका नेताहरूले ‘भान्सामा गणेशमान सिंहसँगै खाना खाएको’ सम्भिmए ।
बिजुक्छे अनुपस्थित
आन्दोलनरत सात दलको एक घटक नेपाल मजदुर किसान पार्टी भारतीय नेताहरू सितको सामूहिक भेटवार्तामा सहभागी भएन । भारतीय नेताहरूको आगमनप्रति असन्तुष्टि देखाउँदै आएका पार्टी अध्यक्ष नारायणमान बिजुक्छे नआएकाले भारतीय प्रमण्डलसँग छ दलका नेतामात्र सरिक भए ।
‘हाम्रो पहिले नै तय भइसकेको कार्यक्रममा व्यस्त भएकाले भेट हुन सकेन,’ विजुक्छेले कान्तिपुरसँग भन्नुभयो- ‘कार्यक्रमबारे पहिले थाहा पनि भएन ।’
आन्दोलनप्रति भारतीय नेताले सद्भाव देखाउनु राम्रो भए पनि उनीहरूको धारणा आएपछि हस्तक्षेप हो/होइन भन्न सकिने बताउनुभयो । ‘भ्रमणमा आउँदैमा त हस्तक्षेप भनिहाल्नु भएन,’ उहाँले भन्नुभयो ।
ँहस्तक्षेप होइन’
पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले प्रजातान्त्रिक आन्दोलनप्रति एक्यबद्धता जनाउन भारतीय नेताहरूबाट भएको नेपाल भ्रमणलाई राष्ट्रियतामाथि हस्तक्षेप भन्न नमिल्ने बताउनुभएको छ ।
‘भारतीय यहाँ आउनु र नेपाली भारत जानुमा कुनै प्रतिबन्ध छैन । उनीहरू भरखरै आएका छन । इष्टमित्र भेट्लान्,’ बिहीबार यहाँ क्षेत्रीय कार्यकर्ता भेलापछि संवाददाताहरूसंँग उहाँले भन्नुभयो- ‘यत्तिकैमा हस्तक्षेप भयो भन्न मिल्दैन ।’
अर्का नेता डा. प्रकाशचन्द्र लोहनीले अन्यायविरुद्ध आन्दोलनमा समर्थन जनाउन मिल्ने बताउनुभयो ।

गृह पृष्ठ
